प्रदेश यातायात सेवा कार्यालयका कर्मचारीमा संक्रमण, सेवा प्रभावित


१६ कार्तिक २०७७, आईतवार
yatayat

मकवानपुर, १६ कार्तिक । वाग्मती प्रदेश यातायात सेवा कार्यालयका केही कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि कार्यालयले दिंदै आएको सेवा प्रभावित भएको छ । आजदेखि तीन दिनसम्मका लागि सेवाग्राहीलाई दिँदै आएको सबै सेवा स्थगित गर्न बाध्य भएको कार्यालयले जनाइएको छ ।

सो कार्यालयको राजश्व फाँटमा कार्यरत रहेका केही कर्मचारी र सो कार्यालयको राजश्व बुझ्ने नेपाल इन्भेस्टमेन्ट बैंक हेटौँडा शाखाका कर्मचारीमा समेत कोभिड प्रकोपबाट पीडित हुँदा यातायात सेवा कार्यालयले आफ्नो सबै सेवा स्थगित गर्नुपरेको सो कार्यालयका कार्यालय प्रमुख भक्तराज भण्डारीले बताए ।

उनले कार्यालयको सेवा बन्द गर्नुपरेको विषयमा वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा जानकारी दिइसकिएको पनि बताए ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका १३ कर्मचारीमध्ये १० जना कर्मचारीलाई कोभिड पुष्टि भएकाले सो बैंकले पनि आजदेखि सबै प्रकारका सेवा केही दिनका लागि बन्द गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७