प्रेमप्रसाद सञ्जेल फेरि चर्चामा, भन्छन्, ‘भ्रष्टाचारीको दोहोलो काढ्छु’


प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ००:००

काठमाडौं, ३१ भदौं । विराटनगर निवासी नेपाल सरकारका कर्मचारी प्रेमप्रसाद सञ्जेल फेरि चर्चामा छन् ।

अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल सकिएर आइतबार बिदा भएपछि प्रमुख आयुक्तमा सञ्जेललाई नियुक्त गर्नुपर्छ भन्दै एकथरीले सामाजिक सञ्जाल रंगाएका छन् । श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएको दुई महिनामै काज सरुवा भएपछि मन्त्री र सचिवलाई खुला चुनौती दिँदै बदर गराउन पत्रकार सम्मेलन गरेर उनी एकाएक चर्चामा आएका थिए ।

अहिले भन्न थालेका छन्– हाम्रो देशमा अस्तिको तारिख पर्सी दिएर पाँच रुपैयाँ खाने कर्मचारी छन् । म जापानमा पढेर आएको, दिमाग, कार्यप्रवृत्ति अनि शरीरमा जापानी सेवा सवार छ । मलाई सेवाग्राही आउने बित्तिकै ऊ किन आएको हो र उसको काम किन हुन सक्दैन भनेर तुरुन्तै भनिदिनु पर्छ ।

नहुने भए कसैलाई चिया, नास्ता घुस खुवाएर नबस्नोस्, बीस वर्ष धाए पनि हुँदैन, कानुनले मिल्दैन भनेर प्रष्ट भनिदिनु पर्छ । मान्छेले झुलाएर न घुस खाने हो ! घुस्याहा कर्मचारीलाई यो काम गर भनेर दबाब नदिए कसलाई दिने त ’ पाँच मिनेटको कामलाई घण्टौं लगाएपछि किन भएन भनेर सोध्न पाउने कि नपाउने ?

मलाई त कम्प्युटर, प्रिन्टर, गाडी, साइकल, कलम चलाउनदेखि दर्ता चलानी गर्न सबै आउँछ, यसैले कसैलाई पर्खिन्न, आफैं गरिदिन्छु । पाँच मिनेटको कामलाई ४५ मिनेट लगाएपछि सहने कुरा आउँदैन । म रोगी, मुढी, सन्की जस्तो काम नलाग्ने भएको भए नेपाल सरकारले ४० वर्ष किन जागिर दिने, पहिले नै खारेज गरिदिएको भए हुन्थ्यो ।

मलाई ०३८ साल कात्तिक २८ गते जाँच लिएर सरकारी सेवामा पहिलो नियुक्ति दिने न्यायाधीश काठमाडौं घट्टेकुलोमा बस्नु हुन्छ । जागिरको दौरान एक लाख ६ सय ३२ जना कर्मचारीसँग म बसिसकें । ती कर्मचारी कसैले प्रेम सञ्जेलले यो अड्डामा काम गर्दा यसरी घुस खायो भनिदिए हुने थियो ।

मैले एउटै अडामा सात वर्ष काम गरें । अर्बौं बजेट भएको शान्ति मन्त्रालयमा प्रवक्ता भएर बस्दा लाखौँ कमाउन सक्थें होला तर सरुवा–बढुवामा घुस खान खोज्दा सचिवलाई नै भकुरें । मलाई फेन्टा, फ्रुटी, पेप्सीकोला जसले खुवाउला त्यसका बाउको र बाउ नभए आमाको रगत होला । बाबुआमा दुवै नभए खुवाउनेकै रगत होला भनेर सेवा प्रवेश गरेको मान्छे मैले त्योभन्दा सस्तो चिज त के खाएँ होला र त्यो नै म खान्न भने घुस खाने त प्रश्नै आउँदैन ।

घुस नखाने, ड्याङ ड्याङ भन्ने हुनाले मलाई पहिलेदेखि नै खुस्केट मात्र हैन पागल भन्थे । म तेह्रथुममा शिक्षा कार्यालयमा काम गर्दा पाँच सय २१ शिक्षकको जागिर खुलेको थियो । त्यो बेला फोटोकपी थिएन । आफ्नै हातले, मसी खाने पेनले प्रश्नपत्र लेखेको थिएँ ।

त्यो बेला मेरो आफ्नै कान्छो सालो फेल भएको थियो । ऊ मसँग आजसम्म बोलेको छैन । उसले मलाई भिनाजुले ट्युसन पढाइदिएको भए हुन्थ्यो भन्ने चाहेको थियो तर मैले भ्याइनँ । त्यही बेला मलाई पाँच लाख घुस खान भनेका थिए, मानिनँ । र, मलाई त्यहीबेलादेखि पागल भन्न थालेका हुन्, ‘खुस्केट’ त अलि इज्जतिलो शब्द भयो ।

मेरो बोली अलि तीतो र छुच्चो छ । विदेशसँग सन्धि गर्नुपर्‍यो भने अक्षरदेखि कमासम्मको मस्यौदा लेख्ने भनेकै हामी कर्मचारी हो । सन्धिमा यसो भयो, उसो भयो भनेर राजनीतिज्ञको बदख्वाइँ त गर्छौं तर खेस्रा गर्दा यहाँनेर नराम्रो छ, राष्ट्रहितमा छैन भनेर हामीले किन नभन्ने ? कर्मचारी ठीक भएको भए नेता, नेता ठीक भएको भए कर्मचारी तलमाथि सर्न सक्ने थिएनन् । सबै नेता–कर्मचारी खराब छन् भन्दिनँ तर हाम्रो दुर्भाग्य, सबै नेता घुस र कर्मचारी कमिसन खाने भए ।

हुम्ला जुम्ला, ताप्लेजुङमा जनताले राम्रो काम गर्नुभयो धन्यवाद भन्दा गाली गर्थें तर खुल्न सक्दिनँ थे ! अहिले त आदरसाथ कार्यक्रममा बोलाउँछन्, सेल्फी खिच्न रुचाउँछन् । मलाई भ्याई नभ्याई छ । मास्क लगाएर, झोलामा बिस्कुट बोकेर हिँड्न थालेको छु ।

मेरो बाजेले भन्थे रे, भैंसी गोठालाको हित गर्ने हो भने लैनो, थारे, लाहुरे, गुजराती, कण्ठे जे भए पनि एउटैले हुन्छ । कर्मचारीको हित गर्न पनि एउटै संगठनले पुग्छ । निजामती कर्मचारी संगठन मात्र भएका बेला म राष्ट्रिय पार्षद् बनें । त्यो बेला संगठन दुई पार्टी भएर फुट्यो । मलाई कार्यकाल पूरा गर्न सकस भयो ।

त्यसपछि मण्डलेको विरुद्ध बोल्दा ७ सय रुपैयाँ धरौटी राखिदिने मान्छे नभएर म जेलमा सडिएको छु । ०३६ सालअगाडि मण्डलेविरुद्ध लाग्दा खानु सास्ती पाइएकै हो । अहिले आएर तिनै हिमायतीले मलाई मण्डले भन्छन् भने कसैलाई केही भन्नु छैन । म मण्डले हैन राष्ट्रसेवक हुँ ।

मैले भ्रष्टाचार निवारणका लागि ६ पेजको कार्यपत्र बुझाएको छु । र, प्रमुख आयुक्तका लागि २०६९ मा दरखास्त दिएको थिएँ । स्नातकोत्तर छु, ४० वर्ष सेवा गरिसकेको छु, भ्रष्टाचार गरेको छैन, प्रष्ट दृष्टिकोण छ । त्यो बेला पनि प्रमुखबाहेक माइलो, साइँलो आयुक्त खान्नँ भनेर दरखास्त हालेको थिएँ । प्रेम सञ्जेल अख्तियार प्रमुख भयो भन्ने समाचार आयो मात्रै भने पनि १० प्रतिशत भ्रष्टाचारीले कि देश कि त भ्रष्टाचार छाड्छन् ।

घुस्याहा बोलीमा एकदम राम्रा, मजस्तो तीतो बोल्दै नबोल्ने हुन्छन्, ब्वाँसाले पहिले भेडालाई काखमा राखेर कन्याउँछ । भेडोचाहिँ ब्वाँसोले मलाई माया गर्‍यो भन्दै मख्ख परेर सुतिदिन्छ । तर, यही मौका छोपेर व्बाँसोले आन्द्राभुँडी एकै तालमा निकालिदिन्छ र ठहरै मारिदिन्छ ।

त्यस्तै, मीठो बोल्ने, मृदुभाषी घुस खाइसकेपछि कर छल्न पनि सिकाइ दिनेहरू नै भ्रष्टाचारी हुन् । भ्रष्टहरूको ६ वटा नाम हुन्छ, घुस्याहा, छुल्याहा, रक्स्याहा, कप्ट्याहा, भुस्याहा, जँड्याहा । सावधान हुनुहोस् यिनले काखमा राखेर घाँटी सेर्छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्