आज हल्कादेखि केहि स्थानमा भारी बर्षा, भोलिदेखि वर्षाको मात्रा झन बढ्ने


३० श्रावण २०७७, शुक्रबार
raining

काठमाडौं, ३० साउन । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले अझै वर्षाको सम्भावना रहेको औंल्याएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनका साथै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै भनेको छ :- ‘देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएका आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

भोलि (शनिबार) बाट वर्षाको मात्रा केही बढ्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । उनका नेपालको पश्चिमतर्फ न्यून चापीय रेखा केही नजिक रहे पनि अन्य स्थानमा यो अहिले औसत स्थानभन्दा दक्षिण अर्थात् नेपालदेखि टाढा छ ।

‘भोलिदेखि यो रेखा औसत स्थानदेखि अलि माथि सर्ने सम्भावना छ भने भारतको बंगालमा न्यून चापीय क्षेत्र पनि विकास हुने सम्भावना छ,’ उनले भने, ‘जसले गर्दा नेपालमा भोलि र पर्सि वर्षाको मात्रा केही बढ्ने अनुमान छ ।’

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७