निषेधाज्ञा चौथो दिन : काठमाडौं उपत्यका सुनसान {भिडियाे}


७ भाद्र २०७७, आईतवार
kathamandu luckdawan 10 scaled

काठमाडाैं, ७ भाद्र । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको चौथो दिन आइतबार उपत्यका सुनसान देखिएको छ ।

एक हप्ताका लागि जारी भएको निषेधाज्ञाका कारण उपत्यकाका सडकहरु सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारीहरु बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, खानेपानी, विद्युत सञ्चार लगायतका सवारी सञ्चालनमा रहेका छन् ।

निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा औषधि र खाद्यान्न बाहेकका अन्य पसल खुलेका छैनन् । सवारी साधन चलाउने र पैदलयात्रा गर्नेलाई प्रहरीले सोधखोज गरिरहेको छ ।

अत्यावश्यक काम बाहेक बाहिर निस्किनेलाई केही समय होल्डिङ सेन्टरमा राखेर छोड्ने गरिएको छ । प्रशासनले अनावश्यक काममा बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

उपत्यकामा १६६ जना कोरोना संक्रमित थपिए

 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएको जानकारी दिएका छन् । जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट २८१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार ६३१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।

कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । सक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेका छन् । मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा। गौतमले जानकारी दिएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७