नेपाली चेली अंशु बनिन् बेलायती सेनाको पहिलो क्याप्टेन


८ मंसिर २०७७, सोमबार

काठमाडौं, ८ मंसिर । नेपालीलाई विश्वभर ‘वीर गोर्खाली’ भनेर चिनिन्छ । विश्वसामु नेपाललाई चिनाउन गोर्खा सैनिकहरुको पनि ठूलो हात छ ।

गोर्खा सैनिककै कारण नेपालले फेरि अर्को रेकर्डमार्फत आफूलाई विश्वभर चिनाउने सौभाग्य पाएको छ । भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२२ भुम्दीकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् ।

हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आमा समूहकी अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।

नेपालीहरु बेलायती सेनामा भर्ना हुन लागेको दुई सय वर्ष नाघिसकेको छ । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहे पनि अहिलेसम्म कार्यान्वयन हुन् सकेको छैन । तर, बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका भए पनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने अंशुले बनाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७