६ महिनापछि क्रमशः विद्यालय फर्कंदै विद्यार्थी, पढाइ थालेका विद्यालयमा जोर-बिजोर रोल नम्बरका आधारमा उपस्थिति


१७ आश्विन २०७७, शनिबार
Tanahu school anugaman.jpg .2020 10 03

काठमाडौं, १७ असोज । कोरोना संक्रमणका कारण ६ महिनादेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । वैकल्पिक विधिबाट सञ्चालित कक्षा प्रभावकारी नभएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका स्थानीय तहले सुरक्षा सावधानी अपनाउँदै कक्षा सञ्चालन गर्ने निणर्य गर्न थालेका हुन् । विद्यालयले भौतिक दूरी कायम गर्दै स-सानो समूह र सिफ्टमा पठनपाठन गर्न थालेका छन् ।

शिक्षा मन्त्रालयले चैत मसान्तमा शैक्षिक सत्रको अन्त्य गर्ने बताइसकेको छ । जसका कारण लामो समयदेखि पठनपाठन नभएका ग्रामीण क्षेत्रका विद्यालय विभिन्न विकल्प प्रयोग गर्दै कक्षा सञ्चालन गर्ने दबाबमा छन् । काठमाडौंको काँठ क्षेत्रका धेरै स्थानीय तहले कक्षा सञ्चालन गरिसकेका छन् । त्यस्तै, काठमाडौंबाहिर पनि ग्रामीण भेगका विद्यालय धमाधम खुल्न थालेका छन् ।

यद्यपि, विद्यालय सञ्चालन गर्ने विषयमा संघीय सरकारले कुनै निणर्य गरेको छैन । तर, ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’मा आधुनिक प्रविधिको पहुँचबाहिर रहेका विद्यार्थीलाई भौतिक दूरी कायम गरी सिकाइ केन्द्र वा विद्यालयमा सिकाउन सक्ने व्यवस्था छ । यही व्यवस्थामा टेकेर स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निणर्य गरिरहेका छन् ।

‘समुदायमा रहेका वा रहने सिकाइ केन्द्र वा विद्यालयमा आपसमा भौतिक दूरी कायम गरी बसाइ व्यवस्था मिलाएर पाठ्यपुस्तक, स्वअध्ययन वा छपाइ सामग्री प्रयोग गरी शिक्षक वा स्वयंसेवकमार्फत सिक्ने, सिकाउने व्यवस्था गर्ने,’ निर्देशिकामा भनिएको छ । निर्देशिकामा भौतिक पूर्वाधार र विद्यार्थी संख्याका आधारमा भौतिक दूरी कायम गर्दै कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने भूमिकासमेत तोकिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गत ६ चैतदेखि विद्यालय बन्द गर्ने निणर्य गरेका थियो । त्यसयता विद्यालय सञ्चालनमा थिएनन् । सरकारको १ असारदेखि वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने निणर्यपछि विद्यालयले अनलाइनदेखि रेडियोसम्मबाट कक्षा चलाएका थिए । तर, सहरी क्षेत्रभन्दा बाहिर त्यसको प्रभावकारिता देखिएन । किनभने अधिकांश विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । राजधानी काठमाडौंकै कतिपय ग्रामीण क्षेत्रमा समेत इन्टरनेट सुविधा छैन ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाभित्रका अधिकांश विद्यालय ११ असोजदेखि खुलेका छन् । नगरपालिकाको शिक्षा विभाग प्रमुख गोविन्द पौडेलका अनुसार पालिकाभित्रका १६ सामुदायिकमध्ये १४ विद्यालयमा शिक्षक-विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन हुन थालेको छ । तर, स्वास्थ्य सावधानी अपनाउन कठिन पर्ने भएकाले बाक्लो बस्ती भएका र सहरी क्षेत्रका विद्यालय खुलेका छैनन् । केही संस्थागत विद्यालय पनि स्वास्थ्य सावधानी अपनाउँदै सञ्चालनमा आएको पौडेलले बताए ।

काठमाडौंभित्र अनलाइन पहुँच नभएका इलाकामा वैकल्पिक विधिको पठनपाठन सफल नभएपछि अभिभावकको सहमतिमा विद्यालय खोलिएको पौडेलले बताए । ‘शिवपुरीनजिकै भरपर्दो इन्टरनेट सुविधा छैन,’ उनले भने, ‘विद्यार्थीको बसाइमा दूरी कायम गरी एउटा कक्षामा १० जनाभन्दा बढी नहुने गरी आलोपालो पढाइ भइरहेको छ ।

जोखिम बढी रहेका क्षेत्रमा भने स्कुल खुलेका छैनन् ।’ विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले स्यानिटाइजर, थर्मलगन, साबुनलगायत सामग्री उपलब्ध गराएको छ । पूर्वप्राथमिक तह भने सञ्चालनमा ल्याइएको छैन ।

काठमाडौंकै गोकणर्ेश्वर नगरपालिकाले पनि शुक्रबारदेखि विद्यालय सञ्चालन गरेको छ । वैकल्पिक विधिबाट सञ्चालित पढाइमा विद्यार्थी सहभागी नभएको र सम्पर्कमा समेत नआएका कारण कक्षाकोठामै पठनपाठन गराउनुको विकल्प नभएको नगरपालिकाको शिक्षा विभाग प्रमुख विजयप्रसाद आचार्यले बताए । गोकणर्ेश्वरका १६ मध्ये आठ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी छन् । नगरक्षेत्रमा करिब एक सय निजी विद्यालय पनि छन् ।

‘विद्यार्थी ६ महिनासम्म पनि विद्यालयको सम्पर्कमा आएनन् र अनलाइन कक्षा प्रभावकारी भएन । भविष्यमा पनि आउँछन् कि आउँदैनन् भन्ने निश्चित भएन,’ आचार्यले भने, ‘त्यसैले सुरक्षा सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्ने निणर्य गरेका हौँ ।’ कुनै कक्षा र समूह बनाएर विद्यालयमा एकपटकमा ५०-६० जना नहुने गरी कक्षा सञ्चालन हुने उनको भनाइ छ ।

काठमाडौंकै शंखरापुर नगरपालिकाले विद्यालयमै उपस्थितिलगायत विधि प्रयोग गरी शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । नगरपालिकाको बैठकले १० जनाभन्दा बढी विद्यार्थी राख्न नपाउने गरी ‘फेस टु फेस’ मोडेलमा विभिन्न सिफ्टमा कक्षा सञ्चालन गर्न पाउने निणर्य गरेको छ ।

शंखरापुरमा सामुदायिक २३ र निजी १३ विद्यालय छन् । शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार पाँचवटै मोडेलमा शैक्षिक गतिविधि सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा विभाग प्रमुख बौद्धराज निरौलाले बताए ।

उनका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेका रेडियो पाठ सुनेर पनि विद्यालयमा समूहमा सिक्न सक्ने व्यवस्था मिलाइएको छ । ‘पूणर् रूपमा विद्यालय खोलिएको छैन, सानो समूह र सिफ्टमा कक्षा चलेका छन्,’ उनले भने ।

यस्तै, चन्द्रागिरि नगरपालिकामा पनि विद्यालय खुलेका छन् । नगरपालिकाका शिक्षा विभाग प्रमुख कणर्बहादुर भुवाजीका अनुसार २४ सामुदायिक विद्यालयले स्वास्थ्य सावधानी अपनाउँदै कसैले सबै र केहीले थोरै कक्षा सञ्चालन गरेका छन् । अनलाइन पठनपाठन प्रभावकारी नभएको र चैतमै शैक्षिक सत्र सकिने भएकाले विद्यालयमा भौतिक रूपमै उपस्थित गराएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निणर्य नगरपालिकाले लिएको भुवाजीले बताए ।

‘अल्झिएर बस्दा शैक्षिक उपलब्धि नहुने र शैक्षिक सत्र खेर जाने भएपछि कक्षा सुरु गरेका हौँ,’ उनले भने, ‘विद्यालयभन्दा बाहिर मास्क र स्यानिटाइजर विना हिँड्ने, खेल्ने गर्दा झनै जोखिम छ, विद्यालयमा दूरी, मास्क र स्यानिटाइजर प्रयोग गर्दै पठनपाठन सुरु गरिएको छ ।’

विद्यार्थी उत्साहित

विद्यालयमै उपस्थित भएर पढ्न पाएपछि विद्यार्थी खुसी भएको प्रधानाध्यापकहरू बताउँछन् । थलीस्थित कान्ती भैरव माविले ११ असोजदेखि विद्यालयमै कक्षा सञ्चालन गरेको छ । प्रधानाध्यापक तीर्थराज कोइरालाका अनुसार लामो समयपछि विद्यालय आउन पाउँदा विद्यार्थी धेरै खुसी छन् । कान्तिले एउटा बेन्चमा एकजना मात्र विद्यार्थी राखेर पठनपाठन गराइरहेको छ ।

‘पालिकाको निणर्यअनुसार सिफ्टमा कक्षा सुरु गर्‍यौँ, लामो समयपछि विद्यालय आउन पाएका विद्यार्थी असाध्यै खुसी छन्,’ कोइरालाले भने । हालसम्म दुई सिफ्टमा सञ्चालन भएको पठनपाठन विद्यार्थी संख्या बढेपछि तीन सिफ्टमा विस्तार गर्ने तयारी छ । कक्षा १-५, ६-८ र ९-१० का विद्यार्थीलाई फरक-फरक सिफ्ट र समूहमा पढाउने तयारी भइरहेको उनले बताए । अहिले एउटा समूहमा १२ देखि १५ जनालाई पढाइने गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले निर्देशिकाले अनुमति दिएका शैक्षिक गतिविधि विद्यालयहरूले सञ्चालन गर्न सक्ने बताए । ‘नियमित रूपमा साबिकजस्तै कक्षा सञ्चालन गर्ने निणर्य सरकारले गरेको छैन,’ उनले भने, ‘सिकाइ निरन्तरताका लागि थोरै विद्यार्थीमा भौतिक दूरी कायम गरेर विद्यालय सञ्चालन गर्नु सकारात्मक हो ।’ ‘फुल फेज’मा विद्यालय सञ्चालन गर्न भने मन्त्रिपरिषद्ले निणर्य गर्नुपर्ने प्रवक्ता शर्माले बताए ।
खोटाङमा जोर-बिजोर रोल नम्बरका आधारमा पढाइ

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्यालय खुलेका छन् । गाउँपालिकाले भिडभाड हुन नदिन जोर-बिजोर रोल नम्बरका आधारमा पढाइ सञ्चालन गरेको छ ।
विद्यालयमा हुने भिडलाई कम गर्न जोर-बिजोर रोल नम्बरको व्यवस्था गरिएको गाउँपालिकाको शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए ।

उनका अनुसार जोर गतेमा जोर रोल नम्बर भएका विद्यार्थी र बिजोर गतेमा बिजोर रोल नम्बर भएका विद्यार्थी स्कुल आउने गरेका छन् । ‘कक्षामा पनि भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ । एक बेन्चमा एकजना वा बढीमा दुई जनालाई मात्र राखेर पठनपाठन सुरु गरिएको छ,’ उनले भने ।

गाउँपालिकाका सात वडामा ४८ विद्यालयमा पाँच हजार पाँच सय १२ विद्यार्थी अध्ययनरत छन् । लामो समयदेखि पढाइ अवरुद्ध भएपछि ९ असोजमा कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निणर्य गरेको थियो ।

त्यस्तै, विद्यार्थी बढी भएको विद्यालयले गाउँगाउँमा सिकाइ केन्द्र स्थापना गरेर पठन-पाठन सञ्चालन गर्न परिपत्र गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । ‘कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक र विद्यार्थीलाई पुनः पठनपाठनमा लगाउन गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको छ,’ अध्यक्ष राईले भने । यसअघि पनि गाउँपालिकाले ७ साउनदेखि ३ भदौसम्म गाउँगाउँमा शिक्षक पठाएर पठनपाठन गरेको थियो ।

रुकुम पश्चिमका तीन स्थानीय तहमा विद्यालय खुले

रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र मुसिकोट नगरपालिकाले विद्यालय सुरु गरेका छन् । चौरजहारीले ४ असोज, सानीभेरीले र मुसिकोटले १५ असोजदेखि विद्यालय खोलेका हुन् ।

मुसिकोटमा ५४ सामुदायिक र १० संस्थागत, सानीभेरीमा ५० सामुदायिक र एक संस्थागत तथा चौरजहारीमा ३७ सामुदायिक र चार संस्थागत विद्यालय छन् । मुसिकोट र सानीभेरीमा १०-१० हजार र चौरजहारीमा नौ हजार विद्यार्थी छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमले बताए । ‘अब धेरै दिन कोरोना-कोरोना भनेर बस्न सकिँदैन, सुरक्षित रही सामान्य अवस्थामा फर्किनुको विकल्प छैन,’ उनले भने, ‘नगरपालिका, शिक्षक र अभिभावक जिम्मेवार हुने गरी विद्यालय खोल्ने निणर्य भएको छ, त्यहीअनुसार पठनपाठन सुरु भएको छ ।’

कुन समयमा कुन विद्यार्थीलाई कसरी पढाउने भनेर विद्यालयले कार्ययोजना बनाएको त्रिभुवन जनता मावि, खलंगाका प्रधानाध्यापक हरिप्रसाद खनालले बताए । एउटा समूहमा २५ जनाभन्दा बढी नहुने गरी विद्यार्थीलाई बोलाएर दिनमा न्यूनतम दुई घन्टा पठनपाठन भइरहेको खनालले बताए ।

सिराहाका सबै विद्यालय खुले

सिराहाका सबै विद्यालय खुलेका छन् । असोज पहिलो र दोस्रो सातादेखि जिल्लाका सबै विद्यालयमा पठनपाठन सुरु भएको छ ।

सबैभन्दा पहिले ३० भदौमै धनगढीमाई नगरपालिकाले प्रधानाध्यापकसँग छलफल गरेर पठनपाठन सुरु गर्ने निणय गरेको थियो । जसअनुसार १ असोजदेखि यहाँका ७३ सामुदायिक विद्यालयसँगै निजी विद्यालयमा पनि पठनपाठन चलिरहेको छ । दुई सिफ्टमा पठनपाठन भइरहेको विद्यालय निरीक्षक बुद्धिमान दनुवारले बताए ।

यस्तै, लहान नगरपालिकाले ७ असोजदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुरु गरेको छ । सिराहाका मिर्चैया, सिराहा, कर्जन्हा र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकाले ११ असोजदेखि पठनपाठन सुरु गरेका थिए । अन्य स्थानीयले पनि असोज दोस्रो सातादेखि पठनपाठन सुरु गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

सुर्खेत र कालिकोटका धेरै विद्यालयमा पठनपाठन सुरु

सुर्खेत र कालिकोटका धेरैजसो विद्यालयमा पठनपाठन सुरु भएको छ । पाँच महिनापछि विद्यार्थी र शिक्षक स्कुलमा देखिएका छन् ।

कालिकोटको पचालझरना-५ बाझकोटस्थित ज्ञानदोय माविका प्रधानाध्यापक ममराज सेजुवालले १ असोजदेखि पठनपाठन सुरु गरेको बताए । ‘लामो समयदेखि बन्द रहेका विद्यालयलाई पुनः नियमित सञ्चालनमा ल्याएका छौँ । विद्यार्थी पनि नियमित स्कुल आउन थालेका छन्,’ उनले भने ।

त्यस्तै, सुर्खेतका पनि अधिकांश विद्यालय खुलेका छन् । स्वास्थ्य सावधानी अपनाएर पठनपाठन सुरु गरिएको वीरेन्द्रनगरस्थित अमरज्योति मावि, नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । अहिले कक्षा ९ र १० मा थोरै विद्यार्थी राखेर पठनपाठन भइरहेको उनले बताए । वीरेन्द्रनगरकै जनउच्चमाविले भर्ना अभियान सञ्चालन गरेको छ । १४ असोजदेखि भर्ना सुरु गरिएको प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।

सिन्धुपाल्चोकमा गाउँका विद्यालय खुले

सिन्धुपाल्चोकमा ग्रामीण भेगका विद्यालय खुलेका छन् । जिल्लाका चार सय ७९ मध्ये गाउँका दुई सयभन्दा बढी विद्यालयमा पठनपाठन सुरु भएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख कृष्णप्रसाद सुवेदीले बताए । ‘दुई सयभन्दा बढी विद्यालय खुलेका छन् । भौतिक दूरी कायम गरेर पढाइ भइरहेको छ,’ उनले भने ।

इन्टरनेटको पहुँच भएका चौतारा, बाह्रबिसे र मेलम्चीजस्ता मुख्य बजार क्षेत्रका विद्यालयमा भने अनलाइनमार्फत पढाइ हुँदै आएको छ । बजार क्षेत्रका विद्यालय नखुले पनि पढाइ चालू रहेको सुवेदीले बताए ।

महोत्तरीमा थोरै विद्यार्थी राखेर पढाइ

महोत्तरीमा विद्यालय खुले पनि सबै विद्यार्थीलाई भने बोलाइएको छैन । थोरै विद्यार्थी राखेर पठनपाठन भइरहेको छ ।

जलेश्वर र बर्दिबास नगरपालिकाले थोरै विद्यार्थी राखेर दूुरी कायम गर्दै पठनपाठन सुरु गरेका छन् । बर्दिबासका केही विद्यालयले सिफ्ट छुट्याएर पढाइ गर्न थालेको स्थानीय अमृतकुमार महतोले बताए । तल्लो कक्षाका बालबालिकालाई भने बस्तीमै गएर पढाउने गरिएको छ । मेयर विदुर कार्कीले अहिले बस्तीमा पुगेर बालबालिकालाई सिकाइ अभ्यास गराउन थालिएको बताए ।

प्याब्सन र एन प्याब्सन प्रदेश २ का सल्लाहकार लवराजा सिंहले जलेश्वर र अन्य स्थानीय तहका निजी विद्यालयले सरकारको निर्देशिकाको पालन गर्दै थोरै विद्यार्थी बोलाएर पठनपाठन गरिरहेको बताए । सबै सुरक्षा विधि अपनाउँदै बालबालिकालाई ट्युसन शैलीमा पढाउन थालिएको उनले बताए ।

तनहुँका विद्यालयमा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठन

तनहुँका सामुदायिक विद्यालयमा सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको छ । व्यास, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा बन्दीपुर, आँबुखैरेनी, देवघाट र रिसिङ गाउँपालिकामा मास्क, स्यानिटाइजर तथा अन्य स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठन थालिएको हो ।

बजार क्षेत्रका केही विद्यालयमा ६ असोजबाटै पढाइ सुरु गरिएको व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मीले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या कम भएकाले अधिकांश विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन थालिएको छ ।

‘गाउँका विद्यालयमा विद्यार्थी कम भएकाले पनि पढाउन सहज भएको छ । तर, सहरबजारका सामुदायिक विद्यालयमा भने विद्यार्थीको संख्या बढी छ । त्यसैले एउटा कक्षामा १८ देखि बढीमा २० जना विद्यार्थी राखेर पढाइ सुरु गरिएको छ,’ उनले भने । कोरोनाको संक्रमणबाट जोगिन विद्यार्थी र शिक्षक दुवैले मास्क तथा स्यानिटाइजरको प्रयोग गरेका छन् ।

लमजुङका तीन विद्यालयमा जोर-बिजोर रोल नम्बर प्रणाली

लमजुङका तीन स्थानीय तहले एक-एक विद्यालयमा पढाइ सुरु गरेका छन् । मस्र्याङ्दी, क्वहोलासोथर र दोर्दी गाउँपालिकामा पढाइ सुरु गरिएको हो । कोरोना संक्रमणका कारण लकडाउन भएपछि बन्द भएको विद्यालयहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पठनपाठन थालिएको छ ।

क्व्होलासोंथर- ४ भुजुङस्थित त्रिभुवन माविमा जोर-बिजोर रोल नम्बरका आधारमा विद्यार्थी आलोपालो विद्यालय आउने व्यवस्था मिलाइएको छ । प्रधानाध्यापक दुर्गाबहादुर गुरुङले टोल-टोलमा पढाउँदा पनि सिकाइ प्रभावकारी नभएपछि विद्यार्थीलाई विद्यालयमै बोलाइएको बताए । १ असोजदेखि विद्यालयमा पठनपाठन थालिएको हो ।

यस्तै मस्र्याङ्दी गाउँपालिकाको गणेश मावि र दोर्दी गाउँपालिकाको महादेव आधारभूत विद्यालयमा पनि पढाइ नियमित भएको छ । महादेवकी शिक्षिका विमला अधिकारीका अनुसार एक बेन्चमा दुई विद्यार्थी मात्रै बस्ने व्यवस्था मिलाइएको छ ।

‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’को व्यवस्थाअनुसार स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निणर्य गरे पनि जिल्ला प्रशासन कार्यालयले भने विद्यालय नखोल्न निर्देशन दिएको छ ।

‘अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्रै शैक्षिक संस्था सञ्चालन गर्नू भनेर सरकारले निणर्य गरेको छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, ‘सरकारले नभनेसम्म शैक्षिक संस्थाहरू खोल्न भएन ।’ स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी-अभिभावक-शिक्षक दोधारमा परेका छन् ।

खुल्न थाले नवलपुरका विद्यालय

पूर्वी नवलपरासीमा पनि बिस्तारै पठनपाठन सुरु हुन थालेको छ । कतिपय विद्यालयले विद्यालयमै विद्यार्थीलाई बोलाएर पढाउन थालेका छन् भने कतिपयले पाटी, पौवा, चौतारो तथा घरघरमा गएर पढाउन थालेका छन् ।

शिक्षा तथा समन्वय इकाइ कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले सामाजिक दूरी तथा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन सुरु गरिएको बताए । वैकल्पिक विधिको सिकाइ प्रभावकारी नभएको भन्दै नवलपुरका स्थानीय तहहरूले विद्यालय खोलेर कक्षा सञ्चालन गरेका हुन् ।

कावासोती-३ जीवन ज्योति माविका प्रधानाध्यापक सुमित्रा लम्सालका अनुसार ६ देखि १२ सम्मका विद्यार्थीलाई आलोपालो गरेर विद्यालयमै दैनिक दुई-तीन घन्टा पढाउन थालिएको छ । अभिभावकहरूसँगको परामर्शमा विद्यालय खुलाइएको हो । कक्षा ५ सम्मका बालबालिकालाई भने हप्तामा एकपटक गाउँमा सानो-सानो समूहमा पढाउने गरिएको छ ।

प्याब्सन कावासोतीका अध्यक्ष एवम् सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालका अनुसार विद्यार्थी संख्या हरेर कक्षाकोठामा कमभन्दा कम विद्यार्थी राखेर पढाउन सुरु गरिएको छ ।

पठनपाठन सुरु गरिए पनि केही विद्यालयले बालबालिकालाई विद्यालयमा खाजा खान र शौचालय प्रयोग गर्न भने प्रतिबन्ध लगाएको छ । एक साताअघिदेखि विद्यार्थीलाई आलोपालो बोलाएर पठनपाठन सुरु गराएको देवचुली माविका एक शिक्षकले कोरोना संक्रमणको त्रासदीका कारण शौचालय प्रयोग गर्न नदिएको बताए ।

भर्चुअल पढाइ सम्भव नभएका बाग्लुङका विद्यालय खुले

भर्चुअल पढाइ सम्भव नभएका बाग्लुङका विद्यालय खुल्न थालेका छन् । केहीले पढाइ सुरु गरेका छन् भने केही सुरु गर्ने तयारीमा छन् ।

ताराखोला गाउँपालिकामा ११ असोजदेखि सबै विद्यालय खुलेका छन् । भर्चुअल पढाइ सम्भव नभएकाले विद्यालय खोलेर पठनपाठन सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । स्वास्थ्य मापदण्ड पालन गरेर पठनपाठन भइरहेको उनले बताए ।

त्यस्तै, बाग्लुङ नगरपालिकाका ग्रामीण भेगका विद्यालयमा दूरी कायम गरेर पठनपाठन सुरु गरिएको छ । सदरमुकाममा भने अनलाइनमार्फत पढाइ चलिरहेको छ । जैमिनी नगरपालिकाले पनि ११ असोजदेखि पढाइ सुरु गरेको छ ।

सातबुँदे सहजीकरण मापदण्ड तयार गरेर विद्यालय खोलिएको शिक्षा शाखा प्रमुख खेम आचार्यले बताए । ‘जैमिनीमा समुदायस्तरमा कोरोना छैन, त्यसले विद्यालयहरू सञ्चालन गर्ने निणर्य भएको छ,’ आचार्यले भने, ‘वडास्तरमा रहेको अनुगमन समितिले आवश्यक निणर्य गरेर विद्यालय सञ्चालनमा सहजीकरण गर्छ ।’

यस्तै, पश्चिम ढोरपाटन र तमानखोलाका विद्यालय भने केही दिनमै सञ्चालन गर्ने तयारी छ । दशवटा स्थानीय तह रहेको बाग्लुङका अन्य स्थानीय तहले अनलाइन, टोलटोलमा गएर तथा सिकाइ केन्द्रमा बोलाएर पठनपाठन गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ बाग्लुङका प्रमुख कुश्मराज उपाध्यायले बताए ।

दोलखामा विद्यालय नखोल्न प्रशासनको निर्देशन

दोलखामा भने सामुदायिक तथा निजी विद्यालय नखोल्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । कोरोना भाइरसका लक्षणसहितका बिरामी समुदायस्तरमा देखिन थालेकाले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटीले बताए ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा लक्षणसहितका कोभिडका बिरामी देखा पर्न थालेपछि विद्यालयमा कक्षा सञ्चालन नगरी वैकल्पिक विधिबाट अध्ययन-अध्यापनको काम गर्न निर्देशन दिर्ने निणर्य गरेको थियो । तर, दोलखाका कतिपय विद्यालयले भने कक्षा सञ्चालन गरेको खबर प्राप्त भएकाले आइतबारदेखि प्रहरी परिचालन गरी वैकल्पिक विधि प्रयोग गर्न लगाइने प्रजिअ सिवाकोटीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७