प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक निकाय रिक्त भयो : कांग्रेस


३१ भाद्र २०७७, बुधबार
bishwoprakash

काठमाडौं, ३१ भदौं । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण संवैधानिक निकाय रित्तो भएको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लामो समयसम्म रिक्त संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने बताएका छन् ।

राम्रा कामहरुको जस सरकारले लिन खोज्नु स्वभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका र नगरेका कामहरुमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृति प्रधानमन्त्री ओलीमा रहेको उनले आरोप लगाएका छन् । उनले ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा अग्रसरता बढाइरहेको बताए ।

१३ वटा संवैधानिक आयोगमध्ये अहिले १० वटा आयोगमा ३९ पद रिक्त छन् । प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेका कारण पदपूर्तिमा ढिलाइ भइरहेको भन्दै प्रचार भइरहेका बेला शर्माले लामो समयसम्म प्रदेशहरुको नामाकरण समेत गर्न नसक्ने सत्तारुढ दलले संवैधानिक निकायमा प्रतिपक्षीका कारण पदपूर्ति गर्न नसकिएको भनेर प्रचार गर्न नहुने उनले बताए ।

शर्माले भने, ‘प्रदेशहरुको नामाकरण हुन सकेको छैन । नेकपाकै सरकार छ खै त अहिलेसम्म नामाकरण भएको ? धेरै विश्व विद्यालयमा नेतृत्व खाली छ । धेरै संवैधानिक निकायको पद खाली छ । त्यो निर्णय गर्ने संवैधानिक परिषदमा फरक फरक क्षेत्रको प्रतिनिधित्व भएपनि सत्तारुढ दल निकटकाहरुको नै बहुमत छ । त्यसैले प्रतिपक्षीका कारण यो निर्णय भएन भन्ने दोष लगाउने कुरा गलत हो ।’

अहिलेसम्म पनि मधेशी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन् । यी आयोगमा अध्यक्षसहित ४ जना अन्य पदाधिकारी रहने व्यवस्था रहेको छ । कुनै पनि नियुक्ति गर्दा हामीलाई यो पद दिनुपर्छ भनेर बिन्ती नचढाएको उनले बताए । संवैधानिक परिषदको व्यवस्था अनुसार राज्यका महत्वपूर्ण अंगहरुमा नेतृत्व चयन गर्दा सबैको साझा स्वामीत्व हुनुपर्छ भन्ने धारणा कांग्रेसको भए पनि आफूहरुले पदका लागि कुनै बार्गेनिङ नगरेको उनले प्रष्ट पारे ।

व्यक्तिको योग्यता, क्षमता र मर्यादा कस्तो हुनुपर्छ भन्ने कुरामा कांग्रेसले प्रष्ट धारणा राख्ने भएपनि यो पद दिनैपर्छ नभए निर्णय गर्न दिँदैनौ भनेर आफूहरुले नभनेको उनको भनाइ छ ।

विभिन्न आयोगहरुमा नियुक्त भएका पदाधिकारीहरुले समेत राजीनामा दिएर गएको अवस्था छ । कतिपय आयोगहरुमा कार्यकाल सकिएर पद खाली छ । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएपछि कोही पनि नियुक्त भएका छैनन् । प्राकृतिक वित्त आयोगमा बालानन्द पौडेल अध्यक्ष नियुत्त भए पनि चार सदस्य रिक्त छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त छैनन् । त्यहाँ प्रमुख आयुक्त पद पनि खाली छ । आइतबार नवीन घिमिरेको कार्यकाल सकिएपछि पद खाली रहेको हो । आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजीनामा दिएका थिए ।

निर्वाचन आयोगमा इला शर्मा र सुधीर शाहको कार्यकाल सकिएपछि कोही पनि नियुक्ति भएका छैनन् । प्रवक्ता शर्माले यतिका आयोग पदाधिकारीविहिन हुँदा पनि ध्यान पुर्‍याउन नसकेको सरकारले अहिलेको महामारीसँग पनि जुध्न नसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७