पहिरोमा पुरिएर तनहुँमा १० को मृत्यु, दुई बेपत्ता

जाजरकोटका विस्थापित भोकभोकै, चार दिनसम्म पाएनन् राहत


३० असार २०७७, मंगलवार
tanahu2020 07 14 04 00 01

तनहुँ, ३० असार । तनहुँका विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । दुई जना हराइरहेका छन् । दुई जना घाइते भएका छन् ।

सोमबार बिहान ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलीमा गएको पहिरोमा परी एउटै परिवारका पाँचजनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा ३० वर्षीय भेषबहादुर थापा, उनकी पत्नी २९ वर्षीया नानुमाया, पाँच वर्षीया छोरी अमिसा, २२ वर्षीय भाइ महावीर र १९ वर्षीया भाइबुहारी मनिसरा (महावीरकी पत्नी) रहेका छन् ।

पहिरोमा पुरिएर ६० वर्षीया ज्योति थापा घाइते भएकी छिन् । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका सहायक सिडिओ चित्रांगत बरालले बताए ।

त्यस्तै, व्यास नगरपालिका–९ माझफाँटमा गएको पहिरोमा पनि एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४० वर्षीया कमला थापा, उनका २४ वर्षीय छोरा मनोज, २१ वर्षीया छोरी अञ्जना र ७० वर्षीया मैतीमाया घर्तीको मृत्यु भएको छ । २० वर्षीय राजेश थापा हराइरहेका छन् । माझफाँटमा गएको पहिरोमा पुरिएर ५० वर्षीय केसरबहादुर थापा घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।

म्याग्दे गाउँपालिका–६ मा गएको पहिरोमा पुरिएर १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । व्यास नगरपालिका– ११ मा गएको पहिरोमा ५२ वर्षीय पदमबहादुर भुजेल बेपत्ता भएका छन् । हराइरहेकाहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीयवासीले खोजी गरिरहेको सहायक सिडिओ बरालले बताए । पानी परिरहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको उनको भनाइ छ ।

पहिरोमा परी ज्यान गुमाएका ऋषिङ गाउँपालिका– ८ भैँसीकिलीका भेषबहादुरको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापासहितका जनप्रतिनिधिहरू गाउँमै पुगेर पीडित परिवारलाई राहत दिएका हुन् ।

जाजरकोटका विस्थापित भोकभोकै, चार दिनसम्म पाएनन् राहत
पहिरोले विस्थापित जाजरकोटको बारेकोट गाउँपालिका– ४ र ५ का बासिन्दाले भोकभोकै बस्नुपरेको छ । विस्थापित भएको चार दिन बित्दासमेत सरकारले राहत सामग्री नदिएको उनीहरूको गुनासो छ ।

पहिरो गएको चार दिनपछि सोमबार सदरमुकाम खलंगामा विस्थापितलाई राहत उपलब्ध गराउने विषयमा छलफल गर्न सिडिओको अध्यक्षतामा विपत् व्यवस्थापन समितिको बैठक बस्यो । तर, पीडितहरूलाई खाद्यान्न दिने विषयमा भने कुनै निर्णय गरेन ।

बारेकोट–४ मा २६ असारमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने एकजना अझै हराइरहेका छन् । यहाँका अधिकांश परिवार विस्थापित भएका छन् । त्यही दिन गएको पहिरोले बारेकोट– ५ मा पनि स्थानीय बासिन्दालाई विस्थापित गराएको थियो ।

पहिरोले पाँच सय परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर शाहले बताए । पीडितहरू स्थानीय विद्यालय, आफन्तको घर तथा चौरमा त्रिपाल टाँगेर बसिरहेका छन् । अध्यक्ष शाहसमेत विस्थापित भएका छन् ।

विद्यालय तथा चौरमा बसिरहेका विस्थापितले भोकै बस्नु परेको पीडा सुनाएका छन् । ‘घरीघरी पालमा जम्मा भएको पानी फाल्नुपर्छ । ठूलो पानी पर्दा त भिज्छौं । सरकारबाट अहिलेसम्म खाद्यान्न तथा त्रिपाल केही पाएका छैनौँ,’ बारेकोट–४ सार्कीटोलका कालीबहादुर सार्कीले भने । एउटै पालमुनि १५ जना कोचिएर बस्नुपरेको सुनाउँदै उनले बसिरहेको ठाउँमा खानेपानीको समेत समस्या रहेको बताए ।

विद्यालयमा बसिरहेका बारेकोट– ५ का मोहनजंग शाहीले पनि चार दिनसम्म कतैबाट राहत नपाएको बताए । ‘विद्यालयको कोठा र बाहिर चौरमा पाल टाँगेर बसिरहेका छौँ । अहिलेसम्म कसैले राहत दिएको छैन । आफन्तले दिएको खानेकुरा खाएर ज्यान बचाइरहेका छौँ,’ उनले भने । घरमा भएको अन्नपात पनि पहिरोमा बगेकाले समस्या भएको उनको भनाइ छ ।

गाउँपालिकामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा पनि चामल छैन । बारेकोटको डिपोका लागि यस वर्ष एक हजार ५७ क्विन्टल चामल स्वीकृत भएको थियो । तर, ठेकेदारले ढुवानी नगर्दा एक महिनादेखि चामल छैन ।

सदरमुकामको गोदाममा चामल भए पनि कम्पनीले डिपोमा पठाउन सकेको छैन । चामलका लागि डिपोमा पुगेका विस्थापित रित्तोहात फर्किरहेका छन् । ‘डिपोमा एक मुठी चामल पनि छैन भनेर फर्काए, अन्यत्र किन्न पनि पाइँदैन,’ बारेकोट– ५ का जनक शाहीले भने । एक गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था नभएकाले झन् समस्या भएको उनले बताए ।

विस्थापितका लागि राहत उपलब्ध गराउने विषयमा छलफल गर्न चार दिनपछि सोमबार सदरमुकाम खलंगामा विपत् व्यवस्थापन समितिको बैठक बसेको छ । विस्थापितका लागि त्रिपाल पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी मंगलबार पठाउने तयारी भएको उनले बताए । तर, खाद्यान्न पठाउने विषयमा भने कुनै निर्णय भएको छैन । बाटो भत्किएका कारण राहत सामग्री पठाउन मुस्किल भएको प्रजिअ पन्तको भनाइ छ ।

लमजुङमा पहिरोले एक सय नौ परिवार विस्थापित
अविरल वर्षासँगै आइतबार बिहान गएको पहिरोले लमजुङको मध्यनेपाल नगरपालिकाका एक सय नौ परिवार विस्थापित भएका छन् । ६ घर पहिरोले पुरिएका छन् ।

वडा नम्बर ६ रानीपानीका देवी कुँवर, बमबहादुर कुँवर, शिरमणि भट्टराई, दीपेश भट्टराई, एकमाया दुरा र हरिमाया परियारको घर पहिरोले पुरेको प्रहरीले जनाएको छ । रानीपानीका ३१, लामासोतीका २७, भदौरेका ११ र गुम्बाबेंसीका नौ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए ।

त्यस्तै, वडा नम्बर ९ रातामाटेका २१, वडा नम्बर ३ सूर्यपालका पाँच, वडा नम्बर २ पराजुलीटारका तीन, वडा नम्बर १ खवासगाउँ र वडा नम्बर ४ चर्दीका एक–एक परिवार विस्थापित भएका छन् ।

विस्थापितमध्ये केही आफन्तको घरमा बसेका छन् भने केही स्थानीय इशानेश्वर माध्यमिक विद्यालयमा बसिरहेका छन् । पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई प्रहरी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए । त्यस्तै, गुम्बाखोला, रिस्तीखोला, चर्दीखोला र गलाडीखोलामा आएको बाढीले विभिन्न स्थानमा क्षति पुगेको उनले बताए ।

पहिरोको जोखिमले नेपाली सेनालाई पनि सारियो
सडकमाथिको डाँडोबाट ढुंगा खस्न थालेपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित सैन्य क्याम्पका २५ सैनिकलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई सोमबार साँझ ६ बजे घट्टेखोलास्थित नेपाल प्रहरीको भवनमा सारिएको हो ।

सडकमाथिबाट निरन्तर झरेको ढुंगाले सैन्य क्याम्पको भान्साकोठामा क्षति पुगेको छ । दुर्घटनाको उच्च जोखिम रहेपछि सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरे र सेनाको टोली मिलेर सैनिकहरूलाई घट्टेखोलास्थित नेपाल प्रहरीको भवनमा राखिएको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्म टिमुरेका डिएसपी लक्ष्मण थापाले बताए ।

‘टिमुरे र घट्टेखोलाबीचमा सेनाको सुरक्षा जाँच पोस्ट रहेको छ । साँझको समयमा सडकमाथिबाट ठूलाठूला ढुंगा खसेर ब्यारेकको भान्सामा पूर्ण क्षति पुगेको छ,’ डिएसपी थापाले भने । अहिले पनि माथिबाट ढुंगा खसिरहेको उनले बताए ।

चितवनमा बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीमा बगेर चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रिउ खोलामा बगेर माडी–८ खरकट्टाका सुरज भनिने पूर्वसिंह तामाङको मृत्यु भएको हो । सोमबार घरबाट काममा जाँदै गर्दा खोलामा बगेको जनाएको छ । सोमबार साँझ उनको शव भेटिएको हो ।

त्यस्तै, माडी–३ धोबाहाका रामसिंह मर्दनिया बेपत्ता भएका छन् । उनी शुक्रबार दिउँसोदेखि बेपत्ता भएका हुन् । स्थानीय बासिन्दाले रिउ खोलामा बगेको बताएका छन् । दाउरा निकाल्न जाँदा खोलाले बगाएको जानकारी आएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

खोला छेकेर उत्खनन गरिएपछि गाउँ डुब्ने त्रास
सोती खोला नै छेकिने गरी सर्लाहीको बरहथवामा गिटी–बालुवा उत्खनन गरिएपछि बाढी गाउँ पस्ने उच्च जोखिम बढेको छ । बाढी आउने डरले बरहथवा नगरपालिका–११ हिरापुर गाउँका बासिन्दा त्रसित बनेका छन् ।

हिरापुरमा बस्ती नै जोखिममा पर्ने गरी खोलासँगैको जमिनमा गिटी–बालुवा उत्खनन गरिएको छ । हिरापुर ब्यारेजदेखि उत्तरतर्फ खोलासँगै जोडिएको जमिनमा गहिरो पोखरी खनेर गिटी निकालिएको स्थानीय हरिप्रसाद वाग्लेले बताए । पोखरी खन्दा बनाएको ड्यामले खोलाको पानी रोकिने र त्यसको उत्तरतिरको गाउँ डुबानमा पर्ने खतरा बढेको उनको भनाइ छ ।

यसबारेमा स्थानीय जनप्रतिनिधि र नगरपालिकालाई जानकारी गराउँदा पनि वास्ता नगरेको स्थानीय नवराज राईले बताए । ‘पानी बग्ने ठाउँ बन्द भएको छ । ठूलो पानी पर्दा बाढी गाउँतिरै आउने भएको छ,’ उनले भने । गिटी निकाल्न बाँध बनाएका कारण खोलाको पानी रोकिएपछि गाउँ नै डुब्ने जोखिम बढेको उनको भनाइ छ ।

अहिले पनि खोला किनारको क्षेत्रबाट एक्स्काभेटर लगाएर दैनिक सयौँ टिपर गिटी निकाल्ने काम भइरहेको स्थानीय बासिन्दाले बताए । गिटी–बालुवा बोकेर गुद्ने टिपरले गाउँको सडक झन् भत्किएको राईले बताए । ‘टिपरले गर्दा हिलाम्य भएको सडकमा अहिले नै हिँड्न नसक्ने अवस्था आएको छ,’ उनले भने ।

वडाध्यक्ष रामकलश मुुखिया बिनले आफूले पटक–पटक उत्खनन रोक्न खोज्दा पनि ठेकेदारले नगरपालिकाबाट स्वीकृति लिएको भन्दै वास्ता नगरेको बताए । प्रहरी लगाएर रोक्दासमेत नगरपालिकालाई कर बुझाएको भन्दै रसिद देखाउने गरेको उनको भनाइ छ । अहिले भइरहेको उत्खननले ठूलो पानी आउँदा जनधनको क्षति हुने अवस्था रहेको वडाध्यक्ष मुखियाले बताए ।

साउन लाग्नेबित्तिकै उत्खनन बन्द गरिने बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोको भनाइ छ । ‘लकडाउनले गर्दा पछि धकेलिएका विकासका कामका लागि उत्खनन भएको र साउन लागेपछि बन्द गर्छौँ,’ मेयर महतोले भने ।

बाँसको बाँधको भरमा ठूला नदी

बाढी र कटानबाट बस्ती जोगाउन झापाका ठूला नदीमा बाँसको अस्थायी बाँध लगाइएको छ । बाँसको बाँधले बाढी नरोकिने भएपछि स्थानीय त्रसित बनेका छन् ।

जनताको तटबन्धन कार्यक्रमले झापाका ठूला नदीमा बाँसको अस्थायी बाँध लगाएको हो । लामो लकडाउनले पक्की बाँध निर्माण गर्न सम्भव नभएपछि जोखिम कम गर्न बाँसको बाँध लगाइएको जनताको तटबन्धन कार्यक्रमका इन्जिनियर जितेन्द्रकुमार चौधरीले बताए । एक दर्जनभन्दा बढी जोखिम क्षेत्रमा बाँधका लागि तारजाली लगाउन नपाउँदै नदीले कटान सुरु गरेको छ । कतिपय स्थानमा बाँसको तटबन्धन भत्काएर खोला गाउँ पसेको छ ।

झापाका माई, मेची, रतुवा, मावा, कमललगायत मुख्य नदीका एक दर्जनभन्दा बढी जोखिम स्थानमा झन्डै दुई किलोमिटर क्षेत्रमा बाँसको बाँध लगाइएको जनताको तटबन्धनका इन्जिनियर चौधरीले बताए । पक्की बाँधको निर्माण गर्न १२ वटा टेन्डर लाग्नुपर्ने समयमा लकडाउन हुँदा बाँध लगाउन नसकेकाले बाँसको अस्थायी बाँध लगाइएको उनको भनाइ छ ।

‘तत्कालको अवस्थामा बस्ती जोगाउन र अहिले भइरहेको खोला कटान रोक्न मात्र बाँसको बाँध लगाएको हो । यसले ठूलो खोला आउँदा रोक्दैन,’ इन्जिनियर चौधरीले भने, ‘कतिपय ठाउँमा कार्यक्रम परेन, कतिपय ठाउँमा कार्यक्रम पर्दा पनि लकडाउनले काम गर्न सकिएन ।’

गत वर्ष माई नदीले बाँध फुटाएर बस्ती विस्थापित भएको गौरीगन्ज–१ स्थित हुकलबारीको चउरी बस्ती जोगाउन पाँच सय मिटर बाँसको बाँध लगाइएको थियो । तर, अहिले त्यो क्षेत्रमा पानी पसेर ११ घर विस्थापित भएका छन् ।

गत वर्षको बाढीले विस्थापित भएकाहरू बिस्तारै पुरानै लयमा फर्कन नपाउँदै पुनः बाढीले विस्थापित भएका छन् । बाँसको तटबन्धनले गाउँमा खोला पसेर ठूलो क्षति हुनबाट भने रोकेको स्थानीय बासिन्दा पनि बताउँछन् । केही ठाउँमा भने तटबन्धनबाट पानी ‘ओभर फ्लो’ भएर घरमा क्षति पुगेको छ ।

गत वर्ष नै बस्ती जोगाउन तटबन्धन निर्माण गरिने आश्वासनले खुसी भएका स्थानीय बासिन्दा बाँसको बाँधको भरमा बस्नुपर्दा त्रसित बनेका छन् । गत भदौदेखि नै तटबन्धन निर्माण गर्न दबाब दिँदै आएको भए पनि फागुनमा मात्रै काम सुरु भएको गौरीगन्ज–१ का दिलीप राईले बताए ।

‘अहिले बाँसको बनाइएको छ । अहिलेसम्म सामान्य खोला पस्यो, केही घर डुबायो । तर, यो बाँसले मात्र रोक्छ भन्नेमा त विश्वास छैन । कुन वेला खोला बस्तीमा पस्ने हो टुंगो छैन । कतिवेला भत्काउने हो भन्ने चिन्ताले निद्रा पनि लाग्दैन,’ उनले भने ।

बाँसको तटबन्धनले तत्काल काम गरे पनि बगाउने खतरा भएको गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । ‘अहिले सामान्य धानेको छ । तर, कुन वेला भत्काउने हो टुंगो छैन,’ उनले भने, ‘यति ठूलो खोलालाई बाँसको तटबन्धनले कहाँ धान्छ र !’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७