पहिरोमा चौपाया पुरिए, घर जोखिममा


२० असार २०७७, शनिबार
Pahiro1

बागलुङ, २० असार । गए राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेंदीका किसान दलबहादुर कुमालले पालेको भैंसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

उनका अनुसार भैंसी र गाई ब्याउने थिए । प्रहरी मुचुल्कापछि रु दुई लाख ४० हजार ५०० को क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन । ‘वस्तुभाउको क्षति भयो, पीडित किसानलाई वडाले पनि केही राहत दिन्छ, नगरपालिकालगायत सम्बन्धित निकायमा पनि पहल गर्छौ’, वडाध्यक्ष श्रीसले भने ।

सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ । मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दा समेत त्रसित छन् ।

पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ । रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७