ललितपुरमा कोरोना जित्ने बढ्दै : सक्रिय संक्रमित १,९६९ जना, ११८ को मृत्यु


७ मंसिर २०७७, आईतवार

ललितपुर, ७ मंसिर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको संख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्य लाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको संख्या एक हजार ९६९ र मृतकको संख्या ११८ पुगेको कार्यालय प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको संख्या बढेको छ ।

महानगरपालिकामा रहेका कूल सात हजार ७२ सङ्क्रमितमा पाँच हजार ९२६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताइन् । उनले भनिन्, ‘महानगरपालिकामा सक्रिय सङ्क्रमित संख्या एक हजार ४५ र मृतकको संख्या ४८ पुगेको छ ।’

त्यसैगरी गोदावरीमा आजसम्म कूल कोरोना सङ्क्रमित संख्या ८९९ र यसमा निको भएर घर फर्कनेको संख्या ६८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय सङ्क्रमित २०४ र मृतकको संख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए ।

महालक्ष्मी नगरपालिमा सङ्क्रमित संख्या एक हजार ५४६ र यसमा सङ्क्रमणमुक्त भई स्वास्थ्य लाभ गर्नेको संख्या एक हजार ३०० पुगेकोे छ । नगरपालिमा सक्रिय सङ्क्रमित २३४ र मृतकको संख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महाङ्कालमा कोरोना सङ्क्रमित संख्या १७ पुगेको छ । तीमध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।

महाङ्कालका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।’ वाग्मतीमा कोरोना सङ्क्रमितको संख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ–छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरी समेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७