सचिवालय वैठकअघि नै मन्त्रिमण्डल हेरफेर गर्दै प्रधानमन्त्री, तीन भन्दा बढी मन्त्री थप्न नसकिने


१९ भाद्र २०७७, शुक्रबार
kp oli2020 07 11 05 55 25

काठमाडौं, १९ भदौं । प्रधानमन्त्री केपी ओलीले आउँदो साताभित्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् ।

पार्टीभित्रको विवादले निकै अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीको कार्यदलले सुरक्षित गराएसँगै मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने अवस्था आइलगेको छ । प्रधानमन्त्री आउँदो साताभित्रै मन्त्रिमण्डल हेरफेरको सोंचमा रहेको स्रोतले जानकारी दिएको छ । पार्टीभित्रको गुटगत भागबण्डा मिलाउनदेखि कार्य सम्पादनको अवस्था समेतलाई मूल्याङ्कन गर्दै प्रधानमन्त्रीलाई मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता परेको हो ।

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालद्वारा गठित ६ सदस्यीय कार्यदलका अधिकांश सदस्य मन्त्री बन्ने दौडमा छन् । पार्टीभित्र गुटको स्वार्थलाई मिलाउन पनि प्रधानमन्त्रीलाई मन्त्रिमण्डल हेरफेर गर्न बाध्य बनाएको छ । कोरोना संक्रमणको डरले तत्काल स्थायी कमिटी बैठक बस्न नसक्ने अवस्थामा मन्त्रिमण्डल पुनर्गठन त्यस अगावै हुने ओली निकट नेताहरु बताउँछन् ।

वर्तमानमै ओली मन्त्रिमण्डलमा केही मुख्य मन्त्रालय मन्त्रीविहीन छ । राष्ट्रिय सभामा वामदेव गौतमलाई लैजाने निर्णयसँगै अर्थ मन्त्रालय खाली हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रिय सभामा पुनर्नियुक्ति गर्न नसकेपछि ओली नयाँ अर्थमन्त्रीको खोजी छन् ।

विहीबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि आज (शुक्रबार) बाट अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिंदै छन् । । अब खतिवडाले सम्हालेका दुई वटा मन्त्रालय खाली हुँदैछन् ।

वर्तमान संविधानले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री समेत गरी २५ जनाभन्दा बढी राख्न नमिल्ने सीमा निर्धारण गरेको छ । अहिलेको मन्त्रिपरिषदमा तीन राज्यमन्त्री समेत २३ जना छन् । अब युवराज खतिवडा बाहिरिएपछि २२ जना मात्र हुनेछन् । यो अवस्थामा ३ जनाभन्दा बढी मन्त्री थप्ने ठाउँ छैन । मन्त्रालय पनि अर्थ, सञ्चार र शहरी विकास गरी तीनवटा मात्रै खाली रहने छन् ।

प्रधानमन्त्री ओलीले आगामी साताभित्र मन्त्रीहरुको अदली–बदली गर्ने सम्भावना रहेको नेकपा नेताहरु बताउँछन् । अहिले शहरी विकास मन्त्रालय भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले नै सम्हालिरहेको अवस्था छ भने अर्थ र सञ्चार दुईवटा मन्त्रालय खाली हुँदैछन् ।

त्यसो त तीन जना राज्यमन्त्रीहरु, मोतीलाल दुगड (उद्योग), नवराज राउत (स्वास्थ्य) र रामवीर मानन्धर (शहरी विकास) लाई विदा गर्ने हो भने प्रधानमन्त्री ओलीले थप तीनजना गरी ६ जना फूल मन्त्री बनाउने कोटा तयार हुन सक्छ ।

तर, मन्त्रालयको संख्या नपुग्ने भएकाले केही मन्त्रालयहरु फुटाउनुपर्ने हुन्छ । तीन भन्दा बढी मन्त्रीहरु राख्नका लागि मन्त्रालय फुटाउनुपर्ने हुन्छ । जसो गरे पनि संविधानतः राज्यमन्त्री समेत २५ भन्दा बढी बनाउन मिल्दैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७