अन्नपूर्णा आश्रमका अध्यक्ष वैद्य जबरजस्ती करणी उद्योगमा पक्राउ


२८ असार २०७७, आईतवार
pakrau
फाइल फोटो

काठमाडौं, २८ असार । काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्णा पशुपति आश्रमका संस्थापक अध्यक्ष जगदीश वैद्य जबरजस्ती करणी उद्योगमा पक्राउ परेका छन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनलाई २१ असारमा ललितपुरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि आइतबार नै काठमाडौँ प्रहरीलाई बुझाइएको छ । वैद्यले एक जटिल रोगबाट प्रभावित महिलालाई पूर्णरूपमा रोग निको पारिदिन्छु भन्दै रकम लिएर आश्रमको कार्यालयभित्रै कपडा खोल्न लगाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पीडित महिलाले जबरजस्ती करणी उद्योगमा जाहेरी गरेपछि वैद्यलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले परिसरकै हिरासत कक्षमा राखिएको छ ।

‘आश्रममै कार्यरत एक महिलाको उजुरीपछि वैद्यलाई पक्राउ गरेका हौं । सोहीअनुसार अनुसन्धान भइरहेको छ,’ ज्ञवालीले भने, ‘पीडित भनिएकी महिला र वैद्यसँग बयान लिने क्रम जारी छ ।’

वैद्यविरुद्ध प्रहरीमा ठगी मुद्दा पनि परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा ठगीसम्बन्धी जाहेरी परेपछि प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गर्दैछ । परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘वैद्यविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ठगी गरेको भन्दै जाहेरी परेको रहेछ ।

अनुसन्धान गर्न भन्दै हामीकहाँ पत्र आयो । सोही पत्रका आधारमा अनुसन्धान गर्दैछौं ।’ वैद्यले कुनै विश्वविद्यालयबाट औपचारिक रूपमा विद्यावारिधि नगरेको र उनले आफ्नो नामको अगाडि लेख्ने प्रा.डा.को पद र राष्ट्रिय समाजसेवी उपाधि ‘स्वघोषित’ भएको बारे उजुरी परेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७