निर्मला हत्याका दुई वर्ष : दुई वर्षअघिकै अवस्थामा फर्कियो प्रहरी अनुसन्धान


११ श्रावण २०७७, आईतवार
nirmala final

काठमाडौं, ११ साउन । १० साउन ०७५ मा कञ्चनपुर भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।

त्यसको भोलिपल्ट भीमदत्त–१८ निम्बुखेडास्थित उखुबारीमा उनको शव फेला पर्‍यो । तर, प्रहरीको एकपछि अर्काे गल्तीले रुमल्लिएको यो हत्या प्रकरणका अभियुक्त अझै फेला परेका छैनन् । बरु थप अनुसन्धान नै ठप्प बनेको छ ।

हत्या प्रकरणको अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोगमा दायरा मुद्दा कञ्चनपुर जिल्ला अदालतमा विचाराधीन छ ।

मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई गति दिने प्रहरी तयारी छ । यस्तै, अनुसन्धान निचोड नै बाझिएकाले पनि मुख्य आरोपित दिलीपसिंह विष्टलाई पक्राउ गर्न प्रहरीले आँट गरेको छैन ।

विष्टतिरै सोझियो अनुसन्धान

प्रहरी स्रोतका अनुसार अहिले मुद्दा खेपिरहेका प्रहरीले औंल्याएका अभियुक्त दिलीपसिंह विष्टकै नजिक पछिल्लो अनुसन्धान पुगेको छ । निर्मलाकी आमाले विष्टविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरमा माघ ०७६ मा बुझायो ।

सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि प्रहरीलाई १७ बुँदे निर्देशन दिएको थियो । सोहीअनुसार प्रहरीले थप विवरण तयार पारेको छ, जसमा दिलीपले नै निर्मलाको हत्या गरेको पर्याप्त प्रमाण रहेको प्रहरी स्रोत बताउँछ ।

तर, पहिले दिलीपलाई नै पक्राउ गर्दा प्रमाण नष्ट गरेको र यातना दिएको भनेर मुद्दा दायर भएकाले एउटै घटनामा पहिलेको अभियोगसँग बाझिने अर्काे मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले अनुमति नदिएको स्रोत बताउँछ । ‘प्रहरीविरुद्धको मुद्दा अदालतबाट टुंगिएपछि मात्र अब यो मुद्दा प्रक्रिया अगाडि बढ्छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सइहरू रामसिंह धामी र हरसिंह धामी तथा जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको बताउँदै ‘सार्वजनिक न्यायविरुद्धको कसुर’ मुद्दा दायर भएको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका छन्, तर मुद्दा किनारा लागेको छैन ।

दिलीपसिंहलाई यातना दिएर अपराध कबोल गर्न लगाइएको उल्लेख गर्दै एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा निरीक्षक खड्काविरुद्ध अर्काे मुद्दा समेत चलाइएको छ । निर्मलाका हत्याराका रूपमा प्रहरीले ४ भदौ ०७५ दिलीपसिंहलाई सार्वजनिक गरेको थियो । डिएनए परीक्षणमा विष्टको संलग्नता प्रमाणित नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो ।

त्यसपछि प्रहरीहरू विरुद्ध नै मुद्दा चलाइएको थियो । तत्कालीन प्रहरी नेतृत्वले अनुसन्धान टुंगो नै नलागी भिडको दबाबमा प्रहरीविरुद्ध नै मुद्दा चलाउने निर्णय गर्दा अहिले समस्या भएको एक प्रहरी अधिकारी बताउँछन् ।

यो घटनालाई नजिकबाट नियालेका राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजाल पनि यसमा प्रहरी नेतृत्वको कमजोरी देख्छन् । हचुवाको भरमा विगतमा निर्णय गर्दै अगाडि बढ्नु हत्या प्रकरण नसुल्झिनुको प्रमुख कारण भएको उनको भनाइ छ । 

‘कसैले सुनाएकै भरमा पहिलेका अनुसन्धानका प्रमाणलाई बदर गरियो,’ उनी भन्छन्, ‘प्रहरीलाई मुद्दा चलाइयो, गल्ती त्यहीं भएको छ । यो तत्कालीन प्रहरी नेतृत्वले गरेको ब्लन्डर हो । हचुवाका भरमा निर्णय गरियो, जहाँबाट पछाडि फर्किने बाटो नै बन्द भयो ।’

एआइजीकै प्रतिवेदन गलत ?

निर्मला हत्या प्रकरणमा प्रहरीले भिडको दबाबका आधारमा निर्णय गर्दै गएको एक उदाहरण हो, तत्कालीन एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन प्रतिवेदन । बस्नेतको प्रतिवेदन गलत रहेको प्रहरीकै अर्काे प्रतिवेदनको ठहर छ ।

पर्याप्त प्रमाण नभएपछि भिडको दबाबका भरमा प्रहरीमाथि नै मुद्दा दायर भएको र यसले अनुसन्धान अधिकृतहरूको मनोबल घटाएको विषय प्रहरीभित्रै उठेपछि तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले थप अध्ययन गर्न डिआइजी सुरज केसी नेतृत्वमा १९ माघ ०७६ मा प्रतिवेदन पुनरावलोकन समिति गठन गरेका थिए ।

समितिले पाँच दिनमै प्रतिवेदन बुझाउँदै एआइजी बस्नेत नेतृत्वमा तयार भएको प्रतिवेदनको निष्कर्ष गलत रहेको ठहर गर्दै त्यसलाई कार्यान्वयन नगर्न सिफारिस गरेको थियो । एआइजी बस्नेत नेतृत्वको समितिले प्रमाण नष्ट गरेको निष्कर्ष निकालेको थियो ।

डिआइजी केसी नेतृत्वको पुनरावलोकन समितिले दिएका तीन सुझाबमध्ये दोस्रो बुँदामा भनिएको छ, ‘अनुसन्धानमा हालसम्म भएको प्रगतिलाई एकीकृत गरी निष्कर्षमा पुग्नुपर्ने । सो क्रमबाट जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने ।’

समितिले दिलीपसिंह विष्टमाथिका प्रमाणलाई नजरअन्दाज गरिएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको हो । सो प्रतिवेदनलाई संगठनको साझा धारणाका रूपमा लिइएको छ । २४ माघ ०७६ मा सो प्रतिवेदन कार्यान्वयनका लागि त्यतिवेला सचिवालयमा रहेका हालका महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्य तथा अपराध अनुसन्धान विभागलाई पत्राचार गरेका थिए ।

अहिले सो प्रतिवेदन कार्यान्वयन गर्ने तथा यो प्रकरण सुल्झाउने जिम्मा उनकै काँधमा आएको छ । महानिरीक्षक क्षत्रीले सो घटनाको अनुसन्धानका लागि सिआइबी र सुदूरपश्चिम प्रदेश प्रहरीलाई निर्देशन दिइसकेका छन् । पहिलेको मुद्दाकै कारण तत्काल थप अनुसन्धान अगाडि बढेको छैन ।

दिलीपविरुद्ध ‘पर्याप्त प्रमाण’

दिलीपसिंह विष्टविरुद्ध परिस्थितिजन्य र अन्य पर्याप्त प्रमाण रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनमा अकाट्य प्रमाण भने उल्लेख छैन । हत्याको दिन उनलाई सोही बाटो हिंडेको देख्ने एक स्थानीयवासीले प्रहरीमा कागज गरिदिएका छन् । यस्तै, दिलीपको दुव्र्यवहार भोगेकी अर्की महिलालाई पनि प्रहरीले कागज गराएको छ ।

यस्तै, स्थानीय युवालाई दिलीपले निर्मलालाई आफैले हत्या गरेको बताएको भिडियो प्रहरीले जुटाएको अर्काे प्रमाण हो । भिडियो खिच्ने व्यक्तिले पनि प्रहरीमा कागज गरिदिएका छन् ।

‘यसका साथै हामीसँग परिस्थितिजन्य प्रमाण बलियो छ,’ कञ्चनपुर प्रहरीका एक अधिकृत भन्छन्, ‘परिस्थितिजन्य प्रमाण मात्र पनि कर्तव्य ज्यान मुद्दामा पर्याप्त हुन सक्ने सर्वाेच्च अदालतकै नजिर छ । त्यसकारण मुद्दा चल्न सक्ने अवस्था छ ।’ विष्टको भिडियो हेरेपछि नै हो, निर्मलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएको पनि ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले यो घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका छन् । यस विषयमा महानिरीक्षक क्षत्रीबाट निर्देशन आएको र छिट्टै निक्र्योलमा पुर्‍याइने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का निर्देशक डिआइजी सहकुल थापा बताउँछन् ।

डिएनएको पाटो बन्द

हत्या प्रकरणमा विवादको एउटा महत्वपूर्ण पाटो हो, डिएनए । पक्राउ परेका अभियुक्तमाथि स्थानीय बासिन्दाले विश्वास नगर्नु र उनको डिएनए परीक्षण नमिलेपछि आरोपी विष्ट छुटेका थिए ।

डिएनए नमिलेपछि विष्ट छुटेनन् मात्र, यसले प्रहरी अनुसन्धानमाथिको विश्वास पनि घटायो । नक्कली अभियुक्त खडा गरेको स्थानीयवासीको शंकालाई थप बलियो बनायो । विश्वसनीय वैज्ञानिक विधि भएकाले त्यसमा शंका गर्ने ठाउँ भएन ।

तर, विभिन्न छानबिन समितिले डिएनए परीक्षणमै त्रुटि भएको निचोड निकाले । सुरुमा यसबारे राष्ट्रिय मानव अधिकार आयोगले विज्ञ राखेर अनुसन्धान गर्‍यो । अनुसन्धान विधि नै गलत भएकाले डिएनएबाट सही अभियुक्त पत्ता नलाग्ने आयोगले निष्कर्ष निकाल्यो ।

प्रहरीले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो, जुन वंश पत्ता लगाउन प्रयोग गरिन्छ । यस्तो घटनामा अटोसोमल प्रविधिबाट परीक्षण गर्नुपर्ने थियो । प्रहरीले निर्मलाको गुप्तांगबाट लिइएको वीर्यको नमुना जोगाउन नसक्दा यस्तो अवस्था आएको छ ।

वाई–एसटिआर प्रविधिबाट डिएनए परीक्षण गर्ने क्रममा धेरै नमुना नष्ट भएको र अटोसोमल प्रविधिबाट परीक्षण गर्न अब सम्भव नभएकाले डिएनएबाट अभियुक्त पहिचान हुने बाटो बन्द भएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक रिजाल नेतृत्वको विज्ञ समितिले पनि डिएनए परीक्षणमा त्रुटि औंल्याएको छ । गृह मन्त्रालयले सो प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ । विज्ञ समितिका संयोजक रिजाल भन्छन्, ‘डिएनएमार्फत यो घटनाका अभियुक्त पत्ता लाग्न अब सम्भव छैन ।’

निर्मलाकी आमा दुर्गादेवी पन्त भन्छिन् : दिलीपमाथि नै शंका छ

निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलीपसिंह विष्टमाथि नै शंका रहेको बताएकी छिन् । दुई वर्ष बितिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको उनले बताइन् । ‘निर्मलाको सुरुवाल फाटेको थियो,’ उनले भनिन्, ‘दिलीपको भिडियो हेरें, उसले सुरुवालको विषयमा कसरी थाहा पायो ।’

साइकलको चेन बिग्रेको आफूलाई जानकारी रहेको र दिलीपले पनि त्यही कुरा भिडियोमा बोलेको उनले बताइन् । भिडियो हेरेपछि दुर्गादेवीले दिलीपविरुद्ध किटानी जाहेरी दिएकी छिन् । ‘मेरो दोस्रो बोली छैन, दिलीपको भिडियो हेरेर उसैमाथि शंका लाग्यो,’ उनले भनिन्, ‘दिएको किटानीमा कुनै पहल भएन । दिलीप होइन भने अर्को अपराधी किन आएन ?’

निर्मलाको हत्या भएको दुई वर्ष पुगेकै दिन दुर्गादेवी एकाबिहानै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेकी थिइन् । एसपी मुकुन्द मरासिनीलाई नभेटेपछि हालै आएका डिएसपी अमर थापालाई केही थाहा नभएको भन्दै फर्किइन् । उनी दुई छोरीका साथ भीमदत्त–२ उल्टाखाममा बस्दै आएकी छिन् । उनका श्रीमान् भने दोस्री पत्नीसँग भीमदत्त–१ भाँसीमा बस्दै आएका छन् ।

निलम्बित डिएसपी अंगुर जिसी भन्छन् : दिलीप बाहेक अरू हुनै सक्दैन

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको मेरो अनुसन्धान नतिजामा म अडिग छु । यो घटनामा दिलीपसिंह विष्ट बाहेक अरूको संलग्नता हुनै सक्दैन । आंकलनको भरमा नभई धेरै कोणबाट अनुसन्धान गरेर मात्र मैले यस्तो दाबी गरेको हुँ ।

नेपाल प्रहरीमा मभन्दा धेरै विज्ञ अनुसन्धान अधिकृतहरू हुनुहुन्छ । मैले हचुवाको भरमा कसैलाई खडा गरेको भए उहाँहरूले पत्ता लगाउनु हुन्थ्यो । तर, दुई वर्ष बित्यो, दिलीप बाहेक अहिलेसम्म कोही भेटिएका छैनन् ।

पछिल्लो अनुसन्धानले पनि दिलीपलाई नै देखाएको छ । निर्मलाकी आमाले पनि उसैविरुद्ध किटानी जाहेरी दिनु भएको छ । एआइजी धीरु बस्नेत नेतृत्वको टोलीको रिपोर्ट गलत भएको आइसकेको छ । डिएनए रिपोर्ट नै गलत भएको विज्ञ समितिबाट प्रमाणित भइसकेको छ । अर्थात्, हाम्रो अनुसन्धान नै सही थियो भन्नेमा धेरै जना पुगेका छन्, तर हिम्मत गरेका छैनन् ।

हाम्रो अनुसन्धानमा दिलीपले नै बलात्कारपछि हत्या गरेका प्रशस्तै प्रमाण छन् । कुनै पनि अपराध अनुसन्धानमा हामी सुरुमा घटनास्थलको विश्लेषण गर्छाैँ । यसरी शव भेटिएको घटनामा प्राइमरी घटनास्थल त्यही हो कि होइन भन्ने हेरिन्छ ।

मेरो विश्लेषणमा शव भेटिएको ठाउँ घटनास्थल थिएन । किनकि, त्यहाँ कुनै संघर्षको संकेत थिएन । अन्यत्रै बलात्कार गरी हत्या गरेर फालेको निष्कर्ष थियो । तर, कहाँनिर बलात्कार भयो भनेर हामीले ठम्याउन सकेका थिएनौं ।

पक्राउ परेपछि दिलीपले बलात्कार गरेको ठाउँ देखाइ दिए । र, त्यो ठ्क्याकै मेल खान्थ्यो । साइकल बिग्रिएकोदेखि कसरी हत्या गरेको भन्ने सबै कुरा मेल खाएका छन्, जुन हत्यामा संलग्नबाहेक अरूले बताउनै सक्दैनन् ।

घटना देख्ने व्यक्ति कोही छैनन् । त्यो ठाउँमा सिसि क्यामेरा छैनन् । तर, त्यो समयमा त्यहीं आसपास हिंडेको देख्ने व्यक्ति छन् । त्यो पनि बलियो प्रमाण हो । प्राविधिक परीक्षणमा महेन्द्रनगरका १० हजारजनाको मोबाइलको विश्लेषण भएको छ । र, मोबाइल नबोक्ने मान्छेले नै हत्या गरेको प्रस्ट भएको छ । दिलीपले मोबाइल बोक्दैनथे । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७