‘शंका लागेको दुई सातासम्म लक्षण नदेखिए कोराना परीक्षण गर्नु पर्दैन’


११ आश्विन २०७७, आईतवार
Health 1

काठमाडौं, ११ असोज । यात्रा गर्ने बित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ ।

संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छ–छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे ।

तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भने चाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे ।

लकडाउन खुले लगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यका भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र त्यसका लागि सर्वसाधारणले दुःख पाएको भन्दै स्वास्थ्य मन्त्रालयले राजधानी भित्रने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको २ सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे ।

नियमित पत्रकार सम्मेलनअन्तर्गत शनिबार उनले भने, ‘कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७