कोरोना निको भएका २० प्रतिशतमा मानसिक समस्या


१६ मंसिर २०७७, मंगलवार
korona

काठमाडौं, १६ मंसिर । कोरोना भाइरसको संक्रमणबाट शारीरिक मात्र नभई मानसिक समस्या पनि देखिन थालेका छन् ।

गत हप्ता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोभिड संक्रमितमा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्या देखिनुलाई कोभिडको दीर्घकालीन लक्षणका रूपमा सार्वजनिक गरेको थियो ।

हालसम्म कोभिडले मानव शरीरमा पार्न सक्ने प्रभावबारे गरिएका अध्ययन र पुष्टि भएका लक्षणहरूमध्ये न्युरोलोजिकल समस्या र मानसिक समस्या पनि अधिकांशमा देखिन थालेको सिडिसीले जनाएको छ । सिडिसले भनेको छ, ‘केही प्रतिशतमा कोभिड संक्रमणका कारण पछि गएर स्वास्थ्य समस्या देखिने गरेको पाइन्छ । यस्ता समस्या केही व्यक्तिमा संक्रमण निको भएलगत्तै देखिए पनि केहीमा लामो समयको अन्तरालपछि देखिने गरेका छन् ।

जसमध्ये न्युरोलोजिकल समस्या जस्तै, स्वाद र गन्ध थाहा नपाउनु, अनिद्रा, ध्यान केन्द्रित गर्न नसक्नु आदि ।’ साथै, मानसिक समस्याहरू जस्तै, डिप्रेसन, एन्जाइटी र तीव्र मुडमा परिवर्तन आउनुलाई समेत कोभिडको दीर्घकालीन असरको रूपमा औँल्याइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसरहरूको समूहले गत हप्ता सार्वजनिक गरेको एक अध्ययनमा कोभिड संक्रमण भएका करिब २० प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको उल्लेख छ । कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने अध्ययनमा बताइएको छ ।

ब्रिटिस जर्नल ल्यासेन्टमा प्रकाशित अध्ययनमा २० प्रतिशत अर्थात् प्रत्येक पाँच जना संक्रमितमध्ये एक व्यक्तिमा कोभिड निको भएको तीन महिनाको अन्तरालमा चिडचिडाहट, डिप्रेसन, एन्जाइटी र अनिद्रा जस्ता मानसिक समस्या उत्पन्न भएको पाइएको थियो । अध्ययनले मानिसमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ ।

अध्ययनले कोभिड संक्रमितमा मात्र नभई पहिलेदेखि नै एन्जाइटी, डिप्रेसन, अनिद्राको समस्या भएका व्यक्तिमा कोभिड संक्रमणको जोखिम ६५ प्रतिशतले बढी हुने समेत उल्लेख गरेको छ ।

अध्ययनले मानसिक समस्या भएका व्यक्तिमा समेत कोभिडको जोखिम देखाएपछि यसबारे थप खोजको आवश्यकता रहेको अक्सफोर्डका मनोचिकित्सा विभागका डा.टेक्वेटले बताएका छन् । उनले भनेका छन्, ‘अहिले प्रकाशित गरिएको अध्ययन अप्रत्यासित थियो र थप अध्ययनको खाँचो छ ।’

सामान्यतः महामारीको सुरुवातदेखि नै संक्रमणले निम्त्याएको असामान्य परिस्थितिका कारण अधिकांशले मानसिक समस्या झेलिरहेको अध्ययनले देखाइरहेका थिए । तर, पछिल्ला केही अध्ययनले कोभिडबाट संक्रमित हुने व्यक्तिहरू मानसिक समस्याबाट बढी पीडित भएको पाइएको हो । अक्सफोर्डले इलेक्ट्रोनिक हेल्थ रेकर्डका आधारमा गरेको उक्त अध्ययनमा लगभग ६९ मिलियन व्यक्तिलाई सहभागी गराइएको थियो ।

अध्ययनमा पहिले नै मानसिक समस्या भए–नभएको पनि जाँच गरिएको थियो । सामान्यतया लकडाउनको समयमा अन्य व्यक्तिमा पनि मानसिक समस्या देखिए पनि सामान्य व्यक्तिको तुलनामा कोभिड संक्रमितहरू बढी प्रभावित भएको अध्ययनले पुष्टि गरेको छ ।

ननकोभिडको तुलनामा कोभिडका बिरामीमा एन्जाइटी जस्ता समस्या दुई गुणा बढी हुने सम्भावना रहन्छ । खासगरी ६५ वर्षभन्दा माथिका संक्रमितमा डिमेन्सियाको समस्या जटिल समस्या दीर्घकालीन समस्याका रूपमा देखिएको बताइएको छ ।

अध्ययनमा भनिएको छ, अधिकांश संक्रमितमा संक्रमणको गम्भीरतालाई लिएर हुने तनाव व्यवस्थापन गर्न नसक्दा एन्जाइटी, डिप्रेसन र अनिद्राको समस्या देखिएको हो । चिकित्सकहरूका अनुसार तनावले प्रत्यक्ष रूपमा प्रतिरोधात्मक क्षमतामा असर गरिरहेको हुन्छ । जब संक्रमित तनाव व्यवस्थापन गर्न सक्दैनन्, शरीरमा प्रतिरोधी क्षमता कमजोर हुँदै जान्छ, फलस्वरूप तनावले जटिल रूप लिन थाल्छ ।

मानिसमा संक्रमणको डर फेरि बढ्न थाल्यो
नेपालमा कति प्रतिशत कोभिडका बिरामीले मानसिक समस्या भोगिरहेका छन् भन्ने कुनै तथ्यांक छैन । तर, बिरामीहरूको व्यवहार र मानसिक अवस्था अध्ययन गर्दा २० प्रतिशतभन्दा बढीले सुरुवातदेखि काउन्सिलिङ लिँदै आइरहेका छन् । मनोविद् आदर्श प्रधानका अनुसार, बाहिर हेर्दा परिस्थिति बिस्तारै सामान्य बन्दै गएको जस्तै देखिए पनि संक्रमितको मनोभाव निकै फरक रहेको पाइन्छ ।

भन्छन्, ‘कोभिड अनुभव नभएकालाई संक्रमण सामान्य लाग्छ, तर जब कोभिड पजिटिभ देखिन्छ, अधिकांशको अनुभवमा कोभिड संक्रमण सामान्य छैन । चिसो बढ्दै जाँदा मौसमी फ्लुका लक्षणहरू देखिनु, कोभिडका लक्षणहरू देखिनु, सघन उपचार सेवा आवश्यक हुुने संक्रमितहरू बढ्दै जानु, मृत्युदर बढ्नु र जटिल संक्रमित भइसकेकाले अनुभव सेयर गर्नुले पजिटिभ देखिनेबित्तिकै व्यक्तिको मानसिकता नै परिवर्तन गरिरहेको पाइन्छ । संक्रमण निको भइसकेपछि पनि आइसोलेसनको समयमा भोगेको अवस्था र फेरि संक्रमण हुने हो कि वा दीर्घकालीन असरहरू देखिन्छन् कि भन्ने डरले एन्जाइटी बढाइरहेको पाइन्छ ।’

संक्रमणको समयमा प्रयोग गरिने एन्टिबायोटिकको साइड इफेक्ट, आइसोलेसनमा बस्दा झेल्नुपर्ने अवस्था छुटै समस्या छ । योसँगै भाइरसले शरीरमा देखाएको प्रतिक्रियाले मानसिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर गरिरहेको देखिन्छ ।

मानसिक रूपमा बलियो अर्थात् आत्मविश्वासी व्यक्तिहरूमा कोभिडको गम्भीरतासमेत कम देखिने अध्ययनहरूले पुष्टि गरिसकेका छन् । औषधिहरू पनि अत्यधिक प्रयोगमा ल्याउने, संक्रमित भइहाल्ने डरले अत्यधिक केयर गर्ने, बारम्बार हात सफा गर्ने व्यक्तिहरूमा बढी पिसिआर पजिटिभ देखिएको अनुभव रहेको बताँउछन् मनोविद्, प्रधान ।

भन्छन्, ‘आवश्यकताभन्दा बढी ध्यान केन्द्रित गर्दा पनि मानसिक समस्या झेलिरहेको पाइन्छ । अधिकांशमा साइकोसोम्याटिक समस्या देखिन्छ । अर्थात् शरीरमा कुनै लक्षण देखिए पनि जाँच गर्दा समस्या पहिचान गर्न सकिँदैन ।

सामान्यतः व्यक्तिको मानसिकतामा समेत स्वास्थ्य अवस्था निर्भर गरिरहेको हुन्छ । यहीकारणले अन्य जीवनशैलीसम्बन्धी समेत समस्या देखिएका उदाहरण भेटिन्छन् । कतिपयमा सामान्य फ्लुका लक्षण देखिँदा पनि आइसोलेट भइहाल्ने, बारम्बार पिसिआर जाँच गर्ने, लक्षण निको भइसकेपछि पनि जाँच गर्नेजस्ता व्यवहारले पनि मानसिक समस्या निम्त्याइरहेको छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७