भारतीय सेनाध्यक्षको भ्रमणः सम्बन्ध सुधारमा ग्रिन सिग्नल


२२ कार्तिक २०७७, शनिबार
narvade 696x479 1

काठमाडौं, २२ कार्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीचको सीमा विवादपछि बिग्रिएको सम्बन्ध सुधारमा ग्रिन सिग्नल देखिएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नेपाल आएका नरवणेको राष्ट्रपति, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूसँगको भेटपछि सीमा विवादको विषयले बिग्रिएको दुई देशको सम्बन्धमा उपाधि ग्रहण परम्पराको निरन्तरतासँगै सुधारको संकेत देखिएको हो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गरेका नरवणेले राष्ट्रपति भण्डारीसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।

यसैगरी, शुक्रबार उनले प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको स्पष्ट पारेका छन् । उनले सोही सम्बन्धका कारण नै दुई देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको पनि स्मरण गरेका छन् ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच देखिएको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारका पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले पहिले खासै चासो नहुने यस्ता भ्रमण सीमाका विषयमा नरवणेले दिएको अभिव्यक्तिकै कारण चर्चामा आएको र नेपाली सेनाका प्रधानसेनापतिले सो समयमा जवाफी प्रतिक्रिया नदिँदा यो भ्रमण हुन सकेको बताए ।

नरवणेको भ्रमण दुई देशबीच बिग्रिएको सम्बन्ध सुधारमा ‘आइसब्रेक’ भएको समेत प्रधानले स्पष्ट पारे । ‘नरवणेले सीमा विवादमा विवादास्पद अभिव्यक्ति दिए तर हाम्रा सेना प्रमुखले बुद्धिमताको प्रयोग गरे ।

त्यसकारण यो भ्रमण सम्भव भयो, यो भ्रमण सीमा विवादपछि बिग्रिएको दुई देशको सम्बन्ध सुधारमा आइसब्रेक हो,’ पूर्व रक्षामन्त्री प्रधानले भने । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल सहभागी थिए भने नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए ।

भारतले सीमा विवादका सम्बन्धमा कूटनीतिक वार्ताका लागि चासो नदेखाए पनि केही साताकै अन्तरालमा रअ प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणले समेत दुई देशको सम्बन्ध सुधारमा ग्रिन सिग्नल दिएको हो । कतिपयले दुई देशबीच राजनीतिक र कूटनीतिक सम्बन्ध चिसिएको बखत सैन्य कूटनीतिको सहारामार्फत सम्बन्ध सुधारको पहल थालिएको समेत भन्दै आएका छन् ।

राष्ट्रपति भण्डारीले नरवणेलाई बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् । यो उपाधि पाउने रनवणे भारतीय सेनाका १८औं प्रमुख हुन् ।

विगत सात दशकदेखि दुई देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेकामा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यो उपाधि पहिलो पटक सन् १९५० मा तत्कालीन भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पालाई प्रदान गरिएको थियो ।

भारतीय सेनाध्यक्ष नरवणे शुक्रबार तीन दिने औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७