साझा र विवेकशील पार्टीबीच दोस्रोपल्ट एकता, बन्यो ‘विवेकशील साझा पार्टी’


२४ मंसिर २०७७, बुधबार
2834b62b8c0fa19046d6989cba8fc8ab w1000 h500 cp

काठमाडौं, २४ मंसिर । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) पुनः एकता घोषणा भएको छ ।

दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो । एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे छन् । एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह साझा पार्टीले प्रयोग गर्दै आएको तराजु नै राख्ने सहमति भएको छ । नयाँ पार्टीको केन्द्रीय समितिमा दुबै पार्टीका ६५–६५ जना गरी १३० जना सदस्य छन् ।

२०७४ साउन ११ गते पहिलोपल्ट साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो । सोही वर्ष भएको आम निर्वाचनमा उनीहरुले विवेकशील–साझा पार्टीका नामबाट चुनाव लडेका थिए ।

तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै अर्का संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो । यसबीच विवेकशीलको नेतृत्वमा पाण्डे निर्वाचित भएपछि यी दुई दलबीच पुनः एकीकरणको प्रक्रिया शुरु भएको थियो ।

गएको असारयता दुबै पार्टीले एकताका लागि कार्यदल गठन गरेका थिए । सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा अहिले पार्टीबीच एकता घोषणा भएको हो ।
दुबैतिर असन्तुष्टि
पुनः एकतामा जाने विषयमा भने विवेकशील पार्टीभित्र असहमति रहदै आएको थियो । सोही असमतिकाबीच विवेकशीलले बहुमतका आधारमा एकतामा जाने निर्णय गरेको हो । असमति राख्नेहरुमा विवेकशिलका पूर्व संयोजक उज्ज्वल थापा, प्रभावशाली नेता गोविन्द नारायण, उपाध्यक्ष अजिता राईलगायत थिए ।

उनीहरुले विवेकशीललाई नै अघि बढाउनुपर्ने माग राखेका थिए । तर बहुमतले साझासँग एकता गर्ने निर्णय गरेपछि उनीहरु एकता प्रक्रियामा सहभागी भएनन् । यता साझा पार्टीका तत्कालिन प्रवक्ता डा. सुर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले पनि विवेकशीलसँग एकता अघि बढाउने भएपछि साझाबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७