खोकनाको रोपाइँमा किसान र प्रहरीको झडप, हवाइ फायर र अश्रुग्याँस प्रहार


२० असार २०७७, शनिबार
khokana 1

काठमाडौं, २० असार । ललितपुरको खोकनामा धान रोपिरहेका किसान र प्रहरीबीच झडप भएको छ ।

फास्ट ट्रयाक (द्रुतमार्ग) मा पर्ने जग्गामा स्थानीयले धान रोपेपछि रोक्न गएको प्रहरीसँगै झडप भएको हो । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप सामुहिक रुपमा धान रोपिरहेका किसानलाई प्रहरीले रोक्न खोजेपछि झडपको अवस्था आएको हो ।

नेवाहरुको आफ्नो भूमिमाथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनास गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले जानकारी दिइन् ।

३ हजार वर्ष अगाडिको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कदमविरुद्ध धान रोपेर विरोध गरिएको उनको भनाइ छ । किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि विहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी शुरु गरेका थिए ।

स्थानीयहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कुदालोसहित कुदेश, सिकाली हुँदै खुदोल पुगेका थिए । उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न शुरु गरेका थिए । ‘फास्ट ट्रयाक चाहिँदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होशियार’, ‘सम्पूर्ण किसान एक होऊ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।

खोत रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रूतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयबीच विवाद भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७