कोभिड संकटमा पनि नेपालमा अझै १० हजार विदेशी


३ आश्विन २०७७, शनिबार
1573126088 tourist Tanahu
फाइल फोटो

काठमाडौं, ३ असोज । कोरोना महामारीबीच पनि नेपालमा अझै ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार हाल करिब १० हजार विदेशी (भारतीय बाहेक) नागरिक नेपालमा बस्दै आएका छन् । नेपाल बसेकामा सबैभन्दा धेरै नेपालीभाषी विदेशी र चिनियाँ नागरिक छन् । पोखरालगायत ठाउँमा बसिररहेका उनीहरू आफूलाई नेपाल नै सुरक्षित लागेको बताउँछन् ।

हाल नेपालमा रहेका विदेशीमध्ये धेरै बिजनेस तथा गैरपर्यटक भिसामा रहेको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । ‘यो वर्ष जनवरीयता करिब २५ हजार विदेशी नेपाल आएको देखिन्छ, त्यसमध्ये करिब १५ हजार फर्किएका छन् । १० हजार अझै नेपालमा बसिरहेको हाम्रो अनुमान छ,’ निर्देशक तिवारीले भने । कतिपय विदेशी अहिले पनि भिसा थप्न अध्यागमन विभाग गइरहेका छन् ।

१० हजारमध्ये धेरै ‘बिजनेस भिसा’मा आएकामध्येका छन् । त्यस्तै ‘रिलेसन भिसा’ मा बस्नेको संख्या पनि ठूलो रहेको विभागले जनाएको छ । ‘रिलेसन भिसा’ मा बस्नेमा धेरैजसो नेपालीभाषी छन् । एक हजारको हाराहारीमा भने पर्यटक भिसामै आएका विदेशी रहेको विभागको आंकलन छ ।

विभागका अनुसार सन् २०१९ मा नेपालमा १६ हजार आठ सय विदेशीले बिजनेस तथा गैरपर्यटक भिसा लिएका थिए । त्यसमध्ये आधाजसो अझै नेपालमा रहेको र केही फर्कने क्रममा छन् । दुई साताअघि अन्तर्राष्ट्रिय उडान खुलेपछि केही विदेशी फर्कन थालेको निर्देशक तिवारीले बताए । कतिपय विदेशी नागरिकलाई सम्बन्धित मुलुकले कोरोनकै बीचमा उद्धार गरेका थिए ।

नेपालको अध्यागमनको ‘डाटा सिस्टम’ यति कमजोर छ कि देशमा आएका विदेशी कति छन् र कति फर्किए भन्ने ठ्याक्कै तथ्यांक समेत छैन । केही महिनाअघि जडान भएको ‘नेपाली पोर्ट’ नामक ‘सफ्टवेयर सिस्टम’ जडान गरिएको थियो । नयाँ सफ्टवेयरले भने विस्तृत विवरण राख्ने निर्देशक तिवारीको भनाइ छ ।

नेपालमा ‘बिजनेस भिसा’ लिने विदेशीको संख्या मात्रै चार हजारभन्दा धेरै छ । सन् २०१९ मा अध्यागमन विभागले ७५ देशका चार हजार चार सय ६२ जना विदेशीलाई ‘बिजनेस भिसा’ जारी गरेको थियो । त्यसरी ‘बिजनेस भिसा’ लिनेमध्ये केही फर्किए पनि अधिकांश नेपालमै छन् ।

नेपालमा ‘बिजनेस भिसा’ लिएर बस्नेमा सबैभन्दा धेरै चिनियाँ छन् । २०१९ मा दुई हजार सात सय १३ चिनियाँले बिजनेस भिसा लिएका छन् । दोस्रोमा दक्षिण कोरिया र तेस्रोमा अमेरिकी छन् ।

दक्षिण कोरियामा चार सय ८४ तथा अमेरिकाका तीन सय ८८ जनाले गत वर्षमा नेपालमा ‘बिजनेस भिसा’ लिएका थिए । जापानका एक सय २१, अमेरिकाका ५१, अस्ट्रेलियाका ४७, जर्मनीका ७३, फ्रान्सका ५१, मलेसियाका ४४ र बंगलादेशका ३७ जनाले ‘बिजनेस भिसा’ लिएका छन् ।

नेपाली मूलका विदेशीले भने रिलेसन भिसा लिने गर्छन् । परिवारको कोही सदस्य नेपाली भएकामा रिलेसन भिसा पाउने प्रावधान छ । रिलेसन भिसाको अवधि एक वर्ष हुन्छ । पर्यटक भने एक वर्षमा बढीमा एक सय ५० दिन मात्र बस्न पाउँछन् । अमेरिकासँग भने भिसा पारस्पारिकता रहेकाले एक वर्षमा एक सय ६० दिनसम्म बस्न पाउने सुविधा छ ।

बिजनेसबाहेक अन्य प्रकारको वर्ष गैरपर्यटक भिसा लिनेमा भने अमेरिकी धेरै छन् । तीन हजार दुई सय २९ अमेरिकीले गैरपर्यटक भिसा लिएका छन् । गैरपर्यटक भिसामा रिलेसन, अध्ययन, एनआरएन, आवासीय, वैवाहिक, कामदार र डिपेन्डेन्ट पर्छन् । अमेरिकी नागरिकले धेरै रिलेसन भिसा लिएका छन् । यसमा अमेरिका, अस्ट्रेलियालगायत मुलुक गएर उतैको पासपोर्ट लिने धेरै छन् ।

सन् २०१९ मा अमेरिकाका दुई हजार दुई सय ८७, बेलायतका सात सय १२, अस्ट्रेलियाका ६ सय २४ जनाले ‘रिलेसन भिसा’ लिएको र त्यसमध्ये धेरैजसो नेपालमै रहेको विभागले जनाएको छ । एक सय सातजना चिनियाँले पनि रिलेसन भिसा लिएका छन् ।

वर्किङ भिसा लिनेमा चिनियाँ पहिलो स्थानमा छन् । एक हजार सात सय ९२ चिनियाँले गत वर्ष वर्किङ भिसा लिएकोमा अहिले पनि उनीहरूको भिसा निरन्तर छ । अमेरिकाका ८३ जना नेपालमा वर्किङ भिसामा छन् । विद्यार्थी भिसामा चार सय १२ जना चिनियाँ, दुई सय ५३ जना दक्षिण कोरियन, एक सय ९५ जना अमेरिकी, एक सय ४० बेलायती र एक सय १२ श्रीलंकाली नागरिक छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७