मेघगर्जन र चट्याङसहित बर्षा, शनिबारदेखि फेरि ठूलो पानी पर्ने


२२ श्रावण २०७७, बिहीबार
kathamandu

काठमाडौं, २२ साउन । मनसुन सक्रिय गराउने न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिंदै गएको मौसमविदले बताएका छन् ।

हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिक हुने सम्भावना देखिएको मौसमविदले जानकारी दिएका छन् । न्यून चापीय रेखा जति नेपाल नजिक भयो उति नै बढी बर्षाको सम्भावना हुने गर्छ ।

जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । गण्डकी प्रदेश, प्रदेश– ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्का बर्षा भइरहेको बुलेटिनमा जनाइएको छ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा प्रदेश–१, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, बागमती, गण्डकी र प्रदेश–५ का एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–२ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति प्रदेश–१,बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । राति प्रदेश–१, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

बुलेटिन नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

शनिबार रातिदेखि नेपालमा फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार शनिबार रातिदेखि मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले वर्षा बढ्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७