हेलम्बुमा पाँच करोड ३९ लाख लागतमा ‘बञ्जी जम्प’


२२ भाद्र २०७७, सोमबार
bungeee.nepal yhASkj7vbJ

सिन्धुपाल्चोक, २२ भदौं । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार उमा–थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भएको छ ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट गएको असार महिनामा १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको ठेकेदार नरहरि खडकाले बताए । उनका अनुसार हाल कोरोना भाइरसका कारण देशैभरी निषेधाज्ञा जारी भएकोले आगामी दशैंपछि मात्र काम शुरु गरिने कार्यक्रम रहेको छ ।

बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आफू निर्वाचित भएर आएदेखि यस ठाउँमा बञ्जीको निर्माण गर्ने परिकल्पना गरेको र अब त्यसले साकार रुप लिन लागेको अध्यक्ष शेर्पाको भनाइ छ ।

धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको हेलम्बुमा पर्यटकलाई आकर्षित गराउने उद्देश्यले चीनको ग्रेटवालको झल्को दिने खालको कूल ६० किलोमिटर हिमालय ग्रेट ट्रेलको (पदमार्ग) समेत गत वर्षदेखि निर्माण कार्य शुरु गरिएको छ ।

बञ्जीको लागि गाउँपालिकाले गत वर्ष डा. एनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ ।

निर्माण गरिने झोलुङ्गे पुलले स्थानीय पाङगाङमा र धवागाङ दुई वटा गाउँलाई जोड्छ । पुल तयार भएपछि एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदैं आएको झण्डै पाँच घण्टाको समयमा उल्लेखनीय कमी आउने र उकाली ओरालीको कष्टकर यात्रासमेत हटने गाउँपालिकाका सव-इन्जिनीयर शेरबहादुर राईले बताए ।

झोलुङ्गे पुल तयार भएपछि बञ्जी जम्पको कामको थालनी हुने गाउँपालिकाले जनाएको छ । पुल तयार भएपछि त्यहाँस्थित सेमी सिताङ हिमालका साथै नजिकै रहेको मेलम्ची खानेपानी आयोजनाको अम्वाथानस्थित मुहान क्षेत्रको समेत अवलोकन गर्न सहज हुने अध्यक्ष शेर्पाको भनाइ छ ।

कूल १६० मिटर उचाइको बञ्जी जम्प २०५६ सालदेखि जिल्लाको भोटेकोशी नदीमा सञ्चालन हुँदै आएको छ । अब बन्ने बञ्जी भोटेकोशीको भन्दा १३ मिटर बढी उचाइको हुने छ । गहिरो खोचमा रहेकाले रोमाञ्चकको दृष्टिकोणले भोटेकोशीको बञ्जीलाई उत्कृष्ट मानिएको द लाष्ट रिर्सोट प्रालिका सञ्चालक तथा बञ्जी जम्प व्यवस्थापक कुमार राउतले जानकारी दिए ।

त्यहाँदेखि विदेशी युव ायुवती तथा सिने कलाकार समेतले बञ्जी गरिसकेका छन् । २०७४ सालदेखि प्रहरी अधिकृतलाई पनि अनिवार्य गरिएको छ । गतवर्ष पनि प्रहरी निरीक्षकको आधारभूतसेवा प्रवेश तालीमको सिलसिलामा राष्ट्रिय प्रहरी प्रतिष्ठानले १४ महिलासहित १२० जनालाई बञ्जी जम्प गराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७