ह्याम्स अस्पतालमा मृत्यु भएका धादिङका युवाको मृत्युपछि कोरोना पुष्टि


२८ श्रावण २०७७, बुधबार
korona death

काठमाडौं, २८ साउन । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार उपचारकै क्रममा मृत्यु भएका धादिङ नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उनको मृत्यु कोरोना संक्रमणका कारण भएको जानकारी गराएको हो । उनी साउन २४ गते रुघाखोकी र ज्वरो आएपछि नजिकै रहेको गनेडाँडा स्वास्थ्य चौकीमा उपचारका लागि गएका थिए । स्वास्थ्य चौकीका इन्चार्ज बालकृष्ण गुरुङले उनको उपचार गराएर केही औषधि पनि दिएर थप उपचारको लागि जिल्ला अस्पताल धादिङमा पठाएका थिए ।

उनी साउन २५ गते जिल्ला अस्पताल धादिङ पुगे । उनलाई जिल्ला अस्पतालमा उपचारपछि स्वाब संकलनको लागि काठमाडौं पठाइयो । उनी काठमाडौं आएपछि साउन २७ गते मंगलबार धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उनको स्वाब संकलन गरियो । ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उनको मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उनलाई उपचार गर्ने जिल्ला अस्पताल र धुवाँकोटको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूलाई परिवारको सम्पर्कमा नजान भनिएको छ ।

नीलकण्ठका जनस्वास्थ्य अधिकृत रिजालका अनुसार उनी क्षयरोगको बिरामी थिए । धादिङ मण्डली यातायातको गाडीधनी र चालक समेत रहेका उनी धुवाँकोटबाट धादिङबेसीसम्म यात्रु र सामान ओसारपसार गर्थे ।

धादिङबेंसी क्षेत्रमा निषेधाज्ञा
आफ्नो जिल्लाका एक कोरोना संक्रमितको मृत्युपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरिएको छ ।

बुधबार ललितपुरको ह्याम्स अस्पतालमा धादिङ धुवाँकोटका एक जना पुरुषको मृत्यु भएको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले जानकारी दिएका छन् ।

ढुंगानाका अनुसार कोरोना संक्रमितको मृत्यु भएपछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । ‘कालुपाण्डे राजमार्गको आसपासका क्षेत्र र सदरमुकाम धादिङबेसीमा ३ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ’ उनले भने ‘उनले नियमित गाडी चलाउँदै आएको पाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७