भारतीय विदेश सचिव शृंगला आज आउँदै : १५ महिनापछि नेपाल–भारत उच्च कूटनीतिक तहमा वार्ता

नेपालको नयाँ नक्साबारे छलफल हुने, यस्ता छन् वार्ताका एजेण्डाहरु


११ मंसिर २०७७, बिहीबार
harsabardan

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज (बिहीबार) दुई दिने नेपाल भ्रमणका लागि आउँदैछन् ।

भारतीय विदेश सचिव परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी हर्षबर्धन शृंगला नेतृत्वका प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि बिहीबार औपचारिक वार्ता हुँदैछ । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः शुरु गर्न भारतीय विदेश सचिव शृंगला बिहीबार काठमाडौं आउँदै छन् ।

बिहीबारको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेशमन्त्री शृंगलालको शिष्टाचार भेट हुनेछ । शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किने छन् ।

४ भदौ ०७६ मा काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकर आएका थिए । त्यसको दुई महिनापछि भारतले कालापानी समेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकिएको थियो ।

गत १५ अगस्टमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो । त्यसपछि भारतीय गुप्तचर संस्था ‘र’ प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।

द्विपक्षीय वार्तामा नेपालले कालापानी, सुस्तालगायत सीमा समस्या समाधानमा जोड दिने भएको छ । त्यसका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक शीघ्र बस्नुपर्ने, प्राविधिक तहमा पनि द्विपक्षीय छलफल हुनुपर्ने धारणा नेपाली पक्षले राख्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंगिनुपर्नेसहित बाँध, डुबान, द्विपक्षीय सम्झौताअनुसारका परियोजना कार्यान्वयनमा नेपाली पक्षको जोड रहने ती अधिकारीले बताए ।

भारतीय पक्षले भने सीमाको विषयभन्दा बढी द्विपक्षीय आर्थिक सहकार्य, कनेक्टिभिटीलगायतमा जोड दिने सम्भावना छ । ‘मैले बुझेसम्म प्रधानमन्त्रीहरूबीच भएको सहमति कार्यान्वयनको समीक्षा हुन्छ र भविष्यमा के के गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ भारतको सरकारी थिंकट्यांक मनोहर पारिकर आइडिएसएका नेपाल मामिला विज्ञ डा. निहार आर. नायकले टेलिफोनमा भने, ‘सीमासम्बन्धी नेपालले राख्ने चासो र सरोकारलाई विदेश सचिवले नोट गर्ने र दिल्लीमा राजनीतिक नेतृत्वलाई जानकारी दिनेछन् । त्यसआधारमा उनले नेपाली पक्षलाई निश्चित समयपछि जवाफ दिनेछन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७