दसैंमा घर जानेबाट कोरोना गाउँ–गाउँ फैलिने जोखिम

गाउँमा वृद्धवृद्धा प्रभावित हुने जोखिम


५ कार्तिक २०७७, बुधबार
korona 1 1

काठमाडौं, ५ कार्तिक । दसै नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ । बाहिरिने र भित्रिनेको संख्या बढेसँगै काठमाडौं र अन्य सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको छ ।

लकडाउन र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य अवस्थामा फर्किए पनि संक्रमण बढ्दै गएपछि चिन्ता बढेको छ । नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौंबाट लाखौँ मानिस आफ्नो गाउँघर फर्किन थालेका छन् ।

भिडभाड गरेर गाउँघर फर्किनेका कारण संक्रमणकोे जोखिम झन्झन् बढ्ने चिकित्सकहरूले बताउने गरेका छन् । सरकारले यसपटक कोरोना संक्रमण फैलिन नदिन आफू रहेको स्थानमै दसैँ मनाउन आग्रह गरेको छ । एकाघरका बाहेक अरूको घरमा नजान तथा भिडभाड नगर्न, अनलाइनबाटै आशीर्वाद लिन आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम यातायातका साधनमा आवतजावत गर्दा संक्रमण थप फैलने भएकाले सर्वसाधारणले आफू बसेकै स्थानमा दसैँ मनाउँदा राम्रो हुने बताउँछन् ।

उनी भन्छन्, ‘कोरोना महामारीका वेलामा गाउँसहर जाँदा संक्रमण फैलने भएकाले दसैँमा नहिँड्न आग्रह गरिएको हो । मन्त्रालयको कोभिड इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले आवतजावत गर्न नदिने निर्णय गरेको छ । साथै जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाउने निर्णय भएको छ,’ उनले भने ।

ट्राफिक महाशाखाका अनुसार, पछिल्लो केही दिनयता काठमाडौंबाट बाहिरिनेको संख्या तुलनात्मक रूपमा बढेको छ । अहिले दैनिक २१ हजारसम्म मानिस उपत्यका बाहिरिने गरेका छन् ।

‘पछिल्लो समय काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको भन्दा तुलनात्मक रूपमा कम भए पनि चाडपर्व नजिकिँदै गर्दा यात्रा गर्नेको संख्या बढेको हो । हाम्रो अनुमानमा यो संख्या दसैँसम्म अझै बढ्न सक्छ,’ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल भन्छन् ।

ट्राफिक महाशाखाका अनुसार, पछिल्लो केही दिनयता काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । अहिले दैनिक २१ हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।

पछिल्लो समय संक्रमितको संख्या अत्यधिक बढे पनि महामारीलाई बेवास्ता गरिन थालिएको छ । सामान्य जीवनशैलीमा फर्किन काम सुचारु भएसँगै सार्वजनिक स्थानमा भिडभाड बढ्नुका साथै सावधानीसमेत अपनाइएको पाइन्न । सार्वजनिक यातायातमा भिडभाड बढ्दै गएकाले समेत संक्रमणको जोखिम बढ्ने विज्ञहरू बताउँछन् ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले भिडभाड हुने गरी चाडपर्व नमनाउन आग्रह गरे पनि दसैँमा घर जानेको संख्या बढ्दै जाँदा संक्रमण अब गाउँघरसम्म पुग्ने भएको छ । जसका कारण गाउँघरमा संक्रमणको जोखिम झनै बढेको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । काठमाडौं र सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेका कारण दसैँमा गाउँघर जाने व्यक्तिहरूबाट जोखिम थपिएको छ ।

गाउँमा वृद्धवृद्धा प्रभावित हुने जोखिम
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार प्रतिरोधी क्षमता कम हुने व्यक्तिहरू भाइरसको संक्रमणबाट बढी प्रभावित हुने गर्छन् । अर्थात् वृद्धवृद्धा, गर्भवती वा सुत्केरी, बालबालिका, दीर्घरोगी तुलनात्मक रूपमा बढी जोखिममा छन् ।

डा.पुनका अनुसार, संक्रमण जुनसुकै व्यक्तिमा हुने भए पनि निश्चित उमेर र स्वास्थ्य अवस्था भएका व्यक्तिहरू उच्च जोखिममा रहन्छन् । संक्रमणको समय लामो रहनु र महामारीसँगै बाँच्न सिक्ने समय भएकाले संक्रमणलाई सामान्य रूपमा लिए पनि बेवास्ता भने गर्न नहुने उनी बताउँछन् ।

डा.पुन भन्छन्, ‘नेपालको सन्दर्भमा काम गर्ने उमेर समूहका व्यक्तिहरू घरबाहिर रहने र परिवारमा अर्थात् गाउँघरमा बुढापाका वा बालबच्चा मात्रै बस्ने हुँदा सहरबाट भित्रिनेहरूबाट संक्रमणको जोखिम बढेको हो । साथै दसैँको समयमा बुढापाकाको आशीर्वाद लिने, टीका लगाउने, भेटघाट गर्ने र रमाइलो गर्ने संस्कृतिका कारणसमेत वृद्धवृद्धासम्म संक्रमण पुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।’

चाडपर्वमा कसरी संक्रमणबाट सुरक्षित रहने ?
लामो दूरीका सवारीसाधन खुलेसँगै भिडभाड बढेको छ । सरकारले सार्वजनिक यातायातमा भौतिक दूरी कायम गरेर मात्र सञ्चालन गर्न पाउने मापदण्ड संशोधन गर्दै अब सिटभरि यात्रु राख्न पाउने निर्णय गरेको छ ।

पछिल्लो समय गाउँघरसम्मै सार्वजनिक सवारी चल्ने भएकाले र सवारीसाधन प्रयोग गर्नेको संख्या बढेकाले भौतिक दूरी कायम राख्न गाह्रो भएको यातायात व्यवसायी बताउँछन् । सुरुवातको समयमा भौतिक दूरी कायम राख्ने, अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता मापदण्ड अपनाइए पनि बिस्तारै पुरानै लयमा फर्किन थालेको पाइन्छ । चाडपर्वको समयमा भिडभाड झनै बढ्ने हुँदा कोरोना गाउँघरसम्मै फैलिने अवस्था आएको छ ।

जाडो मौसमको सुरुवाती र लकडाउन खुल्दा संक्रमितको संख्यामा दोब्बर वृद्धि भइरहेको छ । फ्लुको मौसम पनि सुरु हुने समय भएकाले कोरोना र फ्लुको फ्युजनको मार आममानिसमा पर्ने भएकाले संक्रमण नियन्त्रणका लागि आममानिसले विशेष ध्यान दिनुपर्ने बताउँछन् डा. पुन ।

उनी भन्छन्, ‘सार्वजनिक यातायातमा यात्रा गर्दा सकेसम्म भिडभाड नगरौँ । दसैँमा टीका थाप्दा अनिवार्य मास्कको प्रयोग गर्ने, भिडभाड नगरीकन पालैपालो टीका थाप्ने, रमाइलोका लागि जमघट नगर्ने मात्रै गर्ने हो भने जोखिम कम गर्न सकिन्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७