चार वर्षीया रुबिनालाई १४ वर्षे किशोरले बलात्कारपछि हत्या गरेको खुलासा

आफैले हत्या गरेर ‘बालिकाको शव फेला परेको भन्दै’ अरुलाई खबर


५ मंसिर २०७७, शुक्रबार
death

मकवानपुर, ५ मंसिर । मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारकी चार वर्षीया रुविना पाख्रिनको गाउँकै १४ वर्षीया किशोरले बलात्कारपछि हत्या गरेको खुलेको छ ।

बुधबार साँझ बुबा–आमासँगै छिमेकीको पूजामा गएकी बालिकाको बलात्कारपछि ढुङ्गाले हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका किशोरको नाम भने खुलाएको छैन ।

बालिका रुविना पाख्रिनको बुधबार राति ८ बजेको समयमा हत्या भएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन् । बालिकालाई ती किशोरले बोकेर लगी मनसाही खोलाको बगरमा बलात्कार गरेका थिए ।

बालिका हराएपछि खोज्ने क्रममा स्थानीयले बगरमा रगताम्य अवस्थामा निर्वस्त्र भेटेका थिए । ‘गाउँमा पूजा भइरहेको थियो, आमा बुबाबाट बालिका हूलमूलमा हराइन्,’ स्थानीय छिरिङ लामाले भने, ‘डेढ घण्टापछि नजिकको खोला किनारमा रगताम्य अवस्थामा भेटिइन् ।’ बालिका हराएपछि ती किशोरले नै शव भेटाएका थिए । ‘जसले बलात्कारपश्चात हत्या गरे उनैले बालिकाको शव भेटियो भनेर हल्ला गरे,’ छिरिङले भने ।

किशोर जनता उच्च माविको कक्षा–९ मा पढ्छन् । पछिल्लो समय उनी मदिराका साथै लागूपदार्थ दुर्व्यसनमा फसेको स्थानीय शिक्षक विवेक तामाङले जानकारी दिएका छन् । प्रारम्भिक बयानमा उनले बालिकालाई बलात्कार गरेको स्वीकारेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताएका छन् । ‘छिमेकमा पूजा भइरहेको अवस्थामा बालिकालाई घर जाऊँ भनेर फकाएर बगरमा लगेछन् । पक्राउ गर्दाखरीको समयमा पनि उनी मादक पदार्थको नसामै पाइएको रानाले बताए । ।

बालिकाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । ‘घटनामा संलग्न भएको आशंकामा दुई जनालाई राति नै पक्राउ गरेका थियौं । एक जनाको मात्र संलग्नता देखियो,’ उनले भने, ‘बालिकालाई ढुङ्गाले समेत हानेको पायौं, घटनास्थलमा भेटिएको ढुङ्गामा रगत लत्पतिएको छ ।’ बालिकाको शरीरका विभिन्न भागमा ढुङ्गाले हानेर हत्या गरी करिब ४० फिट टाढा लगेर शव बगरमा लुकाएको पाइएको रानाले बताए ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा भेटिएका मृतक बालिकाका बुबा शेरबहादुर पाख्रिनले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । ‘छोरीको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्छ । मेरो कलिलो छोरीलाई बलात्कारपछि ढुङ्गाले हानेर मारियो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७