मन्थली नगरपालिकाको कार्यालय छ दिनका लागि बन्द


२८ आश्विन २०७७, बुधबार
manapa 1607811774

रामेछाप, २८ असोज । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या बढेपछि कार्यालय बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकै दिन १७ जनामा कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको हो ।

केही दिनयता मन्थली बजारमा कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको छ । मन्थली बजार क्षेत्रमा कोरोना सङ्क्रमितको संख्या बढे पनि दिन प्रतिदिन भीड बढने क्रम घटेको छैन ।

नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु सङ्क्रमण बढ्नाको मुख्य कारण छन् । नगरपालिकाले यही असोज २८देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छ ।

स्वास्थ्य कार्यालय रामेछापका अनुसार हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरिएका सङ्क्रमित हुनेको संख्या १३४ पुगेको छ । तीमध्ये ६७ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । यस्तै रामेछाप स्थायी घर भई काठमाडौंँलगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३३ र पुरुष ८७ गरी १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म दुई हजार २४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा अहिलेसम्म १०८ शैंयाको आइसोलेशन कक्ष र ४९० शैंयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७