युएइमा दुई नेपाली युवाको रहस्यमय मृत्यु, यस्तो छ परिवारको आशंका


३ भाद्र २०७७, बुधबार
Uae Nepali

बेलबारी, ३ भदौं । यूएईको सारजाहमा बेलबारीका एकसहित दुई नेपालीको रहस्यमय मृत्यु भएको छ । मोरङको बेलबारी–३ का २७ वर्षका किरण गुरुङ र तनहुँ भगवतीपुर–७ का ३६ वर्षका मंगलराज श्रेष्ठको रहस्यमय मृत्यु भएको हो ।

श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । सारजाहका विभिन्न सञ्चार माध्यमद्वारा दुई जना नेपालीको मृत्युबारे समाचार सार्वजनिक गरिएको थियो । यूएईस्थित नेपाली दूतावासले श्रेष्ठको मात्र पहिचान भएको तर गुरुङको पहिचान नखुलेको सामाचार सार्वजनिक भएको थियो । अहिले दूतावासले पहिचान नखुलेको मृत्तक किरण गुरुङ भएको पुष्टि गरेको छ ।

तर किरण गुरुङको मृत्युबारे परिवारले भने ९ दिनपछि मात्र थाहा पाएका छन् । मृत्तक किरण बेलबारी–३ निवासी ४९ वर्षीय झनासिंह गुरुङ र ४७ वर्षीय नरमाया गुरुङका एक्ला छोरा हुन् । उनको १९ वर्षकी एक बहिनी पनि छिन् । परिवारका अनुसार घर खर्चका साथै बहिनी एलिसालाई किरणले रकम पठाइ रहेका थिए ।

साउन २४ गते दुवैको मृत्त अवश्थामा फेला परेको यूएइका सञ्चार माध्यमले समाचार सार्वजनिक गरेका थिए । दुई जनाबीच विवादपछि धारिलो हतियार प्रहारबाट मृत्यु भएको खबर गल्फ न्युजमा उल्लेख छ । दुवैको शरीरभरी दारिलो हतियारको चोट भेटिएको उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा एक अर्काको हत्या गरी दुई जनाको मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न आशंकामा केही पक्राउ परेको गल्फ न्युजमा उल्लेख छ ।

तर किरणका परिवारले भने एक आपसको विवादले नभएर अरुले नै हत्य गरेको हुन सक्ने आशंका गरेका छन् । किरणको हत्या भएको भन्दै न्याय दिलाउन परिवारले नेपाल सरकारलाई आग्रह रहेको छ ।

118158858 2752172111551103 6456180827062339793 n
रोजगारीमा रहेका छोराको शंकास्पद मृत्युको खबरले शोकमा परेका किरणका आमा–बाबु

२० वर्षको उमेरमा बैदेशिक रोजगारमा बहराइन पुगेका गुरुङ केही महिनाअघि मात्र सारजाहा पुगेका थिए । उनका परिवारका अनुसार उनी चराचुरुङ्गीलाई रेखदेख गर्ने काम गर्थे । सारजाहा काममा गएपछि २०७६ चैतदेखि घरमा किरणले पैसा नै पठाउन नपाएको परिवारले बताएका छन् ।

परिवारका अनुसार केही महिनादेखि पैसा अभावले राम्ररी फोन सम्पर्क पनि हुन नसकेको आमा नरमायाले बताइन् । उनका अनुसार किरणको साथीहरुमार्फत मात्र हाल खबर बुझ्न पाउँथिन् ।
किरणका साथी सुमन श्रेष्ठले पनि केही दिन अगाडि मात्र किरणको मृत्युबारे खबर पाएको परिवारलाई बताएका थिए ।

सुमनका अनुसार उनलाई किरणसँगै काम गर्ने फैजल नाम गरेको एक भारतीय युवकले मृत्युबारे जानकारी दिएका हुन् । सामाजिक सञ्जालद्वारा फैजलसँग चिनजान भएको सुमनले बताए । भाषा बुझ्न गारो भएकाले फैजलबाट पनि घटनाबारे पूर्ण जानकारी लिन नसकेको सुमनले जनाएका छन् ।

किरणका परिवारका अनुसार मंगलराज र किरण एकै कोठामा बस्ने साथी थिए । मंगलराजको भदौमा फर्किने तयारी थियो भने किरणले साउनमा फर्किने तयारी गरेका थिए । तर कोरोना महामारी फैलिएसँगै विविध समस्या भएपछि फर्कन नपाएको परिवारले जनाएका छन् ।

छोरोको हत्या भएको दावी गर्दै न्याय तथा क्षतिपूर्ति दिलाउन नेपाल सरकारलाई बुवा किरणको आमाले अनुरोध गरेका छन् । विदेशमा नै भए पनि सत्यतथ्य छाविनको लागि नेपाल सरकारको पूर्ण सहयोग तथा पहलका लागि परिवारले माग गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७