साहित्यकार ‘लाटो साथी’ को निधन


३ श्रावण २०७७, शनिबार

काठमाडौं, ३ साउन । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’ को ७४ वर्षको उमेरमा निधन भएको छ ।

विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो ।

उनी क्यान्सर रोगबाट पीडित थिए । संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाउने डा. आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उहाँले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गरेका जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले जानकारी दिए ।

‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि प्रकाश पारेका भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलले बताए । सरल भाषामा उनले कपिलवस्तुको महत्व उपन्यासमार्फत पाठक समक्ष पस्किएका छन् ।

भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उनको रुची थियो । घर परिवारमा संस्कृतमै वार्तालाप गर्ने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्य समेत रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७