प्रहरीमा कोरोना संक्रमण बढिरहेको वेला गृहद्वारा समायोजनको तयारी

१० दिनमा आठ सय प्रहरीमा कोरोना संक्रमण


१६ भाद्र २०७७, मंगलवार
griha home

काठमाडौं, १६ भदौं । कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनमा अग्रस्थानमा खटिएका प्रहरीमा दिनदिनै संक्रमण बढिरहेको छ ।

उनीहरूलाई स्रोत–साधन र सुविधा थप्न चासो नदिएको गृह मन्त्रालय यस्तो वेला प्रदेशमा समायोजनमा सक्रिय देखिएको छ । अहिलेको विषम परिस्थितिमा प्रहरी समायोजन गर्दा थप समस्या निम्तिन सक्ने सुरक्षाविद्हरू बताउँछन् ।

असोजदेखि प्रहरी समायोजनको प्रक्रिया अघि बढाउने गृहको तयारी छ । त्यसका लागि अध्यादेशमार्फत नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण तथा समन्वय) ऐन, २०७६ संशोधन गर्न लागिएको छ । गृहले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् पठाइसकेको छ । ऐन संशोधन भएर दरबन्दीसम्बन्धी प्रतिवेदन पारित भएलगत्तै समायोजन प्रक्रिया सुरु गर्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

तर, गृहकै कतिपय अधिकारीहरू भने मन्त्रालयले प्राथमिकताअनुसार काम गर्न नसकेको बताउँछन् । ‘अझै केही महिना कोरोना संकट नियन्त्रण हुने देखिन्न, यस्तो अवस्थामा गृह मन्त्रालयले प्रहरी समायोजनलाई हतारो गर्नु ठीक हुन्न,’ गृहकै एक अधिकारीले भने । प्रहरी प्रधान कार्यालय पनि अहिले समायोजन प्रक्रियामा हतार गर्न नहुने पक्षमा रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा प्रहरी समायोजनमा ढिला भइसकेको बताउँछन् । ‘अहिले हतारो गरेको होइन, ढिला भइसकेको छ,’ उनी भन्छन्, ‘प्रदेश सरकारहरूले समायोजनका लागि दबाब दिइरहेका छन् ।’ प्रक्रिया अघि बढे पनि समायोजन गरेर प्रदेशमा पठाउने काम भने कोरोनाका कारण केही समय रोकिन सक्ने पनि उनको भनाइ छ ।

पूर्व एआइजी नवराज ढकाल पनि अहिले प्रहरी समायोजन प्रक्रिया सुरु गर्दा संक्रमण बढाउने र प्रहरीको मनोबलमा असर पर्न सक्ने बताउँछन् । ‘कोरोना पूर्ण रूपमा नियन्त्रण नभई प्रहरी समायोजनको काम रोक्नुपर्छ,’ पूर्व एआइजी ढकाल भन्छन्, ‘प्राविधिक काम सकेर रमानाको काम पछि मात्र गर्नु उचित हुन्छ ।’ अहिलेको अवस्थामा समायोजनको कामले प्रहरीलाई मानसिक तनाव हुन सक्ने उनको भनाइ छ ।

डिएसपीसम्मका प्रहरीलाई प्रदेशमा समायोजन गर्न लागिएको छ । गृह सचिव महेश्वर न्यौपाने नेतृत्वको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले दरबन्दी पास गरी अर्थ मन्त्रालयमा पठाइसकेको छ । निजामती जस्तै प्रहरीको पनि सफ्टवेयरमार्फत समायोजनको निर्णय गर्न लागिएको छ । समायोजनमा ५५ हजार प्रदेशमा तथा २४ हजार पाँच सय केन्द्रमा रहने छन् ।

प्रदेश सरकार गठन भएलगत्तै प्रहरी समायोजन हुनुपर्ने भए पनि कानुन नबन्दा लम्बिएको हो । लामो समय गृह मन्त्रालयकै सुस्तताले रोकिएको समायोजनमा अहिलेको विषम परिस्थितिमा भने हतार गर्न लागिएको छ । सरुवा भएर जाने प्रहरीका कारण संक्रमण फैलिन थालेपछि अत्यावश्यक बाहेक सरुवासमेत रोकिएको छ ।

१० दिनमा आठ सय प्रहरीमा कोरोना संक्रमण

प्रहरीमा कोरोना भाइरसको संक्रमण बढेपछि सुरक्षा व्यवस्थापनमै समस्या हुन थालेको छ । सोमबारसम्म एक हजार ६ सय २९ प्रहरी संक्रमित भएका छन् । जसमध्ये सात सय ३६ जना निको भएका छन् भने आठ सय ९३ जना उपचाररत छन् । अधिकांश संक्रमित पछिल्ला १० दिनमा थपिएका छन् । ५ भदौमा आठ सय एकजनामा संक्रमण थियो भने त्यसयता आठ सय २८ जना थपिएका छन् ।

कतिपय प्रहरी कार्यालयमा ५० प्रतिशतभन्दा धेरै प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यालय प्रमुखसहित ४२ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, जनसेवा वृत्तमा पनि २० भन्दा बढीलाई संक्रमण भएको छ ।

प्रहरी प्रधान कार्यालय, महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि ठूलो संख्यामा प्रहरीमा संक्रमण देखिएको छ । कार्यालयमा एक–दुई जनामा संक्रमण देखिँदा अरू धेरै क्वारेन्टिनमा बस्नुपर्ने भएकाले प्रहरीमा समस्या बढ्दै गएको छ । कतिपय कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा समस्या हुन थालिसकेको छ ।

प्रहरीमा यसरी संक्रमण बढ्दै जाँदा भोलिका दिनमा शान्ति सुरक्षामै असर पर्न सक्ने पूर्वएआइजी ढकालको भनाइ छ । प्रहरीबाटै समुदायमा समेत संक्रमण फैलने जोखिम हुने भएकाले सतर्कताका लागि निर्देशन मात्र नभई विशेष तालिमकै आवश्यकता देखिएको उनी बताउँछन् । समयमा परीक्षण नहुँदा पनि प्रहरीमा संक्रमण एकाएक बढेको प्रहरी अधिकारी बताउँछन् ।

सरोकारवालासँग प्रधानमन्त्रीले भने–प्रतिपक्ष मनोविज्ञान हाबी हुँदा कोरोना विस्तार

प्रधानमन्त्री केपी ओलीले समाजमा ‘प्रतिपक्ष मनोविज्ञान’ हाबी हुँदै गएकाले सरकारले हरसम्भव प्रयास गर्दा पनि कोभिड– १९ को संक्रमण समुदायमा फैलिँदै गएको बताएका छन् । कोभिड– १९ को संक्रमण रोक्न पर्याप्त कदम नचालेको र औषधि खरिदमा भएको अनियमिततामा सरकारले छानबिन नगरेको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

सरकारले स्रोत–साधनले भ्याएसम्म रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने, परीक्षण बढाउने, उपचारको व्यवस्था मिलाउनेलगायत काम गर्दै आए पनि ती सबै कामलाई चुनौती दिने प्रवृत्ति र मनोविज्ञान समाजमा हाबी हुँदै गएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकारीनिवास बालुवाटारमा सोमबार विज्ञ सरोकारवाला तथा मन्त्रीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री ओलीले आमनागरिकले नै सबैतिर सावधानी अपनाएर सरकारको कदमलाई पूर्ण रूपमा साथ नदिएसम्म जस्तोसुकै योजना बनाए पनि कोभिड– १९ को संक्रमण विस्तारलाई रोक्न नसकिने बताए ।

‘सुरु–सुरुमा विदेशबाट आएका मात्रै संक्रमित भेटिए, उनीहरू समुदायमा छिर्न थालेपछि समुदायमा विस्तार हुँदै गयो । त्यसैले आपसी सम्पर्कमै सावधानी नअपनाएपछि जतिसुकै योजना बनाए पनि रोकथाम र नियन्त्रण गर्न सकिँदैन । बल प्रयोग गरेर मात्र नियन्त्रण हुँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका एक सल्लाहकारले भने, ‘बल प्रयोग नगर्दा पनि धर छैन, निषेधाज्ञा जारी गर्‍यो, त्यसरी मात्र नियन्त्रण हुन्छ ? अब देखाई दिनुपर्छ भन्ने मनोविज्ञान देखिँदै गएको छ । त्यसैले सकारात्मक काममा सबैले सहयोग गर्ने सोचको विकास र त्यस्तै व्यवहार नदेखिएसम्म नियन्त्रण गर्न कठिनाइ छ ।’ सरकारमाथि परीक्षणको दायरा बढाउन नसकेको पनि आरोप छ ।

मिडियाले पनि सहयोग नगरेको आरोप

प्रधानमन्त्री ओलीले मिडियाको भूमिका प्रतिपक्ष हुने कुरा स्वाभाविक भए पनि हरेक कुरामा नकारात्मकता मात्रै खोज्नुपर्छ र प्रतिपक्षमै रहनुपर्छ भन्ने मनोविज्ञान रहेकाले पनि कोभिड– १९ जस्तो भाइरसविरुद्धको लडाइँमा समस्या भएको भनाइ पनि राखेका थिए ।

‘अन्त (विदेश) मा त्यस्तो छैन, कोभिड– १९ को रोकथाम–नियन्त्रणमा मिडिया सरकारको साथमा छ, तर हामीकहाँ विरोध मात्रै गर्ने कतिपयको जुन मनोविज्ञान छ, मिडियाको पनि त्यस्तै मनोविज्ञान छ ।

कतिपय मिडियाले प्रतिपक्षीय भूमिकाका नाममा सरकारले गरेका राम्रा काम ढाकछोप गरेर नकारात्मकता मात्र फैलाउने प्रतिपक्षीय मनोविज्ञानसाथ काम गरेका छन् । यसले आममान्छेमा त्रास र नकारात्मक मनोविज्ञानको विकास र रोगको फैलावटलाई पनि भयावह बनाउला कि भन्ने अवस्था छ,’ प्रधानमन्त्रीको भनाइ थियो ।

छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा डा. अर्जुन कार्कीलगायत करिब एक दर्जन विज्ञ सरोकारवाला सहभागी थिए ।

विज्ञहरूले निषेधाज्ञासँगै भिडभाड र सम्पर्कबाट रोक्ने गरी स्वअनुशासनका लागि जागरण चलाउनुपर्नेमा जोड दिएका थिए । परीक्षणको दायरा बढाउँदा पनि रोगको निदान नहुने भएकाले सावधानीका लागि राष्ट्रिय जागरणका लागि जोड दिनुपर्ने उनीहरूको भनाइ थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७