६ बर्ष गफमै बित्यो, चियाको ‘अक्सन मार्केट’ शुरु हुने छैन छाँटकाट


२६ श्रावण २०७७, सोमबार
tea garden Ilam Nepali pretty girl

इलाम, २६ साउन । ६ बर्षअघि नै सञ्चालन गर्ने भनिएको चिया लिलाम विक्री केन्द्र (अक्सन मार्केट) यो वर्षको चियाको सिजन बितिसक्दा समेत सञ्चालनको कुनै छाँटकाट छैन । चियाको क्रेतालाई दिइने भनेको अनुदानका लागि बजेट विनियोजन नहुँदा अक्सन मार्केट सञ्चालनको चर्चा गफैमा सीमित बन्न पुगेको हो ।

६ वर्षदेखि चर्चा शुरु भएको अक्सन मार्केट अध्ययनको नाममा बरु ठूलो रकम खर्च भयो तर, मार्केट निर्माणको काम भने अगाडि बढ्न सकेको छैन । अक्सन मार्केटको काम अगाडि नबढ्दा चिया विक्रीका लागि बाहिरी बजारमै लैजानु पर्ने बाध्यता छ । ६ वर्षअघि अक्सनका लागि रकम छुट्याएर निर्माण शुरु भए पनि निर्माण कार्य अगाडि बढेन ।

‘निर्माण शुरु भएको पनि हो, झापामा एउटा घर भाडामा लिएर अफिस र ल्याब सञ्चालनको तयारी गरियो, एक वर्षको भाडा पनि बोर्डले तिर्‍यो तर ठोस काम हुन सकेन’, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, ‘अक्सन सेन्टर खोल्न व्यवसायीले शर्त राखे । अर्थ मन्त्रालयले सम्बोधन गरेन । यसपछि अक्सनका लागि बजेट छैन ।’

सरकार, बोर्ड र व्यवसायीको आ–आफ्नै शर्त र तर्कले अक्सन अल्झिएपछि यसको मार अहिले साना चिया किसानलाई परेको छ । तयारी चिया निर्यात गर्नै समस्या भएको जनाउँदै उद्योगी व्यवसायीले किसानलाई हरियो पत्तीको लागत मूल्य समेत नदिँदा किसानको घरमा हात–मुख जोर्ने समस्या हुन थालेको किसान बताउँछन् ।

‘अक्सन निर्माण नहुनुको मुख्य कारण राजनीतिक अस्थिरता नै हो’, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने, ‘पुराना सरकार भत्किँदै गए र नयाँ बन्दै जाँदा अक्सन प्राथमिकतामा परेन ।’

अक्सन निर्माण भएर स्थानीयस्तरमै चियाको प्रवर्धन गर्न सकिने र चियाको ‘भ्यालू’ पनि बढ्ने उनको अपेक्षा छ । ‘अन्य देशका ब्रोकर भेला गराएर चियाको जानकारी पछि किन्न लगाइन्छ’, महासचिव राईले भने, ‘निर्माणको ढाँचा हेर्न भारतसम्म पनि गइयो तर निर्माण सम्पन्न भएन ।’ अहिले चियाको अक्सन मार्केटको कुरा गफमै सीमित भएको किसान बताउँछन् ।

नेपालमा पहिलो पटक झापाको विर्तामोडमा स्थापना हुने भनिएको अक्सनबाट चिया किन्नेलाई तीन प्रतिशत अनुदान रकम दिइने ब्यवस्था गरिएको छ । त्यसका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने थियो । अनुदानका लागि सरकारले बर्षमा चारदेखि पाँच करोड रुपैयाँ रकम छुट्याउनु पर्छ । सरकारले शुरुका तीन वर्ष अनुदान दिए मात्र अक्सन सञ्चालनमा सहज हुने अक्सन मार्केट सञ्चालक समितिका अध्यक्ष सुरेश अग्रवालले बताउँछन् ।

‘क्रेतालाई अलि बढी सुविधा दिएर भए पनि नेपालको अक्सनबाट चिया किन्ने वातावरण बनाउनु पर्छ’–अग्रवालले भने, ‘दुई–तीन वर्षपछि त्यस्तो अनुदान नदिए पनि हुन्छ ।’ अक्सन मार्केट सञ्चालन निर्देशिका बनिसकेको भए पनि त्यसलाई समेत परिमार्जनको तयारी गरिंदैछ ।

यसअघि चिया उत्पादकले कम्तीमा २५ प्रतिशत उत्पादन अक्सन मार्केटबाटै विक्री गर्नुपर्ने ब्यवस्थालाई परिवर्तन गरेर कम्तीमा ५० प्रतिशत उत्पादन अक्सन मार्केटमा नै ल्याउनु पर्ने ब्यवस्था राख्न प्रस्ताव गरिएको छ ।

यस्तै स्थानीय बजारमा खपत हुने चिया समेत अक्सन मार्केटबाटै किनबेच गर्नुपर्ने प्रावधान राखिएको छ । ‘जुन उद्देश्यले अक्सन सञ्चालनमा ल्याउन खोजिएको हो त्यो पूरा गर्नलाई केही प्रावधान थप्नुपर्ने भएकाले त्यसका लागि चिया तथा कफि विकास बोर्डमा पठाएका छौं’–अक्सन सञ्चालन कमिटीका अध्यक्ष अग्रवाल भन्नु हुन्छ–‘निर्देशिकामा केही परिवर्तन भएपछि मात्रै अक्सन सञ्चालन सम्भव छ । निर्देशिका परिवर्तन गरेर त्यस अनुसारको कार्यविधि बनाएपछि मात्रै अक्सन सञ्चालनको बाटो खुल्ने छ ।

६ वर्षअघि नै सरकारले चियाको अक्सन मार्केट सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको कार्यान्वयनले प्राथमिकता नपाउँदा चिया उद्योगी र किसान निरास हुँदैछन् । अक्सन मार्केट स्थापनाका लागि यसअघि सरकारले विनियोजन गरेको रकम अध्ययन, भ्रमण र निर्देशिका बनाउँदै सकिएको छ ।

अक्सनका लागि ठूला भौतिक संरचना आवश्यक भए पनि संरचना निर्माण गरिएको छैन । शुरुमा घर भाडामा लिएर अक्सन चलाउने तयारी छ । चिया खेती शुरु भएको डेढ सय वर्षपछि स्थापना हुन लागेको अक्सन मार्केट सञ्चालनमा चिया टेष्ट गर्ने प्रविधिदेखि ब्रोकरहरु आवश्यक हुन्छन् । तर, यहाँ ब्रोकर र प्राविधिक समेत नभएकाले भारतीयको मुख ताक्नु पर्ने अवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७