प्रदेश नं ५ को सभामुखमा घर्तीलाई पठाउने निर्णय


२९ माघ २०७४, सोमबार
Purna gharti 1

बुटवल, २९ माघ : माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । Purna gharti 1

माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मालाई बनाउने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए ।

यसअघि सभामुखमा गुल्मीका सुदर्शन बराल र घर्तीको नाम चर्चामा आए पनि दलले घर्तीलाई सभामुखमा पठाउने निर्णय गरेको हो । माओवादीले केन्द्रको यसअघि आइतबार बिहान बसेको संसदीय दलको बैठकले रोल्पाका कुलप्रसाद केसीलाई संसदीय दलको नेता चयन गरिसकेको थियो ।

यस्तै संसदीय बोर्डको सचिवमा पाल्पाका वसन्त घर्तीलाई छनोट गरेको समेत नेता केसीले जानकारी दिए । प्रदेश नं ५ मा सरकार निर्माणको प्रक्रिया अघि बढाउन आइबार नेकपा एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताले बहुमत प्रदेश सदस्यको समर्थनसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् ।

यो प्रदेशमा दुवै दलले नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश संसदीय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्रीका रुपमा अगाडि सारेका छन् । पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल निर्माण हुने भएकाले माओवादी केन्द्रको संसदीय दलले मन्त्रिमण्डलमा पठाउने व्यक्ति छनोट गर्ने नेता केसीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७