पूर्व डिआइजी नवराज सिलवाल ललितपुरबाट चुनाव लड्ने निश्चित


२३ आश्विन २०७४, सोमबार
Nawaraj Silwal

ललितपुर : नेकपा (एमाले) जिल्ला कमिटि ललितपुरले प्रदेश तथा प्रतिनिधि सभाका लागि सम्भावित उम्मेदवारको सूची तयार पारेको छ । आसन्न मंसिर २१ मा हुने निर्वाचनका लागि पार्टी स्थायी कमिटिको निर्देशनअनुसार शनिवार जिल्ला कमिटि वैठक बसी उम्मेदवार सिफारिस गरेको हो ।

Nawaraj Silwal

पूर्व डीआइजी नवराज सिलवाललाई प्रतिनिधिसभाको लागि क्षेत्र न.१ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका छन् । वैठकले निर्वाचन क्षेत्र नं १ मा क्षेत्र तथा प्रदेश एवम् शाखा कमिटिहरुको मागका आधारमा भर्खरै पार्टी प्रवेश गरेका सिलवाललाई उम्मेदवारको लागि सिफारिस गरिएको हो । सिलवालले नेपाल प्रहरीको डीआईजीबाट दिएको राजीनामा स्वीकृत भएको छ । गृहमन्त्री जनादर्न शर्मा प्रभाकरले शुक्रबारकै मिति राखेर उनको राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ ।

आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेपछि सिलवालले राजीनामा दिएका थिए । तर, लामो स्वीकृत भएको थिएन । राजीनामा स्वीकृत नभएकै अवस्थामा उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका थिए । यो सँगै उनलाई उम्मेदवार बन्न सहज पनि बनेको छ । राजीनामा स्वीकृत भएपछि सिलवालको उम्मेदवारी प्राय निश्चित भएको जिल्ला कमिटिका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताए ।

यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिको वैठकको सुझावस्वरुप मधुसूदन पौडेल, पुरुषोत्तम हुमागाई र श्याममायाँ कार्कीको नाम सिफारिस गर्ने निर्णय भएको छ । यस्तै निर्वाचन क्षेत्र नं २ मा क्षेत्रीय कमिटिको सुझाव अनुसार कृष्णलाल महर्जनको नाम सर्बसम्मत सिफारिस गरेको छ ।  निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशिला नेपालको नाम सर्बसम्मत सिफारिस गरेको छ ।

वैठकले प्रदेश सभा सदस्यका लागि पनि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । १ नं निर्वाचन क्षेत्रको क प्रदेश (महाँकाल गोदावरी)को लागि उमेश शर्मा बजगाई, पुरुषोत्तम आचार्य र कमलकुमारी श्रेष्ठको नाम सिफारिस गरिएको छ । ख प्रदेश (वागमती गोदावरी) को लागि चेतनाथ सञ्जेल, रामकृष्ण हुमागाई र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।

यस्तै २ नं निर्वाचन क्षेत्रको क प्रदेशतर्फ केन्द्रीय निर्वाचन आयोग सचिव माधव पौडेलको नाम सिफारिस गरिएको छ । यस्तै २ (ख) को लागि अष्टवीर व्यञ्जनकार, श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ (क) को लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । यस्तै ३(ख) को लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापामगर, स्वयम्भुराज डंगोल, सुकुमायाँ लामा, हरिकृष्ण थापाको नाम सिफारिस गरिएको  तिमल्सिनाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७