वाम र कांग्रेसको नाममा राजपामा लफडा


१५ माघ २०७४, सोमबार
rajapa chariman

काठमाडौं, १५ माघ :  राष्ट्रिय जनता पार्टीभित्र वाम गठबन्धनलाई समर्थन गर्ने कि लोकतान्त्रिकमै रहने भन्ने विषयमा विवाद चर्किएको छ । राजपा अध्यक्षमण्डका सदस्य राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र यादव वाम गठबन्धनलाई समर्थन गर्ने र सरकारमै जाने पक्षमा रहँदैआएका छन् ।

rajapa chariman

राजपाका अध्यक्ष महन्थ ठाकुर, अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारी र राजकिशोर यादव नेपाली कांग्रेससँगै रहनुपर्ने पक्षमा छन् । महतोहरु वाम गठबन्धन विशेषगरी एमाले विना मधेशको समस्या समाधान र संविधान संशोधन हुन नसक्ने भएकाले राष्ट्रियसभा चुनावदेखि प्रदेशको सरकार गठनसम्म मिल्नुपर्ने धारणा राख्दैआएका छन् । २०७४ माघ ९ गते राष्ट्रियसभाको उम्मेदवार टुगो लगाउने बैठकमा पनि यी तीन नेताले वामगठबन्धनसँग मिल्नुपर्ने पक्षमा धारणा राखेका थिए । तर ठाकुर, भण्डारी र यादवले संविधान संशोधनमा एमाले नकारात्मक भएको भन्दै लोकतान्त्रिकसँगै मिल्न पुगेका छन् ।

वाम गठबन्धनसँग मिलेर केन्द्र सरकारमा पनि जानुपर्ने पक्षमा महतो, झा र महेन्द्र यादवले अडान राख्दैआएका छन् । अनिल झाले त वाम गठबन्धनसँग मिल्न नसके पार्टी नै विभाजन हुनसक्ने तर्क समेत राखेको राजपाका एक नेताले जानकारी दिए ।

महतो एमालेको बलमा जितेकाले वाम गठबन्धनतिर लहसिएको आरोप छ । महेन्द्र यादवको पृष्ठभूमि नै वामपन्थीसँग जोडिएको छ । अनिल झा मन्त्री हुनका लागि वाम गठबन्धनसँग मिल्ने पक्षमा रहेको बताइन्छ । महन्थ ठाकुर र भण्डारी कांग्रेसको राजनीतिबाट मधेश केन्द्रित पार्टीमा लागेका हुन् । राजकिशोर यादव २०६४ पछि उपेन्द्र यादव नेतृत्वको फोरमबाट राजनीतिमा उदाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७