प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन


२९ कार्तिक २०७७, शनिबार
ad79739c118fa1b90b5b9e890b51c147 w1000 h500 cp

नवलपरासी, २९ कार्तिक । प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैंडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ ।

अहिले बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । विसं १९७१ माघ १ गते बागलुङमा जन्मिएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहेका थिए । विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागे ।

विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल परे । सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्‍याएका छन् ।

उनले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट शुरु गरेको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ । उनले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गरेका छन् ।

उनी विसं २०२९ मा गैंडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुर्‍याएका थिए । उनकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो ।

गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पु¥याएका थिए । बिपीको सहयात्रीको रुपमा चिनिने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व थिए ।

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उनलाई तत्कालीन प्रशासनले पटक पटक दुःख दिएको थियो ।

उनी विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२–२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लडेका थिए । उनका छोरा तिलकप्रसाद सापकोटा नेपाली कांग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य छन् । तिलकसहित उनका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७