तनावपूर्ण नेकपा सचिवालय बैठकको भित्री कथा


१६ मंसिर २०७७, मंगलवार
Nekapa leaders

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार (१६ मंसिर २०७७) पार्टी मुख्यालय धूम्बारहीमा बस्ने पूर्वनिर्धारित समय थियो । तर सुरक्षाको कारण अन्तिम समयमा सधै जसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारियो

मंगलबारको बैठकमा २८ कात्तिक २०७७ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव र १३ मंसिर मा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको थियो ।

बैठकका लागि नेताहरु बालुवाटारमा दिउँसो १ बजे जुटे । बैठकमा कार्यसूची प्रस्तुत हुन अघि प्रधानमन्त्रीको सचिवालयबाट एक थान केक आइपुग्यो । सन्दर्भ थियो, महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन । प्रधानमन्त्री ओलीले महासचिवको जन्मदिन मनाउनका लागि संकेत गरे । केक काटियो । प्रधानमन्त्रीले महासचिव पौडेललाई केक खुवाइदिए । अरु नेताहरुले पनि ।

यही केक र शुभकामनाबाट सुरु भयो सचिवालय बैठक । महासचिव पौडेलको जन्मदिनको कार्यक्रम सकिएपछि सुरु भयो बैठक । एक सचिवालय सदस्यका अनुसार बैठकको सुरुमै प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डतिर यसो हेरेर सोधे, ‘लौ, बैठक सुरु गर्नुहोस् । आजको एजेण्डाचाहिँ के हो नि ?’

ओलीको प्रश्नपछि प्रचण्डले बैठकको कार्यसूची सुनाए । भने, ‘पार्टी असाध्यै गम्भीर मोडमा छ । त्यही समस्या समाधानका लागि दुई प्रस्ताव अगाडि आएका छन् । तिनै विषय बैठकका कार्यसूची हुन्छ । अब यसैमा छलफल गरौं ।’

बैठकमा दुई अध्यक्षको प्रतिवेदन छलफलको प्रस्ताव प्रचण्डले गरेपछि ओली एकाएक आक्रोशित भए । जंगिएर भने, ‘ तपाईंले प्रस्तुत गरेको त्यो पत्र पूर्वाग्रहपूर्ण छ । त्यो आरोपपत्र हो । त्यो लाञ्छना पत्र हो । त्यहाँ द्वेष, कुण्ठा, लाञ्छना, आलोचना र आरोप छ । लाञ्छनापत्रमाथि छलफल हुनै सक्दैन । त्यसले पार्टीको साख गिराएको छ । बेइज्जत गरेको छ । मेरो उछितो काडिएको छ । त्यसमाथि छलफल हुनै सक्दैन । त्यो कसरी एजेण्डा हुन सक्छ ? लाञ्छना पत्र तपाईंले फिर्ता नलिएसम्म र क्षमायाचना नगरेसम्म यो बैठक चल्दैन यो बैठक चल्न दिन्नँ ।’

ओली अझ रोकिएनन् । थप भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि । बहुमत अल्पमत महाधिवेशन पछाडि मात्रै लागू हुन सक्छ ।’ ओलीले प्रचण्डले अनाधिकृत रुपमा पार्टीको लोगो प्रयोग गरेर प्रस्ताव प्रकाशन गरेको भन्दै बिरोध रोष प्रकट गरे ।

प्रचण्डले पार्टी अनुशासन उलङ्गघन गरेको भन्दै कारबाहीको चेतावनी समेत दिए । ओलीले भने, ‘तपाईँले यसमा माफी माग्नुस् र क्षमायाचना गर्दै फिर्ता लिनुस् । नत्र तपाईंमाथि कारबाहीको प्रक्रिया अघि बढ्छ ।’

ओलीको आक्रोशपूर्ण प्रस्तुतीपछि प्रचण्ड फेरि बोले । ओलीले उत्तेजित पार्ने कुरा बोलेको भन्दै आफूहरु उत्तेजित नहुने र जिम्मेवारीको साथ बैठकमा छलफल गर्ने बताए । प्रचण्डले भने, ‘हामी उत्तेजित हुन्छौं भन्ने ठान्नु भएको होला, हामी उत्तेजित हुँदैनौं । पार्टी एकताको रक्षा गर्ने र अहिलेको छलफललाई सकारात्मक दिशातिर लैजाने कुरामा हामी गम्भीर छौं । अब छलफल गरौं ।’ प्रचण्डले यसो भन्दै गर्दा ओली थप जंगिए । ओलीले भने, ‘यहाँ जे मनमा लाग्यो त्यही भन्ने, त्यही बोल्ने ?’ ओलीले प्रचण्डलाई रोक्न खोजे ।

KP Oli VS Parchanda
बैठकमा अध्यक्षद्धय । तस्बिर प्रधानमन्त्रीको सचिवालय

ओलीले बोल्न रोक्न खोजेपछि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बोल्न पनि नपाउने भन्दै आक्रोशित भए । ओलीको बिरोध गरे । प्रवक्ता श्रेष्ठले सबैलाई बोल्ने अधिकार रहेको बताए । सोधे, ‘अर्को अध्यक्षले बोलेको सुन्न पर्दैन ? सबैलाई बोल्ने अधिकार छ । बोल्नै नदिने ?’

प्रवक्ता श्रेष्ठपछि वरिष्ठ नेता नेपालले बिरोध गरे । सबैले बोल्न पाउनुपर्ने भन्दै ओलीको तिव्र बिरोध गरे । नेपालले समस्याको जरो ओली नै भएको भन्दै पार्टीलाई पेवा नसम्झिन चेतावनी दिए । वरिष्ठ नेता नेपालले ओलीको घमण्ड नै समस्या भएको बताए । भने, ‘मूल समस्या नै तपाईं हो ।’

नेपालले पार्टी फुट्दा एमाले एकातिर माओवादी अर्कातिर हुन्छ भन्ने कुरा नसोच्न ओलीलाई चेतावनी दिए । भने, ‘पार्टी फुट्छ र एमाले एकातिर, माओवादी एकातिर हुन्छ भनेर नसोच्नुहोस् तपाईको व्यक्तिवादी, मपाइँवादी एवं गुटवादले नै पार्टीमा समस्या भएको हो ।’

सबै नेताहरु बोल्न सुरु गरेपछि ओलीले ‘मर्यादामा रहनुहोस्’ भन्दै रुलिङ गर्न प्रयास गरेका थिए । ओली नरोकिएपछि प्रचण्ड फेरि बोले । भने, ‘यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । पत्र र प्रस्तावबारे बैठकले भन्छ, तपाईंले भन्ने होइन । कमिटिले गर्छ ।’

बैठकमा सचिवालय सदस्य ईश्वर पोखरेल पनि प्रतिवेदनमाथि छलफलकै पक्षमा उभिए । अर्का सदस्य रामबहादुर थापाले प्रस्तावमाथि छलफल भइनैसकेको धारणा राखे । महासचिव विष्णु पौडेल भने प्रतिवेदनमाथि छलफल गर्ने वा नगर्ने ? यो बिषयमा ठोस रुपमा केही बोलेनन् ।

यसपछि प्रचण्डले भोली बुधबार १ बजे बैठक बस्ने र प्रतिवेदनमाथि छलफल हुने जानकारी गराए । प्रचण्डले यसो भनी नसक्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिरोध गरेका थिए । ओलीले सोधे, ‘बैठक केका लागि ?’ मेरो निर्धारित अरू काम छ, यस्तो बैठकमा आउँदिनँ ।’ एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओली भनाभनको अवस्थामा नै उठेर हिडेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७