सोमबार-मंगलबार उद्धार उडान नहुने, २४ मुलुकबाट २६ हजार बढी स्वदेश फर्किए


२८ असार २०७७, आईतवार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, २८ असार । विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्तीका लागि भोलि सोमबार र मंगलबार उडान नहुने भएको छ ।

विदेशमा कोरोनाका कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिएका छन् ।

कुनै कारणले रोकिएको नभई लामो समयदेखि उद्धार उडानहरु भइरहँदा विमानस्थल सरसफाई, होल्डिङ सेन्टरको व्यवस्थापनलगायतका थप व्यवस्थापन मिलाउनका लागि दुई दिन स्थगित गरिएको उनले बताए ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धारण गरेको छ ।

जुलाई २२ सम्म ४२ उडान हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान जुलाई १२ सम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो ।

यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ ।
मन्त्रालयले बनाएको उडान तालिकाअनुसार उसले जुलाई १५ मा दुबईमा दुई उडान गर्नेछ भने हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्नेछ ।

जुलाई १६ मा नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाम र कतारको रियादमा तीन तथा हिमालयले समान तीन उडान गर्ने तालिका छ ।

त्यस्तै जुलाई १७ मा नेपाल एयरलाइन्सले कतारमा दुई र हिमालयले बहराइनमा दुई उडान गर्नेछन् । जुलाई १८ मा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार उडान गर्नेछ । सोही दिन हिमालयले आबुधाबीमा दुई उडान गर्नेछ ।

त्यसैगरी जुलाई १९ मा मलेसिया गन्तव्यमा ती एयरलाइन्सले दुई÷दुई उडान गर्नेछन् । यसैगरी जुलाई २० मा तीन–तीन उडान गर्नेछन् । जुलाई २१ मा मलेसिया गन्तव्यमा दुई एयरलाइन्सले समान दुई उडान गर्ने तालिका सार्वजनिक गरिएको छ ।

जुलाई १४ र १४ मा नेपाल एयरलाइन्सले संयुक्त राष्ट्रसङ्घको मिशनमा नेपाली सेना लैजानका लागि चार्टर्ड उडान गर्नेछ भने सोही अवधिमा कोरियन एयरले दक्षिण कोरियाको सिओलबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने जनाइएको छ ।

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने छ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्नेछ ।

पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको थियो । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् ।

यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हँुदै आएका छन् । असार महिनामा धेरै संख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार पनि एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७