सबै देशका लागि उडान अनुमति, सीसीएमसीले गर्‍यो यस्ता निर्णय


९ मंसिर २०७७, मंगलवार
mahendraPrasad guragain

काठमाडौं, ९ मंसिर । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेको छ ।

सीसीएमसी निर्देशक समितिको मंगलबारको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको छ ।

संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।

उनले भने, ‘नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।’

विभिन्न सरकारी कार्यालयहरुमा एकरदुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको उनले बताए । संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपि सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन । संक्रमणको उच्च रहेको सीमित स्थानलाई सिल गरी सेवा सञ्चालनका सम्बन्धमा केही निर्णय गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले बताए ।

उपत्यकामा रहेको एकीकृत एम्बुलेन्स सेवाको पार्किङ समस्या रहेकाले विभिन्न स्थानीय तहमा पार्किङका लागि व्यवस्थापन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७