बल्खु तरकारी बजार अनुगमन : व्यापारीले खरिद–बिक्री बिल जारी गर्नुपर्ने


१३ भाद्र २०७७, शनिबार
tarkari scaled

काठमाडौं, १३ भदौं । व्यापारीले खरिद–बिक्री बिल जारी नगर्दा तरकारीको मूल्यमा एकरुपता नभएको उपभोक्ता अभिकारकर्मीले बताएका छन् ।

काठमाडौं महानगरपालिका उपभोक्ता हित संरक्षण समितिले आज बिहान बल्खु तरकारी बजारको अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली विकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ ।

ठूला व्यापारीले खरिद र बिक्री बिल जारी नगर्दा मूल्य निर्धारणमा मनपरी भएको भन्दै यस विषयमा कडाइ गर्ने कामपाको भनाइ छ । कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धारण हो, उत्पादन र ढुवानीका कारण देखाएर पछिल्लो समय तरकारीको मूल्य बढेपछि अनुगमन थालेको छ ।

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘बल्खु र बालाजु करीब छ किलोमिटरको दूरीमा एकै प्रकारको वस्तुमा एकै दिन किलोको ५५ रुपैयाँ फरक पाइयो, यसलाई कडाइका साथ नियमन नगर्ने हो भने उपभोक्तामा हुने ठगी रोक्न चुलिँदै जान्छ ।’

बल्खु तरकारी बजारमा ४२४ थोक तथा खुद्रा गरी पसल छन् । बजार व्यवस्थापनका कारण मूल्य नबढोस् भनेर पसल खरिद–बिक्री गर्न नपाउनेलगायतका नियम बनाइएको बजारका निर्देशक मोहन बस्नेतले अनुगमनका क्रममा भने ।

यस बजारमा तरकारीका अतिरिक्त खाद्यवस्तु, दुग्ध पदार्थ, बीउबिजन तथा औषधि पनि बिक्री वितरण हुन्छ । बजारमा रहेको मासु पसलको पनि निरीक्षण गरिएको थियो । अनुगमनमा पशु सेवा विभागबाट पशु सेवा अधिकृत डम्बरबहादुर बम पनि थिए ।

महामारी नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न गराउन, तरकारीको थोक तथा खुद्रा मूल्य सूची राख्न, बजारबाट बिक्री हुने सामानमा अनिवार्य रुपमा बिल जारी गराउन अनुगमन समितिले बजारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७