अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

कहिले आउँला अन्तिम नतिजा ?


१९ कार्तिक २०७७, बुधबार
trump

वासिङ्टन, १९ कार्तिक । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदबारले प्रतिक्रिया दिएका छन् ।

चुनावी मैदानमा रहका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन् । मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरुमार्फत उनीहरुले अन्तिम नतिजा आफ्नो पक्षमा पर्ने दाबी पनि गरेका छन् ।

नेपालको समय अनुसार मंगलबार बेलुकादेखि शुरु भएको मतदान राती अबेर सम्पन्न भएको थियो भने बुधबार बिहानदेखि मतगणना शुरु भएको थियो । अहिले विभिन्न राज्यका मत गणनाका परिणामहरु आउने क्रम जारी छ । नयाँ प्रक्षेपणअनुसार महत्वपूर्ण मानिएको फ्लोरिडामा ट्रम्प विजयी भएका छन् ।

कुल २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा अघिल्लो निर्वाचनमा पनि ट्रम्पले नै जितेका थिए । त्यसअघि सन् २००८ र २०१२ को निर्वाचनमा भने डेमोक्र्याट तर्फका उम्मेदवार बाराक ओबामा विजयी भएका थिए । नेब्रास्कामा पनि ट्रम्पले नै जित्ने अनुमान गरिएको छ । त्यहाँ पाँच इलेक्टोरल मतमध्ये चार ट्रम्पलाई र एक वाइडेनलाई आउने देखिएको छ । यसअघि सबै ट्रम्पलाई नै गएकोमा अहिले बाइडेनले एक मत खोस्ने देखिएको हो ।

कुल १८ इलेक्टोरल मत रहेको ओहायो र ४ मत रहेको आइडहोमा ट्रम्पले जित्ने र १३ इलेक्टोरल मत रहेको भर्जिनियामा बाइडेनले जित्ने प्रक्षेपण गरिएको छ । यी सबै राज्यमा अघिल्लो निर्वाचनमा जस्तो नतिजा आएको थियो अहिले पनि उस्तै नतिजा आउने देखिएको छ ।

प्रत्यक्ष मतदान मंगलबार भएपनि सोमबारसम्म हुलाकबाट झण्डै नौ करोड अमेरिकी नागरिकले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोनाभाइरस महामारीलाई लिएर झण्डै ९ करोडले हुलाकमार्फत् मतदान गरेका हुन् ।

हुलाकमार्फत पठाइएका मत आउने क्रममा रहेको र गणना गर्न समय लाग्ने भएकाले अन्तिम नतिजा आउन केही दिन लाग्न सक्ने बताइएको छ । अमेरिकामा इलेक्टोरल कलेज अर्थात निर्वाचक मण्डल प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन गर्ने व्यवस्था रहेको छ । सबै राज्यलाई जनसंख्याका आधारमा इलोक्टरल मत तोकिएको हुन्छ । यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५३८ मत हुन्छ । निर्वाचन जित्न उम्मेदवारले २७० मत जित्नु पर्दछ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्र्याटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । परम्परावादी तर्फका ट्रम्प ७४ वर्ष र उदारवादी तर्फका बाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेबारी बुढा नेतालाई नै पर्ने भएको छ ।

बाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका थिए भने ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिरक्षा गर्दै आक्रामक रूपमा प्रस्तुत भएका थिए । चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनलाई नै अगाडि देखाइएको थियो भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको थियो ।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् । यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि कुल मतदानमा हिलारी क्लिन्टनले धेरै पाएपनि इलेक्टोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । त्यसैगरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी नै विजयी हुने प्रक्षेपण गरेका थिए ।

अमेरिकामा हरेक चार चार वर्षमा नोभेम्बर ३ तारिखका दिन निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७