हाम्रा जनप्रतिनिधि : रक्सीले मातिएका वडाध्यक्षद्वारा वृद्धमाथि निर्घात कुटपिट


२० श्रावण २०७७, मंगलवार
ganesh budhathoki

भोजपुर, २० साउन । भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय एक वृद्धमाथि निर्घात कुटपिट गरेका छन् । उनले स्थानीय ६५ वर्षीय बृद्ध अर्जुनजङ्ग कार्कीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

वडाध्यक्षको कुटाइबाट घाइते भएका वृद्धको थप उपचारका लागि विराटनगर पठाइएको छ । वडाध्यक्षको कुटाइबाट घाइते भएका कार्कीलाई स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो । उनको अवस्था गम्भिर भएका कारण विराटनगर सिफारिस गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए । घाइतेका कार्कीको छाती, हात र खुट्टामा चोट लागेको छ ।

शनिबार दिङ्लाबाट घर फर्किने क्रममा वडाध्यक्ष बुढाथोकीले कार्कीलाई कुटपिट गरेका थिए । वडाध्यक्ष कार्कीले उक्त समय रक्सी पिएर मातेको अवस्था रहेको एक स्थानीयले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीले भने कुलुङ अग्राखे भन्ने स्थानमा बाटो निरीक्षण गर्दै हिंडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेका कारण सामान्य ठेलमठेल मात्र भएको बताएका छन् ।

निर्घात कुटपिट गरेका वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको र उपचार गरिदिने भनेपछि छाडिएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए । उनले गाउँघरको सामान्य झगडा भएकाले वडाध्यक्षलाई छाडिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७