फस्टायो मास्कको व्यापार, मास्कले बनायो महिलालाई रोजगार


१३ आश्विन २०७७, मंगलवार
mask scaled
b???????????

बनेपा, १३ असोज । धुलिखेल नगरपालिका-६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त छिन् । बिहानदेखि बेलुकासम्ममा उनले करिब ७०-८० सम्म मास्क सिलाउँछिन् । एक हप्ता अगाडिदेखि उनले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आएकी छन् ।

यसअघि उनले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्थिन् । पछिल्लो समयमा कोरोना कोभिड-१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागेकी हुन् ।

धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उनी मास्क सिलाउने काममा व्यस्त छिन् । पहिला पनि सिलाइ नै गरिरहेकी उनले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताइन् ।

धुलिखेल नगरपालिका-७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्छिन् । सबै जनाले एक हप्ताको तालीम लिएपछि निरन्तर मास्क सिलाइको काममा लाग्दै आएको उनले बताइन् । शुरुमा दिनको दुई-तीन सय उत्पादन भएको थियो । अहिले पाँच सयदेखि ५५० पिससम्म उत्पादन भएको छ ।

उत्पादन भएको मास्क अस्पताल र अन्य ठाउँमा बिक्री गर्ने गर्छिन् । उनले भनिन्, ‘निरन्तर रुपमा १३ जनाले काम गर्दै आउनु भएको छ ।’ धुलिखेल नगरपालिकाभित्रका विभिन्न वडाका महिला बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइमा व्यस्त छन् । बिहान बेलुका घरको काम गर्ने र दिउँसो मास्क सिलाइ गरेर आम्दनी गर्दै आएको उनहरुको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्ने कार्यलाई अगाडि बढाएपछि अहिले उनी जस्तै १३ जना महिला निरन्तर सो काममा लागिरहेका छन् । त्यसको लागि आवश्यक व्यवस्थापन धुलिखेल उद्योग वाणिज्य सङ्घले गरिरहेको छ । उनीहरुले सर्जिकल मास्क र एन ९५ गरी दुई थरिको मास्क उत्पादन गरिरहेका छन् । मागको आधारमा काम गर्ने उनीहरुले कहिले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) त कहिले मास्क सिलाइ गर्दै आएका छन् ।

धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष मञ्जुकुमार कोजूले कोरोनाका कारण मास्कको माग धेरै भएपछि आफ्नै स्थानीय उत्पादनबाट रोजगार पनि हुने र समयको पनि सही सदुपयोग हुने भएकाले मास्क उत्पादन कार्यलाई व्यवस्थापन गर्दै आएको बताए ।

उत्पादन भएका बस्तु काठमाडौँ विश्वविद्यालय र अस्तापलले खरिद गर्ने सहमति गरेपछि अहिले उत्पादन भएको पिपिइ र मास्क काठमाडौँ विश्वविद्यालयले नै खरिद गर्दै आएको उनले बताए ।

त्यसबाहेक बढी उत्पादन भएको बस्तुलाई केयू, रोटरी क्लब अफ धुलिखेल र उद्योग वाणिज्य सङ्घको सहकार्यमा नै बजारीकरण गर्ने सहमति भएकाले उत्पादन भएको सामग्री बिक्री नभइ समस्या आउने अवस्था नरहेको अध्यक्ष कोजुले बताए ।

होटल, विद्यालयलगायत सङ्घ-संस्थासँग सहकार्य गरेर उत्पादन भएको वस्तुलाई बजारीकरणका लागि कुनै समस्या नहुने उनको भनाइ छ । त्यसको लागि बजारमा प्रतिस्पर्धाको रुपमा जानसक्ने गरी काम गर्न वाणिज्य सङ्घले आवश्यक समन्वयको काम गरिरहेको छ ।

अहिलेसम्म कच्चापदार्थ काठमाडौँ विश्वविद्यालयले उपलब्ध गराउँदै आएको छ । यसअघि पनि सङ्घले मासिक रु नौ हजार तलब दिएर स्यानेटरी प्याड उत्पादन गर्दै आएको थियो । अहिले भने मासिक तलब निर्धारण गर्न बाँकी रहेको सङ्घले जनाएको छ । महिलाको रोजगारीलाई निरन्तरता दिनका लागि अब भोलिको दिनमा एप्रोन, विद्यालयका पोशाकसमेत सिलाइ गर्ने उद्देश्य रहेको सङ्घका अध्यक्ष कोजुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७