‘रअ’ प्रमुख काठमाडौंमा २१ घण्टा बिताएर दिल्ली फिर्ता


६ कार्तिक २०७७, बिहीबार
Samant Goel 1200x560 1

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल नेपाली राजनीतिक हलचल मच्चाएर दिल्ली आज (बिहीबार) फर्किएका छन् । बुधबार दिउँसो नेपाल आएका गोयलले क–कसलाई भेटे भन्नेबारे सरकारले सम्पूर्ण सूचना गोप्य राखेको छ ।

भारतीय गुप्तचर प्रमुख गोयलको टोली विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेकाले दिल्ली फर्किएको प्रमाणित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका छन् ।

भारत फर्किनुअघि गए राति सामन्तले बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेढ घण्टा भेटवार्ता गरेको जनाइएको छ ।

विमानस्थलस्थित एक जना सुरक्षा अधिकारीले जनाएअनुसार बुधबार करिब पौने १ बजे विशेष विमानबाट काठमाडौं उत्रेको गोयलको टोली २१ घण्टा काठमाडौंमा बिताएर बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्लीका लागि उडेको हो ।

हिजो काठमाडौं उत्रेलगत्तै राजनीतिक दलका नेता तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता थालेका गोयलले राति बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको उच्च सुरक्षा स्रोतहरूले जनाएका छन् ।

‘गोयलसहित तीन जनाको टोलीले प्रधानमन्त्री ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेको छ’, एक जना सुरक्षा अधिकारीले भने, ‘बुधबार राति १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार छिरेको गोयलको टोली ११ बजेर ४५ मिनेटमा बाहिरिएको थियो ।’

तर प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूले यसबारे केही थाहा नभएको बताएका छन् । कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका छैनन् । कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको अनुमान गरिए पनि भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन ।

गोयलले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग होटल द्वारिकामा भेटेको स्रोतहरूले जनाएका छन् ।

सत्तारुढ नेकपाकै सचिवालयका नेताहरु गुप्तचर प्रमुखको भ्रमणबारे अन्योलमा छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएको प्रतिक्रिया दिएका छन् ।

तर कतिपय सञ्चारमाध्यममा भने प्रचण्ड र माधवकुमार नेपालसँग रअ प्रमुख गोयलले भेट गरेको खबर बाहिरिए । तर, आज (बिहीबार) विहानै प्रचण्ड र माधवकुमार नेपालको सचिवालयले रअ प्रमुखसँग भेट नभएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७