आवागमनमा कडाइ


२७ श्रावण २०७७, मंगलवार
naka IR0cEkAOJe

काठमाडौं, २७ साउन । लकडाउन हटे पनि कोरोना भाइरस संक्रमण तीव्र देखिएपछि सरकारले आवागमनमा कडाइ गर्ने गरी निर्णय लिएको छ ।

लामो दूरीका सवारीसाधन र आन्तरिक तथा बाह्य दुवै हवाई उडान भदौसम्म बन्द गरिने भएको छ । झन्डै चार महिना लामो लकडाउन साउन ७ गते अन्त्य गर्दै सरकारले लामो दूरीका यातायात र हवाई सेवा भदौ १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले जोखिम बढाउन सक्ने सम्भावनाका कारण एक महिना पछि धकेल्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

‘खासमा यो लकडाउनकै स्वरूप हो, मात्र यसलाई लकडाउन नभनिएको हो’, ती मन्त्रीले भने, ‘काठमाडौं आउने सबै नाका पनि बन्द गरिन्छ ।’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ सम्म सडक र हवाई यातायात खुला नगर्न सिफारिस गरेको थियो ।

बैठकले काठमाडौंमा भेला, सम्मेलन गर्न रोक लगाएको छ । सरकारी तथा निजी कार्यालयलाई सम्भव भएसम्म ५० प्रतिशत मात्र कर्मचारी राखेर सुरक्षाका सबै उपाय अवलम्बन गरेर मात्र काम गर्न भनिएको छ । सरकारले सीमा नाकामा पनि कडाइ गर्ने भएको छ । व्यवस्थित रूपमा अभिलेख राखेर मात्र कडाइ गरेर आवातजावत गर्न दिने निर्णय सरकारले गरेको छ ।

सरकारले भदौसम्मै विद्यार्थी भर्ना अभियान बन्द गर्ने भएको छ । शैक्षिक संस्था सञ्चालनका सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्रीसमेतको छलफलका आधारमा अर्काे बैठकबाट निर्णय लिने पनि सरकारले जनाएको छ । सरकारले यसअघि भदौ १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने घोषणा गरेको थियो ।

उपत्यका नगरपालिका फोरमले सोमबारै काठमाडौं उपत्यकाका स्थानीय तहबाट दिइने अत्यावश्यकबाहेक सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको छ । फोरम बैठकले सेवा रोक्ने निर्णयसहित नाकामा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

उपत्यकामा घना बस्ती भएकाले समुदायमा छिटो संक्रमण फैलने खतरा भएकाले बाहिरबाट आउन रोक लगाउन माग गरिएको फोरमले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७