सरकारी प्रयोगशालामा दायरा घटाएर निजीलाई सशुल्क कोरोना परीक्षणको अनुमति


३० असार २०७७, मंगलवार
star1

काठमाडौं, ३० असार । सरकारी प्रयोगशालामा परीक्षण घटाएर स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालालाई सशुल्क कोरोना जाँच गर्ने अनुमति दिएको छ ।

आफैले बनाएको निर्देशिका विपरीत मन्त्रालयले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल र स्टार अस्पताल ललितपुरलाई नमुना संकलनदेखि परीक्षणसम्मको अधिकार दिएको हो ।

प्रयोगशालामा संकलित नमुनाका चाङ लाग्न थालेपछि सहजताका लागि निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने भन्दै मन्त्रालयले ८ असारमा निर्देशिका जारी गरेको थियो । निजीले नमुना संकलन गर्न नपाउने, तर सरकारी समितिले सिफारिस गरेमा परीक्षण भने गर्न सक्ने व्यवस्था निर्देशिकामा छ ।

तर, अहिले परीक्षणको दायरा नै घटाएका वेला निर्देशिकाविपरीत राजनीतिक पहुँचका आधारमा दुई अस्पताललाई नमुना संकलन र परीक्षणको स्वीकृति दिइएको स्रोतको दाबी छ ।

सरकारले यसअघि नै केएमसी, स्टार अस्पताल, नेपाल–कोरिया मैत्री अस्पताल र नयाँ बानेश्वरको सेन्ट्रल डाइग्नोस्टिक ल्याब (सिडिएल) लाई परीक्षणको अनुमति दिएको थियो । सोमबार लाजिम्पाटको सूर्या हेल्थ केयर, बुटवलको नेसनल प्याथ ल्याब र नेपालगन्जको बागेश्वरी प्रयोगशालालाई पनि अनुमति दिइयो ।

तर, सोमबार केएमसी र स्टारलाई भने स्वाब संकलनदेखि परीक्षण गर्नेसम्मको सबै अधिकार पनि दिइयो । बाँकीले भने सरकारले गठन गरेको सिफारिस समितिले दिएका नमुना मात्रै परीक्षण गर्न पाउने छन् ।

निजी अस्पतालहरूलाई अनुमति दिएर सरकार नागरिकप्रतिको दायित्वबाट पन्छिन खोजेको आशंका स्वास्थ्य क्षेत्रका विज्ञहरूको छ । स्वास्थ्य मन्त्रालयकै एक अधिकारी पनि यो कुरा स्विकार्छन् । ‘मन्त्रालयले परीक्षण गर्न नसक्ने भन्दै अनौपचारिक रूपमा हात झिकेको हो,’ ती अधिकारीको भनाइ छ । निजी अस्पतालहरूले नमुना संकलनदेखि परीक्षणसम्मको शुल्क पाँच हजार पाँच सय लिनेछन् ।

कोरोना परीक्षणको अनुमति दिन निवेदन दिएको सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन)लाई भने मन्त्रालयले अनुमति दिएको छैन । यही प्रयोगशालाले नै नेपालमा पहिलो कोरोना केस पत्ता लगाएको थियो । गत ९ माघमा चीनबाट आएका युवामा कोरोना भाइरस रहेको पुष्टि गरेपछि पुनः परीक्षणका लागि सरकारले सो नमुना हङकङ पठाएको थियो ।

महामारीजन्य रोगका विषयमा अध्ययन–अनुसन्धान गर्दै आएको यो प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको मानिन्छ । त्यति मात्रै होइन, प्रयोगशालाले कोरोना परीक्षणमा सरकारलाई सहयोग पनि गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हप्ता आफ्ना कर्मचारी पठाएर कोरोना जाँचको तालिम दिएको यो प्रयोगशालाले अप्ठ्यारो परेको वेला सरकारलाई पाँच सय पिसिआर किटसमेत पैंचो दिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आपत्कालीन सेवा लिनेलाई समेत मध्यनजर गरेर दुई अस्पताललाई स्वाब संकलनदेखि परीक्षणसम्मको अनुमति दिइएको बताए । ‘विदेश जानेदेखि अस्पतालमा आपत्कालीन शल्यक्रिया गर्नुपर्ने बिरामीसम्मलाई मध्यनजर गरेर दुई अस्पताललाई अनुमति दिइएको हो । अस्पताल भएका कारण त्यहाँ स्वाब संकलन समेत सहज हुन्छ, अन्यथा केही होइन,’ उनले भने ।

दैनिक चारदेखि ६ हजारसम्मको परीक्षणलाई कम भन्न नमिल्ने डा. गौतमको भनाइ छ । ‘भारतबाट दैनिक २५ हजार मान्छे नेपाल प्रवेश गर्दाको अवस्था र अहिले दुई हजार प्रवेश गर्दाको अवस्था एउटै हुँदैन । अहिले बाहिरबाट आउनेको धेरै नमुना छैन । हामी संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्र्याक्ट ट्रेसिङको काम गरिरहेका छौँ,’ उनले भने, ‘संक्रमित कम भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्ति पनि स्वतः कम हुने भएकाले नमुना कम देखिएको हो । दैनिक १० हजारको परीक्षण गर्न मान्छे कहाँबाट खोजेर ल्याउने ?’

संक्रमित १६ हजार नौ सय ४५ पुगे

पछिल्लो २४ घन्टामा थप एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या १६ हजार नौ सय ४५ पुगेको छ । काठमाडौं उपत्यकामा नौजना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितको ६१ प्रतिशत अर्थात् दश हजार दुई सय ९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुई लाख ८९ हजार तीन सय ७१ नमुना परीक्षण भएका छन् ।

पछिल्लो दश दिनमा भएको पिसिआर परीक्षण
मिति नमुना परीक्षण संक्रमित
१८ असार ४५३७ ४७८
१९ असार ४४८३ ७७४
२० असार ४०५० २३२
२१ असार ४७१० २९३
२२ असार ४७२१ १८०
२३ असार ६१३३ २०४
२४ असार ४६९६ २५५
२५ असार ४५८८ १०८
२६ असार ४८०६ ११८
२७ असार ३६४८ ७०
२८ असार ३९१६ ८२
२९ असार ५८५६ १४४

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भन्छन्– कोरोनाको परीक्षण घटेको होइन, संक्रमित घटेका हुन्

दैनिक चारदेखि ६ हजार परीक्षणलाई कम भन्न मिल्दैन । भारतबाट दैनिक २५ हजार मान्छे नेपाल प्रवेश गर्दाको अवस्था र अहिले दुई हजार प्रवेश गर्दाको अवस्था एउटै हुँदैन । अहिले बाहिरबाट आउनेको धेरै नमुना छैन ।

हामी संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्र्याक्ट ट्रेसिङको काम गरिरहेका छौँ । संक्रमित कम भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्ति पनि स्वतः कम हुने भएकाले नमुना कम देखिएको हो । दैनिक १० हजारको परीक्षण गर्न मान्छे कहाँबाट खोजेर ल्याउने ? हामी साउथ एसियामा राम्रो अवस्थामा पुगेका छौँ ।

भुटान बाहेक पिसिआर परीक्षण धेरै गर्ने नेपाल हो । मृत्युदर नेपालमा ज्यादै कम छ भने निको भएर जानेको संख्या पनि उल्लेख्य छ । ६१ प्रतिशत व्यक्ति निको भएर घर गएका छन् । पिसिआर मेसिन र किट व्यापार गर्नेलाई मात्रै परीक्षण ज्यादै कम भएको लागेको हो । तर, राज्यलाई जरुरी परेको मात्रै पिसिआर परीक्षण गर्ने हो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७