अन्तिम चरणकामध्ये नेपाललाई ३ खोप उपयुक्त


११ मंसिर २०७७, बिहीबार
thumb 9

काठमाडौं, ११ मंसिर । परीक्षणको अन्तिम चरणमा रहेका कोभिड–१९ विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् ।

फाइजर–बायोएनटेक बाहेक अक्सफोर्ड–अस्ट्राजेनेका, मोडर्ना र ग्यामेलिया इन्स्टिच्युटको खोप यहाँ उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले तयार पारेको एजेडडी १२२२ र रुसको ग्यामेलिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ कम मूल्य पर्ने देखिएका छन् ।

स्पुतनिक खोपको भाइल माइनस १८ डिग्री सेल्सियसभन्दा तल्लो तापक्रममा भण्डारण गर्नुपरे पनि यसको सुक्खा संस्करण २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । हाल मुलुकमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवामा १५ महिनासम्मका बालबालिकालाई १२ वटा एन्टिजेन (रोगविरुद्ध खोप) दिइराखिएको छ । यी खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्ने गरिएको छ । राजधानीलगायतका केही ठाउँमा माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमता समेत छ ।

‘सरकारले कोभिड खोपको बजारमा उपलब्धता, लागत, कोल्ड चेन, परिवहन आदिका लागि उपलब्ध पूर्वाधार एवं गुणस्तर, सुरक्षा र प्रभावकारितालाई मुख्य प्राथमिकता दिएर बुझिरहेको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘हामीलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोप परिवहन र लगाउनसमेत सहज हुन्छ ।’

उनले अक्सफोर्ड–अस्ट्राजेनेका खोपले बेलायतमा आकस्मिक उपयोगको अनुमति पाएपछि प्रक्रिया पुर्‍याएर भारतमा समेत प्रयोग हुने सम्भावना रहेको बताए । डा. गौतमले खोप लगाउने रणनीतिक योजना पनि तयार गरिरहेको जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोभिड खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने सुरक्षित र प्रभावकारी खोप नै ल्याउन उपयुक्त देखिएको बताए ।

‘मुलुकभरि लगाउन्जेलसम्म गुणस्तर सुनिश्चितताका लागि खोपको कोल्ड चेन कायम राख्नु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण हुनुका साथै चुनौतीपूर्णसमेत छ,’ उनले भने । विज्ञहरूले नेपालका लागि सहज रूपमा उपलब्ध हुने, सजिलै भण्डारण तथा ओसारपसार गरेर लगाउन सकिने अत्यन्त प्रभावकारी खोप उपयुक्त हुने बताउँदै आएका छन् । उनीहरूका अनुसार नेपालको जटिल भौगोलिक अवस्थाका कारण सामान्य ‘आइसबक्स’ मा दुई–तीन दिनसम्म समेत खोप सुरक्षित रूपमा राख्न सकिने खालको हुनुपर्छ ।

डा. ठाकुरले मुलुकमा हाल उपयोग भइरहेकोभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्ने अवस्थाका लागि संरचना फेर्न सरकारले अतिरिक्त बजेट व्यवस्था गर्नुपर्ने पनि बताए । ‘कोभिड खोप निःशुल्क पाउन गाह्रो छ, खोप खरिदका लागि पैसा खर्च गरेपछि भण्डारण, ओसारपसारलगायतका लागि पैसा खर्च गर्नुपरेन भने मुलुकका लागि धेरै राहत हुन्छ,’ उनले भने । विश्वका चार ठूला फार्मा कम्पनीले आ–आफ्नो कोभिड खोपको मूल्यसँगै यसको मात्रालगायतबारे समेत बताएका छन् ।

यी कम्पनीहरूले खोपबारे आधिकारिक रूपमा जारी गरेको अद्यावधिक विवरणअनुसार तिनको प्रभावकारिता बढाउन गृहकार्य भइरहेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमका अनुसार हाल एक डोज अक्सफोर्डको खोपको ३ देखि ४ डलर, फाइजरको २० डलर, मोडर्नाको २५ देखि ३७ डलर र स्पुतनिक–५ को १० डलर मूल्य पर्ने देखिएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७