हामी नेकपा फुटाउन दिन्नौं


रामकुमारी झाँक्री
प्रकाशित मिति : 12 August, 2020 10:25 am

हामीले पार्टी एकताको पक्षमा ६३ जना सांसदको हस्ताक्षर सार्वजनिक गरेपछि त्यसमा सहभागी हुन चाहने साथीहरुको संख्या बढ्दो छ । पार्टीभित्रको विवादलाई शीर्ष नेताहरुले सचिवालय र स्थायी समितिमा अनिर्णयको स्थितिमा राख्नुभएको छ । यति महत्वको विषयलाई यति लामो समयसम्म हल गर्न नसक्ने आदरणीय नेता कमरेडहरुले भोलि हामीलाई सांगोपांगो रुपमा पार्टी हस्तान्तरण गर्नुहुन्छ, पुस्तान्तरण गर्नुहुन्छ भनेर कसरी पत्याउने ?


हामी हस्ताक्षर संकलनमा अग्रसर हुनुको मुख्य कारण हो, पार्टी विधि–पद्धतिसंगत ढंगले चलाउनुपर्छ भन्ने मान्यता । असहमति, अन्तरसंघर्षहरुलाई कमिटी प्रणालीबाटै हल गर्नुपर्छ । डेडलकमा पारेर बस्नुहुँदैन । विधि र पद्धतिमा असहमति, अन्तरसंघर्षहरुलाई टुंग्याउनुपर्छ । त्यसो गर्नका निम्ति नेताहरु सार्वभौम हुनुहुन्छ । हामीले यही गर भनेर बिचौलियाको भूमिका खेल्ने, अप्सन दिने होइन, दिदैनौँ पनि । हामी यो वा त्यो नाम र बहानामा पार्टी विभाजनलाई प्रेरित गर्ने वा प्रेरित हुने कसैको पनि पक्षमा छैनौँ ।

केपी ओलीले असारको १४ गते मलाई भारतीयहरुले हटाउन खोजे भनेपछि प्रचण्डले तपाईंलाई भारतले हैन, हामीले हटाउन खोजेका हौँ भनेर स्थायी कमिटीमा कुरा राख्नुभयो । त्यसपछि हतार–हतार डमी पार्टी दर्तालगायतका काम अगाडि बढाइयो । पार्टी फुटाउँछु, संसद बिघटन गर्छु भन्दै राष्ट्रपति, प्रधानन्यायाधीशसँग बाक्लो भेटघाटको सिलसिला शुरु भयो । भोलि पार्टी विभाजन नै भएछ भने कानुनतः संसदीय दल एउटा निकायका रुपमा रहने भयो । के यसमा हाम्रो कुनै भूमिका हुन्न ? सचिवालय, स्थायी कमिटीहरु अनिर्णयको बन्दी भए भन्ने नाममा हामीले केन्द्रीय कमिटी बैठक वा संसदीय दलमै केही गर्न नपाउने ? संसदको विकास समितिमा गणेश पहाडी, यज्ञराज सुनुवार, विशाल भट्टराई, सुरेश राईहरु मिलेर केही गरौँ भन्नेतिर लाग्नुभयो । म पनि सदस्य रहेको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि पार्टी फुटाउने कुरालाई लिएर सुवास नेम्वाङसँग भनाभन नै गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहनुभएका डा.दीपकप्रकाश भट्टहरुसँग पनि छलफल भयो ।

अहिले हाम्रो पार्टीभित्र क. केपी ओली, क.माधव नेपाल र क.प्रचण्ड गरी कम्तिमा तीन प्रकारका गुट वा विचार समूह छन् । ती सबैका गरी ३०–३० जनाको दरले हस्ताक्षर गरेर ९० जना बनाऔँ भन्ने इच्छा राख्यौँ । त्यसो गर्दा कतै पनि बहुमत पुग्दैन । तर, हामीमध्ये कोही पार्टी सचिवालय र स्थायी कमिटीमा हुनुहुन्छ भने उहाँहरुले त्यहाँ फरक मत राख्नुपर्ने, मत विभाजनमा सरिक हुनुपर्ने स्थिति रहला भनेर उहाँहरुको हकमा अलिक लचिलो बन्ने भयौं । मन्त्री भएका साथीहरुलाई यसमा सहभागी नगराऔँ भन्ने सोच्यौं । पार्टी विभाजनका लागि शुरुदेखि नै उद्वेलित भएर लाग्नुभएका साथीहरुलाई पनि यसमा राख्नुको कुनै अर्थ नहुने निश्कर्षमा पुग्यौँ । त्यस्ता साथीहरुलाई यसमा सरिक गराइयो भने अभियानलाई तुहाइदिन्छन् भन्ने हाम्रो निश्कर्ष थियो ।

यो काम असारमै शुरु गरेका हौं । तर, बीचमा पार्टीको बैठक स्थगन भइरहेको थियो । र, हामी यत्तिकै सेलायौँ । ४२–४३ जनाको हस्ताक्षर गराएर त्यसै थन्क्याइरहेका थियौँ । अहिले कृष्णप्रसाद दाहाल, सुरेश राई, मसहितका साथीहरु बसेर हामीसँग कुनै हतियार छ भने त्यो समयमै प्रयोग गरौँ भन्ने सल्लाह भयो । हामी जनप्रतिनिधि हौँ । जनताकोबीचमा जवाफ दिँदै जानुपर्छ । त्यसकारण यो काम गरौँ भनेर शुक्रबार केही साथी बसी पत्रकार सम्मेलन गर्ने भन्नेमा पुग्यौं ।

फेरि पनि हामीले आ–आफ्ना देउरालीमा पाती–धुप चढाउने भनेर लाग्दा त्यो अभियान साझा हुँदैन । किनभने, हामी सबै कुनै न कुनै गुटमा छौँ, थियौँ । गुटका मठाधीशले यस्तो काम गर त भन्दै भन्दैनन् । भने पनि उनका अनुकूलमात्र गर भन्छन् । त्यसपछि आइतबार दिउँसो २ बजेतिर हामीले हस्ताक्षर सार्वजनिक गर्‍यौँ । त्यसो गर्नका लागि पनि तीन बुँदे आचारसंहिता बनायौँ ।

हाम्रो एकमात्र सरोकार पार्टी विभाजन नहोस् भन्ने हो । त्यो काम कसरी गर्ने भन्ने नेताहरुकै जिम्मामा छ । हामीले ६३ जना साथीहरुको हस्ताक्षर सार्वजनिक गरिसकेपछि सरिताकुमारी गिरी, सरला यादव र पवित्रा निरौला खरेललगायतका थुप्रै साथीले पछि आएर हस्ताक्षर गर्नुभएको छ । हामीले अहिले हस्ताक्षर सार्वजनिक गरेका हौँ । कतै बुझाएका हैनौँ । यो दबाब हो । भोलि विभाजनका लागि कतै हस्ताक्षर गर्नुपर्ने भयो भने हाम्रो हस्ताक्षर प्रयोग हुँदैन ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्