माया पोखिएको आकाश (कविता)


१० श्रावण २०७७, शनिबार
poem

विराट पुरूषको पैतालाबाट
नियोजित जन्माइएर शुरू हुन्छ
एउटा जीन्दगीको कथा
दम्भी पाइलाहरूले कुल्चिएर
भुइँ भन्दामाथि देख्न नदिएका
निर्दाेष–निर्दाेष आँखाहरू
स्वतन्त्र आकासमा उड्न
आकासको उच्चाई नापी रहेका छन् ।

हजारौं बर्षपछि
कमलको फूल जीन्दगी
उकालो बाटोमा डोर्‍याउँदै गर्दा
माया बिसाउने चौतारीमा
एकफेर थकाइ मार्दै गर्दा
प्रेमिल हावाको झोक्काले छोएको थियो
पहिलो पटक मायाको महसुस भएको थियो
एउटा प्रेमिल यात्रा त्यहीबाट शुरू हुन्छ।
त्यही अन्त्य गरिन्छ कहिलै शुरू नहुने गरी ।

ओरालो बाटोमा दम्भी पाइलाहरू
टेक्दै–टेक्दै झर्ने ढुङ्गे मनहरूले सोचेनन्
कतै मानवीयता नै किच्याएर मार्दैछौं कि ?
बालुवामा लतपतिएको रगत
हत्याको साक्षी राखेर
भेरी सुसाउँदै सत्य बयान दिंदैछ
मायालु जोडी टुटाएर
रगतको फाल्सा–फाल्सा सरी
बगाएर लानुको पीडाले
भेरी पिरोल्लिन्दै मुर्छिदै रूदैछ
भेरी बगरमा लाश बनाएर
फालिएको इन्द्रेणी सपना
जोडी ढुकुरले कुर्लिएको मायाको गीत
न्याउली चरीले विरह गाउँदै–गाउँदै
निर्दयी ढुङ्गा मान्छेहरूलाई सुनाउँदैछ
ढुङ्गा मान्छेहरूको मन पग्लिएर
आँसु झर्छ कि झर्दैन ?
ढुङ्गा मान्छे ! मान्छे जस्तै रून्छ कि रूदैन ?

एउटा मक्करकाँची सपनालाई
जतिसुकै टुक्रा टुक्रा पारे पनि
त्यहि एक टुक्राबाट सपना उम्रन्छ
अब
बिद्रोह गरेरै मान्छेहरूलाई
मान्छे बनाउनु छ
मनहरूमा विचार भर्नु छ
मुटुहरूमा माया भर्नु छ
श्वासहरूमा प्राण भर्नु छ
मस्तिष्कहरूमा फूल फुलाउनु छ
जीवनमा रङहरू भर्नु छ
गर्नु त अझै धेरै के के छन् के के

बिवाहको उत्सव हत्यामा बद्लेर
घरको आँगनले बहिष्कार गरेको
म तथाकथित अछूत प्रेमी
माया पोखिएको क्षितिजबाट धर्तीसम्म
घामको किरणको लिस्नो बानाएर
रक्तिम आकासको
एक चिम्टी सिन्दुर लिएर
तिम्रो सिउँदो भर्न झर्नेछु
चेतनाको घुम्दो उघारी राख्नु है ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७