ग्यास सिलिन्डरको धरौटी शुल्क २१ सय


२७ आश्विन २०७७, मंगलवार
gass

काठमाडौं, २७ असोज । नेपाल एलपी ग्यास उद्योग संघले सबै ब्रान्डको ग्यास सिलिन्डरको एउटै मूल्य हुने गरी धरौटी रकम २ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ । यसअघि उद्योगले आफूअनुकूल धरौटी रकम निर्धारण गर्दै आएका थिए ।

जसकारण अस्वस्थ प्रतिस्पर्धा भई डिलरहरूले धेरै ग्यासको सिलिन्डर लुकाइदिने र बढी मुनाफा भएको सिलिन्डर बिक्री गर्न जोड दिने गरेका थिए । संघले एक निर्णय गरी सोमबारबाट नयाँ सिलिन्डर लिँदा उपभोक्ताले २ हजार १ सय रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै, नयाँ सिलिन्डर खरिद गरेको बिल अनिवार्य रूपमा लिएर राख्न पनि संघले आग्रह गरेको छ । ‘उपभोक्ताले सिलिन्डर खरिद गर्दा अनिवार्य रूपमा सम्बन्धित उद्योगको धरौटी रसिद विक्रेता (डिलर) मार्फत लिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘रसिद नलिइएका सिलिन्डरहरूको जवाफदेही तथा दायित्व उद्योगले लिनेछैन ।’

यस्तो निर्णयपछि अब जुनसुकै कम्पनीको सिलिन्डरसहित ग्यास खरिद गर्दा उपभोक्ताले समान रकम भुक्तानी गर्ने अवस्था सिर्जना भएको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ कायम छ । यसर्थ, ग्याससहित कुनै पनि ब्रान्डको नयाँ सिलिन्डर खरिद गर्ने जुनसुकै उपभोक्ताले ३ हजार ४ सय ७५ रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

संघको २३ भदौमा सम्पन्न भर्चुअल २५औँ वार्षिक साधारणसभाले यस्तो निर्णय गरी कार्यान्वयन गर्न डिलरहरूलाई आग्रह गरेको हो । ग्याससहित नयाँ सिलिन्डर बिक्री गर्दा डिलरहरूलाई प्रतिसिलिन्डर १ सय रुपैयाँ ह्यान्डलिङ खर्च उपलब्ध गराउने निर्णयसमेत भएको छ ।

खाली सिलिन्डर लिएर आउने उपभोक्तालाई भरिएको सिलिन्डर बिक्री गर्दा डिलरहरूले प्रतिसिलिन्डर ३२ रुपैयाँ कमिसन पाउँदै आएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७