कोरोनाबाट मोरङमा थप तीन जनाको मृत्यु


२५ मंसिर २०७७, बिहीबार
koshi hospital

काठमाडौं, २५ मंसिर । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरमा थप तीन जनाको ज्यान गएको छ । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एक जनाको होम आइसोलेसनमा ज्यान गएको हो ।

सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको बिहीबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि वृद्धलाई २३ गते मंगलबार अस्पताल ल्याइएको थियो ।

तत्काल आइसोलेसनमा राखेर उपचार थालिए पनि संक्रमितलाई बचाउन नसकिएको उनको भनाइ छ । दाहालका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ५ बजेतिर ज्यान गएको हो । त्यस्तै झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बुधबार राति मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि राति ९ बजे अस्पताल ल्याइएको थियो ।

उपचारमा संलग्न वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले अस्पताल ल्याएको एक घण्टा नपुग्दै राति ९ः५० बजेतिर वृद्धको मृत्यु भएको जानकारी दिए । उनका अनुसार वृद्धलाई मधुमेह, उच्च रक्तपाच लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको पाइएको छ ।

यसैबीच मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । दमको समस्या बढेपछि उनलाई उपचारका लागि विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते ल्याइएको थियो ।

पीसीआर परीक्षण गराउँदा २२ गते रिपोर्ट पोजिटिभ आएपछि परिवारका सदस्यले घरमै राख्नलाई लिएर गएको अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा राख्न भन्दै परिवारका सदस्य र आफन्तले लिएर गएका वृद्धको राति ९ बजेतिर ज्यान गएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७