पर्यटन क्षेत्रको सुधारका लागि चैनपुरमा विज्ञ समूह गठन


२९ कार्तिक २०७७, शनिबार
chainpur

संखुवासभा, २९ कार्तिक । पर्यटन क्षेत्रको समग्र विकास तथा सुधारको कार्ययोजनासहित रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सङ्खुवासभाको चैनपुर नगरपालिकाले सात सदस्यीय पर्यटन विज्ञ समूह गठन गरेको छ ।

यहाँको पर्यटन क्षेत्रको सम्भावन, प्रवर्धन, विकास र रणनीतिक कार्ययोजना बनाउनका लागि इञ्जिनीयर निराकार श्रेष्ठको संयोजकत्वमा गठित उक्त समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरु रहनेछन् । धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदामा धनी रहेको चैनपुरको विकासमा यो समूहबाट ठूलो सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ ।

समूहको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशी, इतिहासविद् डा. रमेश ढुङ्गेल, होटल एशोसिएशनका पूर्व अध्यक्षद्वय प्रकाश श्रेष्ठ र योगेन्द्र शाक्य, सम्पदाविद् रबिन्द्र पुरी र सदस्य सचिवमा इञ्जिनीयर गुणराज श्रेष्ठ रहनुभएको नगरपालिकाकाका प्रमुख भरत खत्रीले जानकारी दिए ।

उनले नगरभित्रका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धन गरी चैनपुर नगरपालिकालाई प्रदेश नं १ कै पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्यका साथ यो समूह गठन गरिएको बताए ।

उक्त समूहले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धारण गरी त्यसअनुसारको योजना र कार्यक्रम बनाउनका लागि विभिन्न सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँग आवश्यक समन्वय, सहकार्य र परामर्श गर्न सकिनेछ । समूहले चैनपुरलाई पर्यटकीय हव बनाउन र नयाँ गन्तव्यको रुपमा विकास गर्ने कामको शुरुवात गरिसकेको संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७